१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

विपद् व्यवस्थापन उद्धारकर्मी तयार गर्दै महानगर

रासस

काठमाडौँ — काठमाडौँ महानगरपालिका आफ्ना सबै वडामा विपद्का समयका लागि उद्धारकर्मी तयार गर्ने कार्यमा जुटेको छ । घटनास्थलमा पहिलो प्रतिकार्य गर्नका लागि महानगरले हरेक वडामा विपद् उद्धार तथा अग्नि नियन्त्रण स्वयंसेवक तयार गर्ने तयारी थालेको हो । 

एउटा वडाबाट ४० स्वयंसेवक तयार गर्नका लागि सम्बन्धित वडामा तालिम सञ्चालन गरिने कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । तालिम प्राप्त स्वयंसेवकलाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराइने छ ।


महानगरका सबै वडामा १४ सदस्यीय विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समिति गठन भइसकेको छ । डंगोलका अनुसार यस समितिमा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व गरिने हुनुपर्नेछ । उनका अनुसार विपद् व्यवस्थापन समितिले नै स्वयंसेवक तयार गर्नेछन् । यसका लागि वडा ६, ७ र २१ बाट स्वयंसेवक गठन भई नाम आइसकेको प्रवक्ता डंगोलले बताए ।


“महानगरभित्रको विपद्मा तत्काल खटिन सक्ने एक हजार २८० दक्ष उद्धारकर्मी तयार गर्ने तयारीमा लागेका छौँ”, प्रवक्ता डंगोलले भने, “यी जनशक्तिले विपद् पूर्वतयारी तथा प्रतिकार्यको काम गर्नेछन् । तयार पारेका स्वयंसेवकमार्फत हामी हरेक घरमा पुग्ने प्रयास गर्नेछौँ ।”


महानगरले विपद् पूर्वतयारी तथा तत्काल राहत उद्धारमा काम गर्न महानगर आपत्कालीन कार्य सञ्चालन केन्द्र पनि स्थापना गरिसकेको छ । अहिलेसम्ममा २० वडाका पदाधिकारीलाई तालीम दिइसकेको छ ।

प्रकाशित : माघ २५, २०७५ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?