चिनियाँ अध्येता पाटनमा

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुरको कला संस्कृतिको जगेर्ना र थप विकास गर्न चीनका सांस्कृतिक अध्येताले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । वल्र्ड क्राफ्ट काउन्सिलबाट ललितपुर विश्वको ३५ औं कलाको नगरी घोषणा भएअनुरूप आवश्यक कार्य अघि बढाउन उनीहरूले सहकार्य गर्ने इच्छा व्यक्त गरेका हुन् ।

प्राध्यापक सु हाओको नेतृत्वमा आएका चिनियाँ टोलीले पाटन दरबार क्षेत्रलगायत पाटनका हस्तकला, ताम्रकला, मूर्तिकला, प्रस्तरकला, चित्रकलाको अवलोकन गरेका छन् । सु हाओले नेपालमा उत्पादित वस्तु प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय मेला आयोजना गर्नु सबैभन्दा उत्तम मार्ग भएको बताए । ‘विदेशमा नेपाली कलाशैलीलाई चिनाउने गतिलो माध्यम पनि यही हो,’ उनले भने, ‘चीनले नेपालमा उत्पादित वस्तुलाई रुचाउने गरेको छ । यसलाई निरन्तरता दिन नेपाल सरकारले पनि ध्यान दिनुपर्छ ।’


उनले नेपाली कलाकृति चीनमा मात्र नभई विश्वमै प्रख्यात भएको बताए । ललितपुर कला, मूर्त, अमूर्त सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ अधिकांश हस्तकला व्यवसायी छन् । यसलाई मध्यनजर गरेर बृहत् कला तथा सांस्कृतिक महोत्सव आयोजना गर्न लागेको ललितपुर महानगरपालिकाले जनाएको छ ।


ललितपुर महानगर–१६ वडाध्यक्ष निर्मलरत्न शाक्यले मेलाका लागि तयारी तीव्र गतिमा भइरहेको बताए । ‘हस्तकला नगरीको उत्सव, कला संस्कृतिको महोत्सव भन्ने नाराका साथ चैत्र १३ देखि १७ सम्म महोत्सव आयोजना गर्ने लक्ष्य छ,’ उनले भने । चिनियाँ टोलीसँग महोत्सवमा चिनियाँ संस्कृति झल्किने स्टल राख्ने विषयमा पनि छलफल भएको छ ।


महोत्सवमार्फत दुई देशको संस्कृति प्रवद्र्धन गर्ने विषयमा पनि छलफल भयो । नेपाल हस्तकला महासंघका निर्वतमान अध्यक्ष धर्मराज शाक्यले चिनियाँ टोलीसँग समन्वय गरेर अगाडि बढ्ने बताए । ‘विश्वको ३५ औं कला नगरीको घोषणाअनुरूप ललितपुरमा आवश्यक कार्य अघि बढाउन महोत्सवले एउटा माहोल बनाउनेछ,’ उनले भने ।


टोलीले बखुम्बहालस्थित वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीसँग भेटघाट गरेका थिए । सु हाओले जोशीबाट सन् १९६३ मा नेपाली र नेपाल भाषा प्रशिक्षण लिएका थिए । सु हाओले पाटन आउनुको उद्देश्य आफूलाई नेपाली भाषा सिकाउने गुरु जोशीलाई भेट्नु पनि रहेको बताए । जोशीलाई शताब्दी पुरुष भनेपछि सबैले आश्चर्य व्यक्त गरेका थिए । भेटमा १ सय वर्षसम्म बाँच्नुको रहस्य के हो भने सोधेका थिए ।


प्रतिउत्तरमा जोशीले चिन्ता नलिनु, चिन्तन गर्नु, जीवनलाई सक्रिय बनाउनु, जीवनमा प्राप्त भएको चिजप्रति सन्तुष्ट रहनु नै दीर्घायुको कारण भएको बताएका थिए । जोशी वैशाख ३० मा १ सय वर्षमा टेक्दै छन् । कला संस्कृतिमा उनको योगदान कदर गर्दै महोत्सवमा विशेष सम्मान गर्ने योजना रहेको वडाध्यक्ष शाक्यको भनाइ छ । टोलीले हिरण्यवर्ण महाविहार गोल्डेन टेम्पलको पनि अवलोकन गरेका थिए । ‘नेपालप्रति मेरो पुरानो आत्मीय नाता छ,’ सु हाओले भने, ‘त्यसैले बेलाबेलामा नेपाल आउने गरेको छु ।’

प्रकाशित : फाल्गुन ५, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?