बेवारिस बिरामीका सहारा

फातिमा बानु

काठमाडौँ — मृगौला रोगका कारण ८ वर्षअघि श्रीमतीको मृत्यु भएपछि दुर्गाप्रसाद अर्याललाई घर शून्य लाग्न थाल्यो । घर बस्नै मन लागेन । खेती किसानी गरेर जीविका चलाइरहेका उनले श्रीमतीले संसार छाडेर गएपछि किसानी काम छाडिदिए ।

श्रीमतीको वियोग भुलाउन उनले मानव सेवामा आफूलाई समर्पण गर्ने निधो गरे । त्यतिबेलैदेखि बेवारिसे बिरामीका सहारा बनेका छन् । वीर अस्पतालमा आइपुग्ने सबै बेवारिसे बिरामीलाई उनी सेवा गर्छन् ।


प्रहरीले सडकमा अलपत्र बिरामी, घाइते उठाएर अस्पतालको आकस्मिक कक्षमा छोडिदिन्छन् । त्यसपछिको सबै जिम्मा उनकै काँधमा आउँछ । ती बिरामीका कुरुवा, सेवक या अभिभावक सबै भूमिकामा दुर्गा तयार हुन्छन् । उनी भन्छन्, ‘आफ्नो पीडा बिर्सन अरू दु:खीको पीडा कम गर्नुपर्दोरहेछ । पाउनु त केही छैन तर यो कामले दिएको आनन्द अरू कुनै कामले दिन सकेन ।’


बेवारिसे बिरामीलाई खानाऔषधि खुवाउने, उठ्नै नसक्ने बिरामीलाई शौचालयसम्म पुर्‍याएर दिसापिसाब गराउने, नुहाइदिने लुगाफाटो फेरिदिने गर्छन् उनी । यति मात्रै होइन, उपचारपछि घर फर्किने खर्च नभएकालाई संस्थामार्फत खर्च जुटाइदिएर बसपार्कसम्म गाडी चढाउन समेत पुग्छन् । अस्पतालमा उनी नहुँदा बिरामी भोकै हुने, समयमा औषधि खान नपाउने अवस्थामा पुग्छन् ।


कार्यालय समय ६ घण्टा तोकिए तापनि उनी अबेरसम्म अस्पताल परिसरमै भेटिन्छन् । अलमलिएका बिरामीलाई सहजीकरण गरिहेका हुन्छन् । टिकट काट्ने, पैसा तिर्ने अनि चिकित्सक बस्ने ठाउँसम्म बिरामी पुर्‍याइदिन्छन् । कहिल्यै वीर अस्पताल नपसेका नयाँ बिरामीलाई उनको यस्तो सहयोग ठूलै गुन जस्तो लाग्छ । सेवामा खुसी उनी सधैं सन्तुष्ट हुन भने सक्दैनन् ।


उनी भन्छन्, ‘कोही बिरामी जस दिँदैनन्, औषधि खान मान्दैनन् अनि उल्टै ममाथि आक्रमण गर्छन् ।’ धेरैजसो मानसिक बिरामीले उनीमाथि आक्रमण गर्ने गरेको उनको अनुभव छ । उमेरले पाँच दशक टेक्न लागेका उनको शरीरमा ताकत रहुन्जेल यस्तै बेसहाराको सहारा बन्ने धोको छ । उनी भन्छन्, ‘सके सेवा गरुँला, नसके प्रार्थना भए पनि गरुँला ।’ वीर अस्पतालको आकस्मिक कक्षमा बेवारिसे बिरामी नआएको दिन हुँदैन । जाडो र वर्षायामको मौसममा त बिरामी संख्या झन् बढ्छ ।


बेवारिसे बिरामीका लागि दुई बेड मात्रै छुट्याएको आकस्मिक कक्षमा बिरामीले भुईंमा म्याट ओछ्याएरै उपचार लिन्छन् । बिरामीको चाप भइरहने यो कक्षमा बिरामी व्यवस्थापन असहज छ । चापका बीच बेवारिसे बिरामी व्यवस्थापन थप झन्झटिलो छ । बेवारिसे बिरामी हेर्नकै लागि भनेर कर्मचारीको दरबन्दी नहुँदा अस्पताललाई गाह्रो छ ।


सञ्जीवनी नामक संस्थाले स्वयंसेवक खटाएर यस्ता बिरामीको उपचारमा सहज बनाइदिएको छ । स्वयंसेवा गरेबापत संस्थाले उनीहरूलाई यातायात खर्चसम्म दिने गरेको छ । अस्पतालको सामाजिक सेवा एकाइमार्फत यी बिरामीको उपचार हुन्छ ।


बेवारिसेका परिवार खोज्ने, परिवार नभेटिएका बिरामीलाई मानव आश्रममा पुर्‍याउने गरिन्छ । माध्यम बन्छन्, उनै दुर्गा । बिरामी परेर बोल्नै नसक्ने अवस्थामा अस्पताल आएका बिरामी सन्चो भएर फर्किएको देख्दा मनमा शान्ति हुने उनको अनुभव छ । उनी भन्छन्, ‘कोही त घर पुगेपछि पनि फोन गर्छन्, फर्किएर भेट्न पनि आउँछन् ।’


बेवारिसेका सहारा जस्तो पवित्र सेवालाई समाजले हेर्न गरेको दृष्टिकोण सम्भिँmदा भने उनको मन कुँडिन्छ । उनी भन्छन्, ‘उस्तै परे छिछि दुरदुर गर्छन्, त्यसले मैले गर्ने कामबारे म कसैसँग खुलेर बोल्दिनँ, अस्पतालमा काम गर्ने मात्रै भनेको छु ।’वीर अस्पतालको आकस्मिक कक्ष प्रमुख डा. भोलाराम श्रेष्ठको नजरमा दुर्गा दयालु र सेवाभाव भएका कर्मचारी हुन् ।


डा. श्रेष्ठ भन्छन्, ‘औपचारिक रूपमा उहाँ हाम्रो कर्मचारी हैन, तैपनि उहाँको जसरी बेवारिसे व्यक्तिको स्याहार कमैले मात्रै गर्छन् जस्तो लाग्छ ।’ दुर्गालाई बिरामीको सेवामा अहोरात्र खटिएको देख्दा डा.श्रेष्ठको मन पग्लिन्छ । वीरमा यस्ता कर्मचारी अझै पाँच जना भए बेवारिसे बिरामीको राम्रो व्यवस्थापन हुने उनी बताउँछन् । अस्पतालले निरन्तर स्वास्थ्य मन्त्रालयसमक्ष बेवारिसे बिरामी हेर्ने कर्मचारी माग गरे तापनि यो कार्यान्वयनमा आएको छैन ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?