१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

नयाँ बन्दै विद्यालय भवन

भक्तपुर — चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित कालिका माविको नवनिर्मित भवन विद्यालय व्यवस्थापन समितिलाई 
हस्तान्तरण गरेको छ ।

नयाँ बन्दै विद्यालय भवन

भूकम्पका कारण क्षतिग्रस्त भवन एसियाली विकास बैंक (एडीबी) को सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाई (शिक्षा) मार्फत पुनर्निर्माण गरी आइतबार समितिलाई हस्तान्तरण गरिएको हो ।


नवनिर्मित भवनको उद्घाटन चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्रले गरे । एडीबीको ३ करोड १७ लाख २७ हजार ७१६ रुपैयाँ लागत सहयोगमा ६ कोठे दुईतले भवन निर्माण गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा (डीएलपीआईयू) भक्तपुर प्रमुख डिल्लीश्वर प्रधानले बताए ।


उक्त अपांगमैत्री भवनमा फर्निचरयुक्त साइन्स ल्याब, कम्प्युटर ल्याब, प्रशासन, प्रधानाध्यापक कक्ष, शिक्षक कक्ष, ईसीडी कक्ष, किचेनलगायत आधुनिक शैलीमा निर्माण गरेको छ । बालबालिकाहरूका लागि सुविधायुक्त महिला, पुरुष र अपांगमैत्री छुट्टाछुट्टै चारकोठे शौचालय निर्माण गरेको समेत जनाएको छ ।


त्यस्तै, भूकम्पका कारण क्षतिग्रस्त पञ्चकन्या मावि सुडाल र देवी मावि ताथलीको भवन पुनर्निर्माणका लागि विद्यालय व्यवस्थापन समिति र डीएलपीआईयूबीच पुनर्निर्माणको सम्झौता भएको छ । ७/७ कोठे तीन तले भवन र शौचालय निर्माणका लागि सम्झौता भएको प्रधानले बताए । उक्त दुई विद्यालय आगामी असार मसान्तभित्र पुनर्निर्माण सक्ने गरी ठेक्का लागिसकेको जनाएको छ ।


भूकम्पका कारण क्षतिग्रस्त अधिकांश विद्यालय पुनर्निर्माणको चरणमा छन् भने कतिपय विद्यालय पुनर्निर्माणको प्रक्रियामा रहेको जनाएको छ । जिल्लाका क्षतिग्रस्त विद्यालय तीन पद्धतिबाट पुनर्निर्माण भइरहेको जनाएको छ ।


जसमध्ये, विद्यालय व्यवस्थापन समितिले डीएलपीआईयूसँग सम्झौता गरी व्यवस्थापन समितिले निर्माण गर्ने, सीएलपीआईयू मार्फत ठेकेदारमार्फत र त्रिपक्षीय सम्झौता (राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सीएलपीआईयू र गैसस) बाट पुनर्निर्माण थालिएको छ ।


अघिल्लो आर्थिक वर्ष ०७३/७४ भित्र पुनर्निर्माण सुरु गरी चालु आर्थिक वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने विद्यालयहरू समेत पूरा नभएको डीएलपीआईयूले जनाएको छ । विद्यालय पुनर्निर्माणका लागि सरकारी मापदण्डअनुरूप जग्गाको समस्या र नगरपालिकाहरूले नक्सापासमा ढिलाइ गरिदिँदा पुनर्निर्माण प्रभावित भएको प्रधानले बताए ।


अघिल्लो आर्थिक वर्षमा पुनर्निर्माण थालेका १३ विद्यालयमध्ये डीएलपीआईयूले क्रमागत रूपमा पुनर्निर्माण गर्ने गरी ११ विद्यालयको निर्माण कार्य थालनी गरेको थियो । जसमध्ये, तौथली आधारभूत विद्यालय नगरकोट गैरीगाउँ र देउजा गाउँ आधारभूत विद्यालय चित्तपोलको भने आन्तरिक समस्याका कारण पुनर्निर्माणको थालनी हुन नसकेको डीएलपीआईयू प्रमुख प्रधान बताउँछन् ।


चालु आर्थिक वर्ष ०७५/७६ भित्र पुनर्निर्माण सक्ने गरी बाल शिक्षा सदन, दोलागिरि मावि, फैढोका आधारभूत विद्यालय, गणेश मावि ताथली, आजात मावि झौखेल, कुलमाया भगवती आधारभूत विद्यालयको पुनर्निर्माण थालिएको छ । डीएलपीआईयू भक्तपुरका अनुसार एडीबीको ऋण सहयोगमा ११ विद्यालय पुनर्निर्माणको प्रक्रियामा छन् ।


जसमध्ये श्रीकृष्ण मावि खरिपाटी, चाँगुनारायण मावि दुवाकोट, वागेश्वरी मावि च्याम्हासिंहको सर्भे भइरहेको छ । शान्ति निकेतन मावि सिपाडोल, बालप्रेमी मावि थिमि, चुनादेवी मावि नगरकोट, आदर्शआजात मावि भेलुखेल, समाजसुधार मावि तौलाछेंको भवन निर्माणका लागि टेन्डर प्रक्रियामा छन् ।


सोही योजनाअनुरूप पुनर्निर्माण गर्ने भनिएको विश्वसम्पदा क्षेत्रमा पर्ने श्रीपद्म मावि दरबार क्षेत्र, विद्यार्थी निकेतन मावि, शारदा माविको पुनर्निर्माण अझै अन्योलमा छ । सम्पदा क्षेत्रभित्र पर्ने विद्यालयको नक्सापास प्रक्रिया ढिलाइले पुनर्निर्माण अन्योलमा परेको डीएलपीआईयूले जनाएको छ ।


नगरपालिकाहरूले विद्यालय पुनर्निर्माणका लागि सहज रूपमा नक्सापास गर्ने र जग्गाको समस्यालाई सहजीकरण गरिदिए पुनर्निर्माण प्रभावकारी हुने प्रधानले बताए । भूकम्पका कारण जिल्लाका ९७ वटा विद्यालय प्रभावित भए ।


भक्तपुरमा २ विद्यालय पूर्ण क्षति, ६० वटा आंशिक र ३५ वटा विद्यालयमा सामान्य क्षति पुग्यो । डीएलपीआईयू भक्तपुरले जिल्लाका चारवटै नगरपालिकालाई भूकम्पले क्षति पुर्‍याएर पुनर्निर्माण नगरी नहुने विद्यालयहरू विवरण पेस गर्न पत्राचार गरेको छ ।

प्रकाशित : माघ २९, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?