विभिन्न अपराधका ९ अभियुक्त सार्वजनिक, फर्निचरबाट चोरेर काठ बिक्री

कान्तिपुर संवाददाता

भक्तपुर — महानगरीय प्रहरी वृत्त जगातीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न ९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले काठ चोरी र खरिद–बिक्रीमा संलग्न ४, अवैध लागूऔषध कारोबारमा संलग्न ४ र लुटपाटमा संलग्न १ गरी ९ जनालाई सार्वजनिक गरेको हो । 

वृत्त प्रमुख डीएसपी शिशु शर्माका अनुसार चोरी गरी ल्याइएका काठ ओसारपसारमा प्रयोग गरिएको बा४ख ३५९३ नम्बरको ट्रकसहित ४ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ट्रकचालक रामेछाप, गेलुका राजन नेपाली, फर्पुका मोहनलाल तामाङ, चोरीको काठ खरिद–बिक्री गर्ने बालकोटस्थित जय माँ दुर्गा काठ फर्निचर सञ्चालक रामविनय ठाकुर र श्रीराम काठ फर्निचर सञ्चालक हरिगोविन्द श्रेष्ठ छन् । उनीहरूका साथबाट भक्तपुर ९ स्थित निर्माणाधीन बहुउद्देश्यीय भवन र देगइना काठ फर्निचरबाट चोरी गरी ल्याइएको ४४ थान (३७.४४८ क्यु फिट) सालको चिरान काठ बरामद गरिएको छ । त्यस्तै, भक्तपुर ९ लिवालीस्थित सनम कोजुले सञ्चालन गरेको सूर्य काठ फर्निचरबाट चोरेर जय माँ दुर्गा फर्निचरमा बिक्री गरिएको ३ थान, श्रीराम फर्निचरबाट १६ थान गरी १९ थान (२२ क्यु फिट) सालको चिरान काठ बरामद भएको डीएसपी शर्माले बताए ।


त्यसैगरी, प्रहरीले अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका ८ जगातीमा चेकजाँचका क्रममा इटहरीबाट आएको बा५ख १०६४ नम्बर माइक्रो बसको छतमा कार्टुनमा प्याक गरी लुकाइएको ९९ बोतल डाइलेक्स–डीसी (१०० एमएल) नामक लागूऔषधसहित चालक र सहचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा माइक्रो चालक काभ्रे पनौतीका अजय परियार, सहचालक रमेश परियार, लागूऔषध ओसारपसारमा संलग्न मकवानपुरका रमेश दाहाल र सप्तरीका सलमान मिया छन् । २ जना फरार रहेको भक्तपुरप्रहरी प्रमुख एसपी हिमालयकुमार श्रेष्ठले बताए ।


प्रहरीले लागूऔषध ओसारपसारमा प्रयोग गरिएको बा५ख १०६४ नम्बर माइक्रो बस, मियाले प्रयोग गर्ने गरेको प्रदेश ३/००१ प ६५५४ नम्बर मोटरसाइकल, डाइलेक्स–डीसी (१०० एमएल) १ सय ७१ थान र नेट्राभेट–१० नामक ट्याबलेट १ हजार २ सय ७५ थान लागूऔषध बरामद गरिएको छ ।


त्यस्तै, सडकमा हिँडिरहेकालाई लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे, तिमालका अविरल तामाङ पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनको साथबाट प्रहरीले बा६८प ८८९८ नम्बरको स्कुटर, मोबाइल एक थान, ४ हजार ५० रुपैयाँ नगद, चोरीमा प्रयोग गरिएका औजार ३ थान, विभिन्न बैंकका एटीएम कार्डलगायत बरामद गरिएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?