१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

व्रतालुलाई कृत्रिम पोखरी

कान्तिपुर संवाददाता

भक्तपुर — श्रीस्वस्थानी तथा माधव–नारायणका व्रतालुले चाँगुनारायण नगरपालिका–४ शंखदहस्थित कृत्रिम पोखरीमा स्थान गरेका छन् । वर्षौंदेखि माधव–नारायणका व्रतालुले गाग्रीमा पानी बोकेरै शंखदहमा स्नान गर्थे । तीन वर्षदेखि भने स्नानका लागि गाग्रीमा पानी बोकेर आउनु नपरेको व्रतालुले बताएका छन् ।

व्रतालुलाई कृत्रिम पोखरी

साँखु सालीनदीबाट परदेश यात्राका क्रममा शंखदह आइपुगेका व्रतालुहरूले कृत्रिम पोखरीमा स्नान तथा नित्यपूजा गरेका छन् । शंखदह (नागपोखरी) पुनर्निर्माण तथा संरक्षण समिति र चाँगुनारायण नगरपालिका वडा नम्बर ४ को सहकार्यमा माधव–नारायण मेलाका लागि प्लास्टिकको कृत्रिम पोखरी निर्माण गरिएको हो ।


संरक्षणको अभावमा लोप अवस्थामा पुगेको शंखदहलाई जीर्णोद्धार गर्ने प्रयत्न गर्दै स्थानीय युवाहरूले समिति गठन गरी पर्खाल लगाउने कार्य गरेको जनाइएको छ । ‘सांस्कृतिक महत्त्वको ऐतिहासिक शंखदह भासिएको छ, पोखरीमा पानी अडिँदैन,’ शंखदह पुनर्निर्माण तथा संरक्षण समिति संयोजक एवं नगरकार्यपालिका सदस्य दिनेश खनालले भने, ‘माधव–नारायण मेला सञ्चालन गर्न ट्यांकरमा पानी ल्याएर प्लास्टिक पोखरी निर्माण गरिएको हो ।’


मेला सञ्चालनका लागि प्लास्टिकमा १५ हजार लिटर पानी जमाएको उनले बताए । प्लास्टिकको कृत्रिम पोखरीमा श्री स्वस्थानी (माधव–नारायण)का २ सय ३० व्रतालुले स्नान गरेका छन् । आइतबार त्रिवेणीघाटमा माधव–नारायणको व्रत बसेका व्रतालुले शंखदहमा स्थान गर्ने जानकारी दिइएको छ ।


स्कन्दपुराणको हिमवत् खण्ड अध्याय १२६ मा वर्णन भएअनुसार परापूर्वकालमा गरुड र नागहरूको युद्ध भयो । गरुड विजयी भएपछि असन्तुष्ट नागहरूले गरुडको आज्ञा मानेनन् । गरुड रिसाएर अष्टनाग बाहेकका नागहरूलाई खोजीखोजी खान थाले । शंखपाल नाग सुरक्षित स्थान खोज्दै भौतारिने क्रममा हालको शंखदह (नागपोखरी)मा आईपुगी विष्णुको चरणमा परी तपस्या गर्न थाले ।


शंखपाल नागले तपस्या गरेकै कारण शंखदह नाम रहन गरेको उल्लेख छ । कालान्तरमा आएर शंखदहबाट अपभ्रंश हुँदै ‘सांगदह’ भन्न थालिएको स्थानीय बताउँछन् । शंखदह कति पुरानो भन्ने यकिन प्रमाण नभए पनि पुराणमा वर्णित शंखपाल नागको तपोभूमि भएका कारण शंखदह नामकरण हुनुपूर्व नै दहको अस्तित्वमा रहेको हुँदा पौराणिक दह मान्न सकिने स्थानीय अमृतराज खनालले बताए । हिमवत् खण्डमा उल्लेख भएअनुसार शंखदहमा स्नान गरी चाँगुनारायणको दर्शन गर्दा पाप नष्ट भई नागभयबाट वञ्चित हुन्छ ।

संरक्षणको अभावमा पोखरी जीर्ण बनेको र पानी नअडिने समस्या भएकाले ऐतिहासिक परम्परालाई जोगाउन प्लास्टिकको कृत्रिम पोखरीको निर्माण गरेको खनालले बताए । माधव–नारायणका व्रतालुहरूलाई लक्षित गरी तीन वर्षयता कृत्रिम पोखरी निर्माण गरेको समेत उनले बताए ।


प्रसिद्ध चाँगुनारायणसँग प्रत्यक्ष सम्बन्ध रहेको शंखदहमा नागपञ्पमीमा स्नानगरी चाँगुनारायण र किलेश्वर महादेवको दर्शन गर्ने प्रचलन छ । जनै पूर्णिमाको दिन स्नान गरी तागाधारीहरूले जनै मन्त्रने र जनै फेर्ने परम्परा कायमै छ ।


शंखदह जस्तै, चाँगुनारायण मन्दिर क्षेत्रभित्रका ग्वाल्दह, बांदह, इकुदह, जुगीदह, अजीदह, धनचादह, फादह र कालीदह नामले परिचित नौ वटा सांस्कृतिक महत्त्वका ऐतिहासिक पोखरीहरू लोपको अवस्थामा पुगेका छन् ।


माधव–नारायणका व्रतालु चाँगुनारायणमा

श्रीस्वस्थानी तथा माधव–नारायणका व्रतालुहरू परदेश यात्राअन्तर्गत साँखुबाट चाँगुनारायण मन्दिर आएका छन् । व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरु गर्छन् । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ ।


भोलिपल्ट चाँगुनारायण नजिकैको शंखदहमा स्नान तथा पूजाआजा गरी साँखु फर्कने परदेश यात्राको नियम छ । त्यसअघि पहिलो दिन शालीनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङग दण्डवत् गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति जाने चलन छ । पशुपतिबाट फर्पिङ बास हुन्छ ।


अर्को दिन फर्पिङबाट साँखु बास बस्ने श्रीमाधव–नारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका वरिष्ठ उपाध्यक्ष जीवनमान सिंहले बताए । माघ शुक्ल प्रतिपदामा यात्रा सकिन्छ । माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बस्ने परम्परा छ । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइन्छ । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन व्रतालुलाई खीर खुवाउने चलन समेत छ ।


स्वस्थानीका व्रतालु महिलाहरूले रातो र माधव–नारायणका पुरुष व्रतालुले सेतो वस्त्र मात्र लगाउनुपर्ने परम्परा छ । व्रतालुले एक महिनाभर नुन बार्ने र दूध, घिउ, चाकु, सुन्तलाजस्ता खानेकुरा मात्र खाने गर्दछन् । व्रतालुले मन्त्रोच्चारण गरी शंखजल ग्रहण गरेपछि कसैलाई छुन नहुने, जुत्ता लगाउन नहुने परम्परा छ । माधव–नारायणका व्रतालुहरू घस्रिँदै मन्दिरसम्म पुग्ने परम्परा छ ।


स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महिलाले एक महिनासम्म विधिपूर्वक श्रीस्वस्थानी माताको पूजा आराधना गरे श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।


व्रतालुहरूले माधव–नारायणको दर्शन गरेपछि श्रीस्वस्थानी व्रतको समेत पूर्ण फल प्राप्त हुने विश्वास छ । माघ शुक्ल एकादशीको साँझ मध्यपुरथिमिमा माधव–नारायण मेलाअन्तर्गत पुलुकिसी जात्रा मनाइएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?