डम्पिङ साइट हेर्न जाँदा डेढ लाखको खाजा–खाना

महानगरका अधिकारी अनुगमन भ्रमणका नाममा पटकपटक सिसडोल पुगे पनि उपलब्धि शून्य
कान्तिपुर संवाददाता

काठमाडौँ — फोहोरमैला व्यवस्थापनमा कुनै समस्या नआए पनि काठमाडौं महानगरपालिकाका कर्मचारी अनुगमनका नाममा पटक–पटक सिसडोलस्थित डम्पिङ साइट भ्रमण गर्ने गरेका छन् । यस्ता भ्रमणको उपलब्धि भने शून्य छ । 

डम्पिङ साइट हेर्न जाँदा डेढ लाखको खाजा–खाना

भ्रमणका क्रममा यो वर्ष मंसिरसम्म खाजा र खानामा मात्रै १ लाख ५५ हजार ५ सय रुपैयाँ खर्च भइसकेको छ । अघिल्लो वर्ष २ लाख ११ हजार ५ सय रुपैयाँ खर्च भएको थियो । यसमा इन्धन खर्च समावेश छैन । जाँदा–आउँदा महानगरकै सवारी प्रयोग हुने गरेको छ । इन्धन खर्च मेकानिकल शाखाले बेहोर्ने महानगरले जनाएको छ ।


कार्यभार सम्हालेको दुई महिनामा महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ मात्रै ५ पटक सिसडोल गइसकेका छन् । कहिले जनप्रतिनिधि त कहिले प्राविधिक टोली लिएर गएको उनले बताए । ‘म ४/५ चोटि गइसकेँ, मेयरज्यू पनि दुईपल्ट गइसक्नुभएको छ,’ उनले भने, ‘फिल्ड भिजिटमा गएका हौं ।’


विभागका पदाधिकारीसँगै वडा १२ का अध्यक्ष विकास डंगोलले अघिल्लो साता सिसडोलको अनुगमन भ्रमण गरे । टोलीमा महानगरका प्रवक्ता तथा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल पनि थिए । शपथ लिएयता उनी सिसडोल तथा बन्चरेडाँडा अनुगमन भ्रमणमा ३/४ पल्ट पुगिसकेको बताउँछन् । ‘त्यहाँ निरीक्षण भ्रमणमा गएका हौं, समस्या आउनासाथै दौडिनुपर्ने हुन्छ,’ प्रवक्ता डंगोलले भने, ‘त्यहाँबाट आएपछि वातावरण व्यवस्थापन समितिको बैठक बस्छ । हामीले त्यहाँ के देख्यौं, के हुनुपर्ने, के भएन सबै कुरा बैठकमा भन्नुपर्ने हुन्छ ।’ वर्षातको समयमा फोहोर ढुवानीमा समस्या आएको, गाडी बिग्रिएको जस्ता समस्याको समाधान खोज्न जानु परेको उनले बताए ।


विभाग प्रमुख श्रेष्ठले हरेक पटकको भ्रमणपछि प्रतिवेदन बुझाउने गरेको दाबी गरे । ‘सबै प्रतिवेदन वातावरण विभागमै कम्पाइल गरी राखिएको छ ।’ उनले भ्रमण क्रममा खासै खर्च नहुने र महानगरलाई जानकारी दिएरै जाने गरेको स्पष्ट पारे । महानगरका सहसचिव टोकराज पाण्डेले कर्मचारीले भ्रमण स्वीकृत गराउनुपर्ने भए पनि सामान्य अवलोकन भ्रमणको प्रतिवेदन पेस गर्नु अनिवार्य नरहेको बताए । ‘प्रवक्ताका रूपमा निरीक्षण भ्रमणमा गएको छु । समितिले भ्रमण भत्ता पाउँदैन ।’ उक्त क्षेत्रमा निर्माण कार्य भइरहेकाले पटक–पटक जानुपरेको उनले बताए ।


झन्डै ७ महिनाअघि उपमेयर हरिप्रभा खड्गीको संयोजकत्वमा गठित कार्यदलका सदस्यसमेत रहेका डंगोलले त्यस समयमा तत्कालको समस्या सुल्झाए पनि फेरि पटक–पटक जानुपर्ने अवस्था आएको बताए । ‘एम्बुलेन्स दिने, त्यहाँका बासिन्दालाई भत्ता दिनेजस्ता सहमतिपछि फोहोर फाल्न समस्या छैन, विभिन्न निर्माण कार्य चलिरहेकाले गइरहनुपर्छ,’ उनले भने ।


फोहोरमैलाको दीर्घकालीन समाधानका निम्ति बन्चरेडाँडासम्म पुग्ने १.९ किमि सडक र पूर्वाधार निर्माणका काम भइरहेको छ । सो काम सहरी विकास मन्त्रालयले गरिरहेको महानगरले जनाएको छ । प्रवक्ता डंगोलले भनेअनुसार भ्रमणपश्चात् समितिले वर्षातमा आउन सक्ने समस्या समाधानका लागि उपाय पहिल्याएको छ । उनले भने, ‘सडक विभागले बनाइरहेको सडक कसरी बन्दै छ । फोहोर पुर्न आवश्यक माटो निकाल्ने ठाउँमा अब अपर्याप्त भएकाले थप जग्गा लिनुपर्ने देखिएको छ । बर्खामा गाडीलाई माथिसम्म जान सक्ने बनाउन के गर्न सकिन्छ, त्यसको विकल्प हेरेका छौं ।’ चाँडै यस विषयमा निर्णय लिइने उनले जानकारी दिए । समयसमयमा ल्यान्डफिल साइटको अवलोकनका लागि गइरहनुपर्ने उनको भनाइ छ ।


प्रकाशित : फाल्गुन ६, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?