मोबाइलमा झुन्डिँदा...

फातिमा बानु

काठमाडौँ — इमाडोलकी ५ वर्षीया ओजस्वी शाक्यको जतिखेर पनि मोबाइल चलाउने बानी छ । खाना खाँदा, आराम गर्दा जतिखेर पनि उनलाई मोबाइल नै चाहिन्छ । मोबाइल बिना खाना खान पनि नमान्ने बानी बसेको उनी आमा सुष्मा शाक्यले बताइन् ।

उनले भनिन्, ‘गेम खेल्न, युट्युबमा भिडियो हेर्न उसलाई मोबाइल चाहिन्छ, मोबाइल पाएपछि स्कुलको होमवर्क गर्न पनि मान्दिन ।’ मोबाइल धेरै चलाएकै कारण उनका आँखा कमजोर भइसकेका छन् । कक्षाको बोर्डमा लेखिएका अक्षर समेत ठम्याउन नसकेपछि हाल उनी नियमित त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा उपचाररत छिन् । चिकित्सककले उनलाई पावरवाला चस्मा लगाउन सल्लाह दिएका छन् ।


उनी जस्तै काठमाडौंका ६ वर्षीय कृतिक सञ्जेल पनि धेरैबेर मोबाइल चलाएकै कारण आँखाको समस्या झेलिरहेका छन् । मोबाइलमा गेम खेलिरहने उनको बानी छ । आँखा लोलाइरहन्छन्, टाढाको वस्तु ठम्याउन मुस्किल छ । उनी पनि २ वर्षअघिदेखि आँखा अस्पतालमा उपचार गराइरहेका छन् ।


आजभोलि मोबाइल, ल्यापटप अभिन्न अंग जस्तै बनिरहेको छ । गेम खेल्ने, भिडियो हेर्ने र सामाजिक सञ्जाल चलाउने नाममा बाबालिकालाई यस्ता वस्तुको लत बसिसकेको छ । अभिभावकले पनि बालबालिकालाई भुलाउने बाटोका रूपमा मोबाइल नै खेलाउन दिन्छन् । यस्ता वस्तुमाथि नियन्त्रण हुन नसक्दा उनीहरू आँखा र गर्धन, टाउको र ढाड सम्बन्धी विभिन्न समस्या लिएर अस्पताल पुगिरहेका छन् ।


नेपालमा ग्याजेटले आँखामा निम्त्याउने समस्याबारे अध्ययन नभए पनि विश्वस्तरमा यो समस्याको रूपमा मानिएको छ । अमेरिकन एकेडेमी अफ अप्थामोजीको निर्देशिकामा बालबालिकाले दैनिक एक घण्टाभन्दा बढी ग्याजेट प्रयोग गर्न नहुने बनाए तापनि यो व्यवहारमा लागू छैन । जतिखेर पनि मोबाइलमा झुन्डिने लतका कारण अधिकांश बालबालिकामा आँखा सम्बन्धी समस्या धेरै देखिएको नेत्ररोग चिकित्सक बताउँछन् ।


बाल नेत्ररोग विशेषज्ञ डा. चन्द्रा गुरुङका अनुसार ग्याजेटमा झुन्डिरहँदा बालबालिकाको आँखामा गम्भीरखाले समस्या देखा पर्न सक्छन् । उनी भन्छिन्, ‘यस्ता विकिरणयुक्त वस्तुले बच्चाको दृष्टि क्षमता नै कमजोर गराइरहेको छ, एकातिर मात्रै उनीहरूको आँखाको ध्यान जाने हुँदा आँखा अल्छी बन्छ ।’ अधिकांश बालबालिकाको लामो समयसम्म आँखा अल्छी भएकै कारण डेढो हुने समस्या लिएर अस्पताल आउने गरेको उनले बताइन् । सामान्यतया आँखा अल्छी भएको बालबालिकाले महसुस गर्दैनन् ।

अभिभावकलाई पनि त्यति याद हुन सक्दैन । धेरैजसो बालबालिकाका आँखा सम्बन्धी समस्या विद्यालयबाट पहिचान हुने गरेका छन् । एकोहोरो मोबाइलमा मात्रै हेर्ने बानीले टाढाको वस्तु नदेख्ने, आँखाको ज्योति कम हुने समस्याबाट उनीहरू बढी ग्रसित भइरहेका छन् । डा. गुरुङ भन्छिन्, ‘बच्चाको आँखाको ज्योति विकास हुने समय नै जन्मेदेखि ८ वर्षसम्म हो, यही उमेरमा ज्योति कम हुने गरी मोबाइल चलाउने बानीले उनीहरूका आँखा जोखिममा परिरहेका छन् ।’


ज्योति विकास नभएका आँखा सुस्त हुँदै गएर सुधार हुन गाह्रो र दृष्टि कम हुँदै गएमा आँखा डेढो हुन सक्ने उनले बताइन् । त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा दैनिक ३० देखि ५० बालबालिका रिफ्लेक्सन (अल्छी आँखा) सम्बन्धी समस्या लिएर आउने गरेका छन् । अधिकांश चस्मा लगाउनुपर्ने अवस्थामा पुग्ने गरेका छन् ।


बढी मोबाइल चलाएकै कारण उनीहरू आँखाको एलर्जी, झिम्क्याइ कम जस्ता समस्या पनि उत्तिकै देखिएका छन् । तिलगंगा आँखा अस्पतालमा बालबालिका आँखा सुक्खा हुने, पोल्ने, चिलाउने, रातो हुने पनि जस्ता समस्या लिएर आइरहेका हुन्छन् ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?