३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

वीरमा ४० करोडको टेमोथेरापी 

यो उपकरण जडानपछि क्यान्सरका बिरामीले विदेशमा दुई लाखसम्म तिर्नुपर्ने उपचार २० हजारमै हुने अस्पतालले जनाएको छ
फातिमा बानु

काठमाडौँ — वीर अस्पतालले क्यान्सररोग उपचारमा अत्याधुनिक टोमोथेरापी उपकरण भित्र्याएको छ । यससँगै बिरामीले रेडियोथेरापी सेवा लिन चार वर्षदेखि भोग्दै आएको सास्ती अन्त्य हुने भएको छ । 

वीरमा ४० करोडको टेमोथेरापी 

दुई दशक पुरानो कोबाल्ट रेडियोथेरापी उपकरण बिग्रिएर थन्किएको थियो । यहाँबाट बिरामी भक्तपुर र भरतपुर क्यान्सर अस्पतालमा रिफर हुँदै आइरहेका थिए । यी अस्पतालमा पनि रेडियोथेरापीका लागि महिनौं कुर्नुपर्दा निजी अस्पतालमा महँगो शुल्क तिर्नुपर्ने बाध्यता थियो ।


वीर अस्पतालका निमित्त निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतका अनुसार टेमोथेरापी उपकरण अहिलेसम्मकै नयाँ प्रविधियुक्त र गुणस्तरीय मानिएको छ । अमेरिकन एकुरे कम्पनीले बनाएको उपकरण ४० करोड रुपैयाँमा खरिद गरिएको हो । यसबाट दैनिक ७० बिरामीको रेडियोथेरापी गर्न मिल्ने र कम शुल्कमा गुणस्तरीय सेवा दिन सकिने अस्पतालले जनाएको छ । ‘क्यान्सरका बिरामीले घरखेत नै बेचेर उपचार गर्न नपरोस् भनेर उपकरणको मूल्यमा सम्झौता गरिएको छैन, कमभन्दा कम शुल्कमा बिरामीले उपचार पाउँछन्,’ बस्नेतले भने । विदेशमा दुई लाखसम्म तिर्नुपर्ने उपचार वीरमा २० हजारभित्रै हुने अस्पतालले जनाएको छ ।


अस्पतालका अनुसार पुरानो उपकरणबाट रेडियोथेरापी दिँदा क्यान्सरका कोषिकाका साथै शरीरमा भएका अन्य कोषिका पनि मर्थे । यो थेरापीले क्यान्सरका कोषिका मात्रै नष्ट गर्छ । थेरापीपछि बिरामीको शरीरमा कमजोरीपन आउँदैन । चाँडै निको हुन सघाउँछ । ‘बिग्रेको उपकरण हटाउन नसक्दा नयाँ मेसिन जडान गर्ने ठाउँ अभाव थियो,’ बस्नेतले भने, ‘पुरानो मेसिन क्यानडा लगेर विकिरणमुक्त बनाउने तयारी छ ।’ पुरानो उपकरण निकाल्नासाथ टोमोथेरापी जडान गरिने उनले बताए ।


अस्पतालको क्यान्सर विभागकी विशेषज्ञ डा. आरती शाहका अनुसार टोमोथेरापीले सिटिस्क्यान गर्दै थेरापी गर्न मिल्ने हुँदा उपचार सहज बन्छ । ‘क्यान्सरका सबै बिरामीको उपचार गर्न सक्ने आर्थिक अवस्था हुँदैन,’ उनले भनिन्, ‘सरकारी अस्पतालमै यस्ता उपकरण भए गरिबको पहुँचमा पुग्छ ।’


पुरानो उपकरणका हानिकारक विकिरण नष्ट गर्ने प्रक्रिया लामो भएकाले टोमोथेरापी जडान गर्न सकिएको थिएन । विशेषज्ञका अनुसार विकिरणयुक्त उपकरण खुला ठाउँमा राख्दा मान्छे र वनस्पतिलाई असर गर्छ । जमिनको उर्वराशक्ति नास्छ । कोबाल्ट रेडियोथेरापी व्यवस्थापनका लागि क्यानडाबाटै विशेषज्ञ र प्राविधिक टोली बोलाइएको छ । नेपालमा परमाणु ऐन नभएकाले यहाँ यस्ता विकिरण नष्ट गर्न मिल्दैन । यसका लािग अस्पतालले विज्ञान मन्त्रालय र आणविक अनुसन्धान केन्द्रसँग समन्वय गरेको बस्नेतले बताए । ‘विकिरणयुक्त यस्ता उपकरण अति संवेदनशील भएकाले जताततै यसको व्यवस्थापन सहज छैन, महँगो खर्चमा क्यानडाले नै नष्ट गर्छ,’ उनले भने ।


वीरमा वार्षिक १५ देखि २० हजार क्यान्सर बिरामी आउँछन् । तीमध्ये आधाजतिलाई रेडियोथेरापी आवश्यक पर्छ । नयाँ उपकरण चलाउन आवश्यक तालिम दिने कामसमेत सुरु गरिएको बस्नेतले बताए । ‘जनशक्तिलाई तालिम पनि कम्पनीले नै दिने हो, इन्जिनियर, प्राविधिक, डाक्टर र नर्स सबैलाई तालिमप्राप्त बनाएर काम सुरु हुन्छ,’ उनले भने ।


प्रकाशित : फाल्गुन ६, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?