आगो निभाउनै गाह्रो

शिल्पा कर्ण

काठमाडौँ — २० वर्षदेखि दमकल चलाइरहेका छन् राजेन्द्रबहादुर श्रेष्ठ । काठमाडौं महानगरपालिकाअन्तर्गतको जुद्ध वारुण यन्त्रमा उनी काम गर्छन् । पहिलेभन्दा उपत्यकामा आगलागी घटना बढिरहेको उनको अनुभव छ ।

आगो निभाउनै गाह्रो

विद्युतीय सामग्रीको बढ्दो प्रयोग, खाना पकाउने ग्यासको हेलचेक्रयाइँ जस्ता कारणले आगालागी बढिरहेका छन् । त्यसै अनुसार वारुण यन्त्रले नयाँ उपकरण थप्ने, जनशक्ति बढाउने जस्ता काम पनि गरिरहेको छ । तर सडक जामले उनीजस्ता चालकलाई समस्या निम्त्याउने गरेको उनी बताउँछन् ।

हिजोआज साइरनको आवाज सुन्दा पनि साइड नदिने सवारीचालकको व्यवहारले अग्नि नियन्त्रणमा अवरोध पुग्ने उनको भनाइ छ । ‘दमकलको साइरन सुन्नेबित्तिकै झन् अब जाम खुल्ने भयो भनेर अगाडिअगाडि कुदाउँछन्,’ उनले भने, ‘बाटोको जाम सधैं उस्तै । बिहान–बेलुका आगो लाग्यो भने त घटनास्थलमा पुग्न झनै गाह्रो । तर ट्राफिकले सहयोग गरेकै हुन्छ ।’

सडकमा मात्र होइन, आगो निभाउने स्थानमा पुग्दा कुटपिट र ढुंगामुढाको सिकार हुनुपरेको अनुभव छ उनको । जेठ अन्तिममा जडिबुटीमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भयो । स्थानीयले टिपरमा आगो लगाइदिए । आगो नियन्त्रणमा लिन पुगेको वारुण यन्त्रमाथि ढुंगामुढा भयो, फायर फाइटरलाई आगो निभाउन नदिन सक्दो प्रयास गरियो । ‘तर यो पहिलो पल्ट होइन,’ श्रेष्ठले भने, ‘दुर्घटना गराएको गाडीमा आगो निभाउन जाँदा यस्तै अवस्था हुन्छ ।’

कहिलेकाहीँ ढिलो पुगेको भनेर दमकल चालकमाथि हातपात गर्ने गरेको तीतो अनुभव पनि छ । वसन्तपुरस्थित दमकल निस्किने बाटो सिधै न्युरोड गेट हुँदै रत्नपार्क वरपर हो । बसस्टप त्यहीँ भएकाले सवारी साधनको चाप सधैं नै धेरै हुन्छ । त्यहाँबाट गाडी निकाल्नै समय लाग्छ । यसले ढिला पुगिने गरेको फायर फाइटर बताउँछन् ।

आगलागी नियन्त्रण गर्ने जिम्मेवारी पाएका कर्मचारीले भोग्नुपरेको कठिनाइ अरू पनि छन् । सडकको जामले त समस्या दिन्छ नै सम्बद्ध सरकारी निकायबीच समन्वय नहुँदा फायर फाइटरलाई ज्यानकै जोखिम हुन्छ । केही दिनअघि यस्तै स्थितिको सामना गर्नुपर्‍यो ‘फायर फाइटर’ हरूले । हटलाइनमा महाराजगन्जमा अस्ट्रेलियन एम्बेसी अगाडिको एक स्टोरमा आगलागी भएको सूचना प्राप्त भयो ।

वारुण यन्त्र प्रमुख नगरकोटी, फायर कमान्डरहरू नरेशराज कुँवर, गगन गुरुङ, सशस्त्रका कमान्डर नरेश थापा, रामकुमार घिमिरे लगायतको टोली वारुणयन्त्रसहित घटनास्थलमा पुग्यो । असोज १३ गतेको यो घटनामा आगो निभाउन ३ वटा दमकल प्रयोग भयो । वारुणयन्त्र कार्यालयको तथ्यांक अनुसार साँझ ६ बजे आगो लागेको सूचना प्राप्त हुनासाथ १ मिनेट, ३० मिनेट र ४० मिनेटपछि गरी तीनै दमकल निस्किए ।

‘हामी आगो निभाउने कोसिसमा जतिसक्दो बढी पावरले पानी हानिरहेका थियौं,’ फायर कमान्डर रामकुमार घिमिरेले भने, ‘त्यत्तिकैमा डाङ डाङ पडकेको आवाज आयो । त्यहाँको विद्युत् तार बीचबाट चुँडिएको रहेछ । धन्न दमकल, घरको जस्ता वा भिजेको भुईं छोएन, तार आधामै झुन्डियो ।’ विद्युत् प्राधिकरणले अचानक उक्त क्षेत्रको तारमा विद्युत् प्रवाह गराइदिएकाले त्यो घटना भएको थियो । यदि त्यो तार चुँडिएर मान्छेलाई लागेको भए वा विद्युत्को सुचालक मानिने पानी, फलामको गाडीमा लागेको भए फायर फाइटर सहित धेरैको ज्यान जाने थियो ।

यस्ता संस्थासँग समन्वय नहुनुले अग्नि नियन्त्रणमा समस्या खडा गरेको बताउँछन् जुद्ध वरुण यन्त्र कार्यालय प्रमुख बद्रीमान नगरकोटी । ‘हाम्रोमा मिनेट मिनेटको महत्त्व हुन्छ । आगो नफैलियोस् र थप क्षति नहोस् भनेर आगो लागेको क्षेत्रमा विद्युत् प्रवाह रोकिदिन विद्युत् प्राधिकरणमा खबर गर्छौं ।’

केही अवस्थामा तुरुन्तै विद्युत् काटिन्छ भने कतिपटक चाहिँ ‘हामीलाई होइन, हाम्रा हाकिमलाई भन्नुस्, फलानालाई सोध्नुपर्छ, फलानो नम्बरमा कल गर्नुस्’ जस्ता जवाफ पाइने गरेको नगरकोटी सुनाउँछन् । यसैगरी सहायता गर्ने अन्य निकायहरूले पनि वारुण यन्त्र र पानी मात्र राख्ने नभई दक्ष र तालिमप्राप्त जनशक्ति राख्नुपर्ने उनको भनाइ छ । दक्ष र तालिमप्राप्त जनशक्ति नहुँदा आगो निभाउन सहयोग हुनुको सट्टा झन् क्षति हुन जान्छ ।

यस्तै अनुभव भोगेका छन् ३० पुग्न लागेका वीरेन्द्रबहादुर साउदले । सशस्त्र प्रहरीका उनी आगो नियन्त्रणका क्रममा दुर्घटनामा परेर बाँच्न सफल भए । २०६८ साल मंसिर अन्तिमतिर भोटाहिटीमा आगो लागेको खबर आयो । उनी सहितको टोली वारुण यन्त्र लिएर आगलागी भएको स्थानसम्म पुग्यो । महानगरपालिकाका प्रहरी सँगसँगै आगो निभाउन तयार टोलीमा थिए उनी पनि । भर्खरै २२ वर्ष पुगेका थिए उनी । पुरानो कच्ची घरमा लागेको आगो उनीसहित तीन जनाले निभाए । सबैले पानी फाल्दै थिए घरभित्र ।

त्यतिकैमा अर्को सरकारी सहायता निकायको दमकलले पनि बाहिरबाट पानी छ्याप्यो । ‘कस्तो ठाउँमा कति स्पीडमा पानी फाल्ने जानकारी सबैलाई हुन्न । तालिमप्राप्तले मात्र आगो लागेको ठाउँमा क्षति हेरेर पानी फाल्न सक्छ । त्यो बेला बाहिरबाट बेस्सरी फालेको पानीले त्यो घरको गारो भत्कियो,’ साउदले सम्झिए ।

त्यही बेला माथिको छत र छेउको पर्खाल भत्किएर उनकै हातमाथि पर्‍यो, दाहिने हत्केला छिनायो । एउटै कमान्ड नहुँदा वा फरकफरक संस्थाबाट गएकाबीच समन्वय नहुँदा दुर्घटना हुने गरेका छन् । धेरैपटक यस्ता ठूला सम्भावित जोखिम टरेका उदाहरण सुनाउँछन् उनीहरू ।

अहिलेलाई जामको समस्या हटाउन यसलाई विकेन्द्रित गर्नु प्रभावकारी हुने प्रमुख नगरकोटीको भनाइ छ । वसन्तपुरमा मुख्यालय राखी मीनभवनस्थित पुरानो ट्रलिबस स्टेसनमा एउटा, चप्पल कारखानामा एउटा र स्वयम्भू क्षेत्रमा एउटा दमकल राख्दा उपयुक्त हुने उनको भनाइ छ । ती क्षेत्र वरपर उक्त क्षेत्रकै दमकलले हेर्ने, आवश्यक परे अन्य पनि पुग्ने गरी ‘मोबाइल दमकल’ राख्ने मौखिक प्रस्ताव आफूले विभागमा राखेको उनले जानकारी दिए । ‘तर जनशक्ति अलिक बढी लाग्ने रहेछ । बिहानै आफ्नो ठाउँमा जाने बेलुका ८ बजेतिर फेरि वसन्तपुर फर्किने गरी राख्न सके हुन्थ्यो,’ उनले भने ।


दमकलमा ब्लफ कल

दमकलमा अधिकांश जानकारी प्रहरीमार्फत १०० नम्बरबाट आउने गर्छ । जबकि सीधै १०१ मा डायल गरेर अग्नि नियन्त्रण सहायता प्राप्त गर्न सकिन्छ । जुद्ध वारुण यन्त्रमा दिनको सयभन्दा बढी कल आउने कर्मचारी बताउँछन् । तर धेरैजसो जिस्किने र ब्लफ कल गर्ने गरेको उनीहरूको अनुभव छ । नगरकोटीका अनुसार ९० प्रतिशत भन्दा बढी कल अनावश्यक हुन्छन् । उनले भने, ‘महिलाहरू जिस्किन्छन् । चुप लागेर बस्ने, बच्चालाई फोन दिने, अनावश्यक कुराकानी र असम्बन्धित जानकारी माग्ने गर्छन् ।’

नम्बर डिस्प्लेका आधारमा हेर्दा ती नम्बर राजधानीका नभई निकै टाढाका जिल्लाका हुन्छन् । फेक कल गर्ने र ड्युटीमा रहेका फोन उठाउने प्रहरीसँग जिस्किनेमा धेरैजसो महिला हुने गरेका छन् । ‘हामी फोन उठाउँदा परिचय मागेर कहाँ के भयो भनेर सोध्छौं । उल्टै हामीलाई नै तपाईंलाई गफ गर्न मन लाग्या छैन भन्दै सोध्छन् । थरीथरी गफ गर्छन्,’ एक नगर प्रहरीले भने । प्रहरीकहाँ यसको गुनासो गर्दा पनि वास्ता नगरेको उनीहरूको भनाइ छ ।

प्रमुख नगरकोटीले भने, ‘‘मैले एक कार्यक्रममा कारबाहीको कुरा गर्दा प्रहरीबाट ‘हाम्रो नम्बरमा पनि आउँछन् । हामी सहन्छौं, तपाईंहरू पनि त्यसै गर्नुस्’ भन्ने जवाफ पाएँ ।’’ प्रहरीले लिखित रूपमा उजुरी गर्न भन्ने गरेको उनले सुनाए । नेपाल टेलिकमसँग पनि सहकार्य गरी त्यस्ता ब्लफ कल गर्नेको नम्बर केही दिन बन्द गराइदिन पाए चेत्थे कि भन्ने लाग्छ उनलाई ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?