सातै सम्पदा खस्कँदै

अनधिकृत निर्माणलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती छ : पुरातत्त्व विभाग
दामोदर न्यौपाने

काठमाडौँ — विश्व सम्पदामा सूचीकृत गर्दा सम्पदाको गुण के थियो ? तिनका लक्षण के थिए ? ती गुण र लक्षण बिग्रँदै गए कि ? बिग्रँदै गएका छन् भने युनेस्कोले खतराको सूचीमा राखिदिन्छ । खतराको सूचीमा राख्दा पनि ती सम्पदालाई पहिलाकै अवस्थामा ल्याइएन भने सूचीबाटै हटाइदिन्छ ।

सातै सम्पदा खस्कँदै

अहिले हाम्रा सम्पदा यही अवस्थाबाट गुज्रिएका छन् । ‘सम्पदाका गुणमा धेरै ह्रास आएका छन्,’ युनेस्कोको सल्लाहकार संस्था इकोमस नेपालका प्रमुख काइ वाइजे भन्छन्, ‘अब विश्व सम्पदा क्षेत्रको पुनरावलोकन गर्नुपर्ने समय आएको छ ।’


विज्ञका अनुसार उपत्यकाका सात विश्व सम्पदा सूचीमध्ये अधिकांशको सुरुका गुण र लक्षण खस्कँदै गएका छन् । पुरातत्त्वविद् भीम नेपालका शब्दमा अहिले सम्पदा कसैको पनि नियन्त्रणमा नभए जस्तो देखिन्छ । सम्पदा क्षेत्रमा प्राचीन स्मारक संरक्षण ऐन लागू भएको छ । तर ती ऐन कार्यान्वयन भएका छैनन् । सम्पदाको नियमन गर्ने निकाय पुरातत्त्व विभाग हो ।


विभागले प्रभावकारी नियमन गर्न सकेको छैन । ‘विश्व सम्पदाको मुख्य क्षेत्र र सन्निकट क्षेत्रमा कुनै पनि मर्मत सम्भार तथा पुनर्निर्माण जस्ता कार्य गर्दा निर्दिष्ट मापदण्डअनुसार गराउनुपर्छ,’ पुरातत्त्वविद् विष्णुराज कार्की भन्छन्, ‘यसको मूल उद्देश्य, मौलिकता, संवेदनशीलता, परम्परागत प्रविधि एवम् भौगोलिक खण्डीकरण हुनबाट जोगाउन मापदण्ड लागू गरिएको छ । तर यो मापदण्डविपरीत काम भइरहेका छन् । यसले हाम्रा सम्पदाका मूल्य घट्दै गएका छन् ।’


२०७२ सालको भुइँचालो गएयता सम्पदा पुनर्निर्माण गर्ने क्रममा यसको मूल्य मान्यतामा बढी असर पारिएको विज्ञ बताउँछन् । वसन्तपुर क्षेत्रमा निर्माण भइरहेका सबै सम्पदा मापदण्डअनुसार छैनन् । केहीमा किला ठोकिएका छन् । केहीको स्वरूप परिवर्तन गरिएका छन् । केहीको साइज घटाइएका छन् । कहीं भूमिगत संरचना बनाइएका छन् ।


कहीं तोकिएको उचाइभन्दा बढी निर्माण भइरहेका छन् । ‘तोकिएको अधिकतम उचाइ ३५ फिट हो । यो भन्दा बढी जान पाइँदैन,’ काइ वाइजे भन्छन्, ‘तर दरबारसँगै जोडिएको महर्जन बिजनेस एसोसिएट्सले यो मापदण्ड विपरीत जाने योजना बनाएको छ । यो विश्व सम्पदाका लागि खतराको संकेत हो । सम्पदाका लागि खतरा नै उचाइ हो । उचाइ बढी भयो भने अगाडिका सम्पदा छेकिन्छन् । यसले दृश्य प्रदूषण हुन्छ ।’


काइ वाइजेले यस्तै उचाइका कारण अस्ट्रियाको भियनालाई खतराको सूचीमा राखेको उदाहरण दिए । ‘एउटै घरका कारण भियना खतराको सूचीमा पर्‍यो,’ उनी भन्छन्, ‘एउटा व्यापारिक प्रोजेक्टले ४३ फिट मात्रै उचाइ बनाउनुपर्ने ठाउँमा ६६ मिटर बनाए छ । त्यही कारण खतराको सूचीमा पर्‍यो ।’


खतराको सूचीमा मात्रै हैन, सम्पदा सूचीबाटै हटाइएका उदाहरण पनि छन् । पुरातत्वविद् कार्कीका अनुसार पछिल्लो समय जर्मनीको ड्रेसडेनलाई विश्व सम्पदा सूचीबाट हटाइएको छ । त्यसको मुख्य कारण आधुनिक निर्माण नै हो । भौतिक र सांस्कृतिक दृश्य मासिने गरी चार लेनको पुल बनाएको भन्दै सम्पदा सूचीबाट हटाइएको हो ।


‘त्यहाँका मान्छेले पुल पाए । भौतिक सुविधा पाए,’ कार्की भन्छन्, ‘तर आफ्नो क्षेत्र विश्व सम्पदाबाट गुमाए । हटाएकामा त्यहाँका बासिन्दा दु:खी भएका छन् । हाम्रो अहिलेको गतिविधि हेर्ने हो भने हाम्रा सम्पदा पनि हटाइदिने दिशातिर अग्रसर छन् ।’


विज्ञका अनुसार प्रत्यक्ष हेर्दा पशुपति, वसन्तपुर, चाँगुनारायण, स्वयम्भू र बौद्धनाथमा सम्पदाको गुण मासिने गरी काम भएका छन् । पशुपतिमा तिलगंगा हुँदै ताम्रगंगा जोडिएको सडकका कारण खतरामा छ । ७ मिटर लामो यो सडक नरोके विश्व सम्पदाबाट हटाइदिने चेतावनी युनेस्कोले दिएको एक दशक हुन लाग्यो । तर रोक्यौं भनेर युनेस्कोलाई कागज दिएको छ कोषले ।


त्यही कागजलाई आधार मानेर युनेस्को चुप लागेको छ । व्यवहारमा भने यो क्षेत्रबाट गाडी गुडिरहेका छन् । सर्वाेच्च अदालतले बाटो रोक्न २०७३ पुसमै आदेश दिएको थियो । त्यो आदेश पनि कोषले टेरेको छैन । श्लेष्मान्तकको जंगलमा दशनामी र बालकलाई मात्रै दाहसंस्कार गर्न आदेश दिएको थियो ।


चिहानका कंक्रिट हटाउन आदेश दिएको थियो । ‘यो आदेश कोषले टेरेको छैन,’ कोषका पूर्वकोषाध्यक्ष तथा प्रदेश ३ का सभासद नरोत्तम वैद्य भन्छन्, ‘यहाँ क्रिश्चियनले लास गाड्न छाडेका छन् । त्यसबाहेक राई, लिम्बू सबैले गाडेका छन् । कोषलाई जानकारी नै नदिईकन चिहान प्रयोग गरेका छन् । यसले गर्दा श्लेष्मान्तक नाश हुँदै गएको छ ।’ सम्पदा सूचीमा सूचीकृत हुने बेलाको भन्दा धेरै परिवर्तन आएको छ पशुपति क्षेत्र । विश्व सम्पदाको सीमा तोकिएको क्षेत्रभित्र जथाभावी डोजर चलाइएका छन् ।


सम्पदा क्षेत्रमा हेलिकप्टरसमेत उडाउन पाइँदैन भन्ने विश्वव्यापी मान्यता छ । त्यति संवेदनशील मानिने ठाउँमा डोजर चलाउँदा जमिनमुनिका पुरातत्व मासिने खतरा हुन्छ । जंगल मासिएका छन् । वनकालीमा कंक्रिट राखेर पार्क बनाइएको छ । भण्डारखाल पनि पार्क बनाइएको छ । मृगस्थलीमा मृग राखिएका छन् । मृगले रूखका जरा खाएका छन् । माटोसमेत खाएका छन् । ‘मरुभूमि बनेको छ मृगस्थली,’ पशुपतिका भण्डारी केदारमान भण्डारी भन्छन्, ‘जंगल नाश भएर गएको छ । पहिला जस्तो थियो, त्यस्तो छैन अहिले यहाँ । यसलाई सुधार गर्न ढिला भइसक्यो ।’


भुइँचालोले भत्काएका विश्व सम्पदा सूचीका सम्पदामध्ये चाँडो बनेको भनेर बौद्धनाथलाई प्रचार गरियो । तर छिटो काम देखाउने र यहाँको बजेट चलाउने नाममा हतार हतार काम भएको काइ वाइजे बताउँछन् । यहाँ पुरातात्त्विक मापदण्डविपरीत निर्माण भएको छ । चैत्यको गर्भभन्दा माथि कंक्रिट राखेर बनाइएको छ । मेलम्ची घ्याङ गुठीका प्रमुख भूमतिवज्र लामाका अनुसार चैत्यमा सिमेन्ट, रड राखेर निर्माण गरिएको छ । ‘हामीले भन्दाभन्दै समितिले कंक्रिट राख्यो,’ लामा भन्छन्, ‘यहाँको काठ पनि मापदण्डअनुसार छैन । काठको एउटै गिंड राख्नुपथ्र्याे । तर यहाँ गाँसेर राखिएको छ ।’


पुरातत्त्व विभागले पहिला पनि कंक्रिट राखेकाले फेरि पनि त्यही राख्न अनुमति दिएको दाबी गरेको छ । ‘पहिला कंक्रिटै राखिएको रहेछ,’ विभाग विश्व सम्पदा शाखाका प्रमुख सुरेश श्रेष्ठ भन्छन् ।


काठमाडौं उपत्यकालाई एउटा क्षेत्र मानेर ७ वटा सम्पदालाई विश्व सम्पदा सूचीमा राखिएको हो । धेरैले उपत्यकामा ७ वटा विश्व सम्पदा भन्ने गरिएको छ । तर त्यसो होइन । काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्र हो । एक विश्व सम्पदाभित्र सातवटा स्मारक हो । यी कुनैमध्ये एउटा मात्रै स्मारक सम्पदा सूचीबाट हट्यो भने सबै हट्न सक्छ ।


यसलाई जोगाउने जिम्मेवारी पाएका महानगर, पुरातत्त्व विभागलगायतले मापदण्डविपरीत काम रोक्न नसेको पुरात्त्वविद् नेपाल गुनासो गर्छन् । ‘अदालतले समेत प्राचीन स्मारक संरक्षण ऐन ग्रहण गर्न सकेन,’ उनी भन्छन्, ‘अब विश्व सम्पदा खतरामा पर्‍यो भने यसको दोष महानगर र अदालतले समेत लिनुपर्छ ।’ काठमाडौंका सम्पदाका जानकार तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ सम्पदा संरक्षणमा नयाँ चुनौती आएको बताउँछन् ।


श्रेष्ठको शब्दमा व्यवसायीकरणले गर्दा विश्व सम्पदा नै चेपुवामा परेको छ । ‘आधुनिक निर्माण सामग्री मात्रै बलियो हुन्छ भन्ने मनोविज्ञानले जरा गाड्यो,’ उनी भन्छन्, ‘सम्पदामा यस्तो गर्दै जाने हो भने हामीलाई अन्तर्राष्ट्रिय जगत्ले सम्पदा संरक्षण गर्न नसक्ने नालायक भनेर सूचीबाटै हटाइदिन सक्छ ।’


खतराको सूचीमा किन राखिन्छ ?

संरक्षणविद् साफल्य अमात्यका अनुसार सामान्यत: दुई किसिमले सम्पदामा खतरा आउन सक्छ । पहिलो निश्चित खतरा । दोस्रो अनिश्चित खतरा । सम्पदा निर्माण सामग्रीमा ह्रास आएर, कलाकृतिमा ह्रास, वास्तुकला र नयाँ सहरी योजनासँगको तालमेल नमिले आउने ह्रासलगायत निश्चित खतरा हुन् ।


प्रभावकारी कानुन नभएर, भएका कानुनलाई पनि कमजोर बनाएर, अन्य विकास परियोजनाले खतरा पुर्‍याएमा, युद्धलगायतले पुर्‍याउने खतरा अनिश्चित खतरा हुन् । ‘अहिले यी दुवै किसिमका खतरा छन् विश्व सम्पदामा,’ उनी भन्छन्, ‘यसलाई राज्यले गम्भीर रूपमा लिएकै छैन ।’

प्रकाशित : फाल्गुन ४, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?