२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

पुनर्निर्माण गर्न जयवागेश्वरी भत्काइँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — भूकम्पले क्षतिग्रस्त विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनर्निर्माणका लागि जीर्ण भवन भत्काउने प्रक्रिया सुरु गरिएको छ ।

पुनर्निर्माण गर्न जयवागेश्वरी भत्काइँदै

फागुन २ गते जीर्ण मन्दिर भत्काउन क्षमा पूजा गरियो । क्षमा पूजापछि जस्ताले बार लगाई जीर्ण मन्दिरका संरचना निकाल्न लागिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले जानकारी दिए । भत्काउनुअघि, पुनर्निर्माण सुरु गर्नुअघि र सम्पन्न भएपछि तान्त्रिक विधिअनुसार साइत निकालेर क्षमा पूजा गरिने उनले बताए । २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले मन्दिरको गजुर भत्किएको थियो । अन्य भाग पनि चिराचिरा परेर जीर्ण बनेको थियो । टुँडालहरू खस्न थालेका थिए ।


क्षतिग्रस्त मन्दिर पुनर्निर्माणका लागि कोषले भूकम्पको एक महिना पनि नबित्दै जेठ ४ गते एडभेन्चर टुर एन्ड ट्राभलका सञ्चालक कल्याण शर्मालाई पुनर्निर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो । शर्माले पुनर्निर्माणको काम सुरु गर्न नसकेपछि गत वर्ष सम्झौता रद्द भयो । कोषले गत माघ २ गते बुधबार तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनर्निर्माण सक्ने गरी सम्झौता गरेको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए । ‘तीन करोड १४ लाखमा मन्दिर पुनर्निर्माण हुन्छ, पुरानै प्रकारका निर्माण सामग्री प्रयोग गरी मन्दिर बनाइनेछ, विश्वसम्पदा सूचीमा सूचीकृतस्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐनअनुसार मन्दिर बन्छ,’ उनले भने ।


भूकम्पले मन्दिर भत्किएलगत्तै पुनर्निर्माणका लागि निवेदन दर्ता गराएका शर्माले सुरुमा पुरातत्त्वले नक्सा र डिजाइन स्वीकृत गर्न समय लगाएको र स्वीकृत भएर पुनर्निर्माण सुरु गर्दा स्थानीयवासीले अवरोध गरेकाले पछि हटन बाध्य भएको बताए । ‘विभागले नक्सा स्वीकृत गर्न डेढ वर्ष लगायो, विभागले दिएको स्वीकृति फेरि कोषले स्वीकार गरेन,’ उनले भने, ‘मैले भत्किएको सम्पदा पुनर्निर्माणमा केही सहयोग गर्न सकिन्छ कि भनेर प्रयास गरेको हुँ । यस क्रममा विभाग, विश्व सम्पदा र स्थानीयवासीको फरक–फरक इच्छा भएर काममा अप्ठ्यारो भयो ।’


भूकम्पको चार वर्ष हुन लाग्दासम्म पनि जयवागेश्वरी मन्दिरको छानो पालले ढाकिएको थियो । टुँडाल र इँटा झर्न थालेका थिए । चारैतिर चर्किएर प्वाल परेको मन्दिर जीर्ण अवस्थामा थियो । उपत्यकामा मेलम्चीको पानी वितरणका लागि ठूला पाइप बिच्छयाउन सडक खन्दा मन्दिरमा थप क्षति पुगेको छ । सतीप्रथा रहेका बेला राजा–महाराजाको निधनमा सती जाने रानीहरूको गरगहना सबै जयवागेश्वरीलाई चढाउने गरिएको किंवदन्ती छ । चढाइएको गरगहनालगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव गोविन्द टन्डनले बताए ।


प्रकाशित : फाल्गुन ६, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?