२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

दुई वर्षदेखि सफाइ अभियानमा मैतीदेवीवासी

काठमाडौँ — मैतीदेवीका स्थानीय मिलेर सरसफाइ गर्न थालेको दुई वर्ष पुगेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० का बासिन्दाले वातावरणमैत्री समाज गठन गरी महानगरका विभिन्न स्थानमा सरसफाइ गर्ने गरेका छन् ।

दुई वर्षदेखि सफाइ अभियानमा मैतीदेवीवासी

समाजका अध्यक्ष राधेश्याम मिश्राले दुई वर्षदेखि हरेक शनिबार आफूहरूसहित मैतीदेवीका बासिन्दा विभिन्न स्थानमा गएर सडक सररफाइ गर्ने गरेको जानकारी दिए । ‘अहिलेसम्म ८ वटा वडामा पुगिसकेका छौं । प्राय: बिहान दुई घण्टा सरसफाइ गर्छौं,’ उनले भने, ‘सुरुमा मान्छे कम भए पनि अहिले ५० भन्दा बढी हुन्छौं । सबै प्राय: मैतीदेवीकै हुन्छौं ।’ सुरुमा सरसफाइका लागि सहयोग माग्न जाँदा मान्छे आनाकानी गर्ने भएकाले यही वर्ष असारमा संस्था दर्ता गरिएको हो ।

बीचबीचमा केही संस्थाले खाजा र सरसफाइ सामग्री दिएर सहयोग गर्ने भए पनि प्रायजसो आफ्नै खर्चमा जाने गरेका छन् । वडास्तरीय कार्यक्रममा १० हजार रुपैयाँभन्दा कम लाग्ने गरेको र हाल केही व्यवसायी, संस्थाबाट सहयोग पाइने उनले बताए । उनीहरूले सामाजिक सञ्जाल, पर्चाबाट सरसफाइ गर्न जाने स्थानबारे प्रचार गर्ने गरेका छन् । अहिले मैतीदेवीका केही विद्यालयले समेत विद्यार्थी पठाएर सरसफाइमा सहयोग गर्ने गरेको उनले जानकारी दिए ।

मैतीदेवी मन्दिरमा दुई वर्ष अघिसम्म देखेको फोहोरले आफूहरूलाई सरसफाइका लागि प्रेरित गरेको मिश्र बताउँछन् । मन्दिर वरपरबाट लगातार दुई हप्ताभन्दा बढी दिनहुँ सफा गरेर सरसफाइ अभियान सुरु गरेका उनीहरूले सुन्धारा, भण्डारखाल लगायतका स्थानमा सफाइ गरिसकेका छन् ।

समाजले मैतीदेवीमा ९ महिनाअघि २५ वटा फलामे फोहोर फाल्ने भाँडा र वृक्षरोपण पनि गरेका छन् । जम्मा भएको फोहोर निजी फोहोर संकलन गर्ने गाडीले लाने गरेको र बढी फोहोर भए महानगरलाई फोहोर उठाउन आग्रह गर्ने गरेको समाजका अध्यक्ष मिश्रले जानकारी दिए । ‘सफा गर्न रमाइलो लाग्छ । तर मान्छेले फोहोर नगरिदिए राम्रो हुन्थ्यो जस्तो पनि लाग्छ । कम्तीमा आफ्नो घर, पसल अगाडि त फोहोर नगरिदिनू,’ मिश्रले भने ।


प्रकाशित : माघ २७, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?