महानगर कर्मचारी घुमेका घुम्यै

विद्या राई

काठमाडौँ — महानगरपालिकाका कर्मचारीको विदेश भ्रमण बजेट ४ वर्षमा साढे तीन गुणाले वृद्धि भएको छ । चार आर्थिक वर्षमा कर्मचारीहरू ६१ पटक वैदेशिक भ्रमणमा पुगे । जसमा ३९ पटक विदेश भ्रमणको खर्च महानगरपालिकाले व्यहोरेको छ । कतिपय भ्रमणमा आफूखुसी जान्छन् । खर्च भने महानगरले नै व्यहोर्छ । 

महानगर कर्मचारी घुमेका घुम्यै

आर्थिक वर्ष ०७१/७२ मा ३,४६,११० खर्च भएकोमा ०७४/७५ मा ११,९७,५०८ सकियो । जुन ३.५६ गुणाले बढी हो । महानगरपालिकाबाट खर्च व्यहोर्ने गरी आर्थिक वर्ष ०७१/७२ देखि आर्थिक वर्ष ०७४/७५ सम्म कर्मचारीहरूले विदेश भ्रमणमा ३२ लाख ५५ हजार एक सय छ रुपैयाँ खर्च गरे ।


महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख महेश काफ्लेका अनुसार तत्कालीन पूर्व प्रशासकीय अधिकृत रुद्रमानसिंह तामाङले नौ पटक विदेश भ्रमण गरे । वित्त विभाग प्रमुख बुद्धरत्न मानन्धरले उपलब्ध गराएको सूचना केलाउँदा चार पटक खर्च महानगरपालिकाले व्यहोरेको पाइएको छ । उनले चार पटकमा पाँच लाख २० हजार चार सय ४८ हजार रुपैयाँ खर्च गरे । उनले आर्थिक वर्ष ०७१/७२ देखि आर्थिक वर्ष ०७३/०७४ सम्म तीन वर्षको भ्रमणमा उक्त खर्च गरेका हुन् । उनी गत आर्थिक वर्षदेखि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा कार्यरत छन् ।


महानगरका कर्मचारीहरू जनप्रतिनिधिसँग पनि वैदेशिक भ्रमणमा जान्छन् । मेयर विद्यासुन्दर शाक्य र तत्कालीन प्रमुख प्रसाशकीय अधिकृत धनीराम शर्माले आर्थिक वर्ष २०७४/७५ मा इजरायल, स्पेन र दक्षिण कोरियाको भ्रमण गरे । तीन देश भ्रमण गर्दा ६ लाख ५७ हजार ८ सय ४६ रुपैयाँ महानगरले खर्च व्यहोरेको छ । इजरायलमा ३२ औं मेयर सम्मेलन, स्पेनमा द्विपक्षीय बैठक र दक्षिण कोरियामा एसिया प्यासिफिक सम्मेलनमा उनीहरू गएका थिए । शर्मा केही समययता नेपाल सरकारको अर्थ मन्त्रालयमा कार्यरत छन् ।


महानगरका निर्देशक नूरनिधि न्यौपानेले आर्थिक वर्ष ०७२/७३ मा क्यानडा र इजरायलको भ्रमण गर्दा ३ लाख ७० हजार ६ सय २९ रुपैयाँ खर्च गरेका छन् । न्यौपानेले दक्षिण कोरिया र चीन पनि भ्रमण गरेका छन् । दक्षिण कोरिया र चीनमा सेमिनारमा गएको उल्लेख भए पनि क्यानडा र इजरायल के कामका लागि गएका थिए भन्ने उल्लेख छैन । यसबाट के प्रस्ट हुन्छ भने महानगरका कर्मचारी आफूखुसी विदेश भ्रमण जान्छन् । खर्च भने महानगरले नै व्यहोर्छ ।


यसैगरी प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कार्कीले आर्थिक वर्ष ०७२/७३ मा दुईपटक विदेश भ्रमण गरे । उनले क्यानडा र जापान भ्रमण गर्दा ९२ हजार ३७ रुपैयाँ खर्च गरे । उनी ०७२ माघमा चीनमा व्यापारिक सहयोग सम्मेलनमा गएका छन् । तर क्यानडा र जापान किन गएका थिए भन्ने काम खुलाइएको छैन । उनी तत्कालीन समयमा महानगरका प्रवक्ता थिए ।


कार्कीसँगैको टोली क्यानडा भ्रमणमा जाँदा निर्देशक नूरनिधि न्यौपाने र सहरी सुव्यवस्था विभागका प्रमुख हरिबहादुर कुँवर पनि सँगै थिए । तीन जनाले क्यानडा भ्रमण गर्दा २ लाख ६४ हजार एक सय ९८ रुपैयाँ महानगरको बजेट खर्च गरे । न्यौपानेले दुई लाख १५ हजार ६६ रुपैयाँ, ज्ञानेन्द्र कार्कीले ४५ हजार ६६ रुपैयाँ र हरिबहादुर कुँवरले चार हजार ६६ रुपैयाँ खर्च गरेका छन् ।


नाम नबताउने सर्तमा महानगरका एक कर्मचारीले भने ‘विदेश भ्रमणमा कर्मचारीतन्त्र हाबी हुँदा मनपरी खर्च भएको छ ।’ ०७२ मंसिरमा रुद्रसिंह तामाङले श्रीलंकामा स्थानीय सरकार तथा मेयर फोरमको सेमिनारमा गएका बेला ८१ हजार ७ सय ९३ रुपैयाँ खर्च गरेका छन् । यो खर्च महानगरले व्यहोरेको छ । ०७२ मंसिर २३ कै मितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भ्रमणमा जानका लागि नेपाल सरकार तथा महानगरपालिकाको कुनै आर्थिक खर्च नहुने गरी सहभागिता सहमतिपत्र दिएको थियो ।


महानगरमा कर्मचारीको भ्रमण खर्च बर्सेनि वृद्धि हुने गरेको छ । आर्थिक वर्ष ०७१/७२ मा ३ लाख ४६ हजार एक सय १० रुपैयाँ खर्च भएको थियो । यो वर्ष महानगरको खर्चमा कर्मचारीले ६ पटक विदेश भ्रमण गरे । आव ०७२/७३ मा तीन गुणाले खर्च बढेको छ । यो वर्ष १३ लाख ८ हजार ४ सय २७ रुपैयाँ खर्च भयो । यो वर्ष कर्मचारीहरूले २१ पटक विदेश भ्रमण गरे ।


आर्थिक वर्ष ०७३/७४ मा भ्रमण खर्च घट्यो । यो वर्ष कर्मचारीको चार पटक विदेश भ्रमणका क्रममा ४ लाख ३ हजार ६१ रुपैयाँ खर्च भयो । आर्थिक वर्ष ०७४/७५ मा अघिल्लो वर्षको तुलनामा झन्डै तीन गुणा बढीले खर्च भयो । कर्मचारीसहित जनप्रतिनिधिले जम्मा नौ पटक भ्रमण गर्दा यस वर्ष ११ लाख ९७ हजार ५ सय ८ रुपैयाँ खर्च गरे ।


आव ०७३/०७४ मा २० लाख अनुमानित बजेट विनियोजन गरेकामा आव ०७४/७५ मा ह्वात्तै बढाएर एक करोड ६० लाख विनियोजन गरे । आव ०७३/०७४ मा १४ लाख ५० हजार रुपैयाँ खर्च भएको थियो । यो खर्च आन्तरिक तथा बाह्य भ्रमण खर्चको हो ।

वित्त विभाग प्रमुख मानन्धरका अनुसार आव ०७४/७५ असार मसान्तसम्म २१ लाख बजेट भ्रमण शीर्षकमा खर्च भयो । आव ०७४/७५ को जेठसम्म १२ लाख ८१ हजार बढी खर्च गरेका थिए । असार महिनामा ९ लाख खर्च गरे । चालु आवका लागि एक करोड ६० लाख नै बजेट प्रक्षेपण गरेका छन् ।


महानगरका जनप्रतिनिधि तथा कर्मचारीहरू भगिनी सम्बन्ध भएका देशका सहरहरू, महानगर सदस्य रहेका अन्तर्राष्ट्रिय संगठनहरूका कार्यक्रमहरूमा सहभागी हुन विदेश जान्छन् । यसैगरी क्षमता विकासका तालिम, सेमिनार तथा बैठकहरूमा जान्छन् । संयुक्त राज्य अमेरिकाको युजेन, फ्रेडरिकबर्ग, रोचेस्टर, जापानको मात्सुमोतो, जनवादी गणतन्त्र चीनको सियान, ल्हासा, सेन्जेन, लान्जाउ, चेंगदु, बेलारुसको मिन्सक, बर्माको यंगुन, भारतको वाराणसी, दक्षिण कोरियाको सोल र उत्तर कोरियाको पेङवाङ सहरसँग भगिनी सम्बन्ध छ ।


कर्मचारी भ्रमणमा महानगरले आवश्यकताअनुसार खर्च व्यहोर्छ । प्रवक्ता ईश्वरमान डंगोल भन्छन्, ‘महानगरलाई आवश्यक छ र धेरै फाइदा पुग्छ भने महानगरले खर्च व्यहोर्छ ।’ कर्मचारीहरूलाई संस्थागत फाइदा पुग्ने कार्यक्रममा महानगरले पठाउँदै आएको र यसले महानगरलाई प्रत्यक्ष या अप्रत्यक्ष सकारात्मक फाइदा पुगिरहेको प्रवक्ताले बताए ।


तर विदेश भ्रमणको लर्को र खर्चलाई हेर्ने हो भने महानगरवासीले अनुभव गर्ने गरी प्रभाव देखिँदैन । यो जिज्ञासामा प्रवक्ता भन्छन्, ‘विकास बजेटलाई हेर्ने हो भने यो खर्च कम भए पनि महानगरले आफ्नो खर्चमा जनप्रतिनिधि र कर्मचारीलाई नै विदेश नपठाउने भन्ने त हो, विदेशमा आयोजकले व्यहोरेकामा थोरबहुत खर्च गर्दै आएका छौं ।’


पूर्व सहरी विकास सचिव किशोर थापाका भनाइमा मोजमस्ती र रमाइलोका लागि विदेश जाने मोह सबै कर्मचारीमा छ । आफ्नो देश चिन्न खोज्दैनन् । विदेश जान मरिहत्ते गर्छन् । १० वर्षयताको ट्रेन्डलाई हेर्ने हो भने थुप्रै कर्मचारीका परिवार उतै छन् । कार्यक्रमको बहानामा पारिवारिक भेटघाटमा जान्छन् ।

प्रकाशित : फाल्गुन ३, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?