२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

आदेश अटेर गरी भवन निर्माण

कान्तिपुर संवाददाता

काठमाडौँ — हनुमानढोका दरबार परिसरमा निर्माणाधीन महर्जन बिजनेस एसोसिएटसले सर्वोच्च अदालतको आदेश अटेर गर्दै तला थप्न लागेको छ । सर्वोच्चले विश्वसम्पदा क्षेत्रको ‘बफर जोन’ मा निर्माणाधीन भवन ३५ फिटभन्दा अग्लो नबनाउन आदेश दिएको थियो ।

आदेश अटेर गरी भवन निर्माण

न्यायाधीशहरू तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुस ९ गते एसोसिएटलाई दिएको आदेशमा भवन ३५ फिटभन्दा अग्लो नबनाउन र कुमारीको मूर्ति यथास्थानमा पुन:स्थापना गर्न भनिएको थियो । एसोसिएटसका प्रमुख कृष्णलाल महर्जनले महानगरपालिकाबाट चार तला बनाउन नक्सापास गरिसकेकाले त्यसैअनुसार तला थप्न लागेको दाबी गरेका छन् । भवनको उचाइ तीन तला बनाउँदा नै ३२ फिट पुगिसकेको छ । अब तला थप्दा ४२ फिट पुग्छ । भवन निर्माण मापदण्डअनुसार संरक्षित स्मारक क्षेत्रको उचाइ हरेक तलामा ७ देखि ८ फिटसम्म हुनुपर्छ । यो मादपण्ड एसोसिएटसले पहिल्यै मिचेको जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्राविधिक टोलीले दिएको प्रतिवेदनमा उल्लेख छ ।


तला नथप्न पुरातत्त्व विभाग र जिल्ला प्रशासन कार्यालयले दिएको लिखित निर्देशन पनि एसोसिएटसले अवज्ञा गरिरहेको छ ।


सर्वाेच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले फैसला आइनसकेको जानकारी दिएको छ । ‘फैसला आइपुगेको छैन,’ निर्देशनालयका महानिर्देशक हरिराज कार्कीले भने, ‘बुझेर कारबाहीका लागि पत्राचार गर्छाैं ।’ विश्व सम्पदा क्षेत्रमा गैरकानुनी निर्माण हुँदा सम्पदा सूचीबाट हटने खतरा भएको भन्दै संरक्षणविदले चिन्ता जाहेर गरेका छन् । ‘अस्ट्रियाको भियनामा तोकिएको उचाइभन्दा बढी उचाइको व्यापारिक भवन बनाउँदा भियनालाई खतराको सूचीमा राखिएको छ,’ युनेस्कोको सल्लाहकार संस्था इकोमस नेपालका अध्यक्ष काई वाई जे भन्छन्, ‘त्यही खतरा यो व्यापारिक कम्प्लेक्सले गर्दा पनि देखियो । यसलाई सच्याइएन भने भोलिका दिनमा भियनाको नियति बेहोर्नुपर्छ ।’

प्रकाशित : फाल्गुन ६, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?