कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

जोशीको नाममा महोत्सव हुने

कान्तिपुर संवाददाता

ललितपुर — वाङ्मय शताब्दीपुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी तिथिअनुसार ०७६ वैशाख ३० मा ९९ वर्ष पूरा भई सय वर्षमा प्रवेश गर्दै छन् ।

यस अवसरमा ललितपुर महानगरपालिकाले जोशीको नाममा एक वर्ष अवधिसम्म विविध कार्यक्रम गरेर जोशी शताब्दी जन्मोत्सव मनाउने तय गरेको छ । महोत्सवका लागि ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको संयोजकत्वमा १ सय ११ सदस्यीय मूल समिति र ललितपुर महानगरपालिका– ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनको संयोजकत्वमा १५ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ ।


समितिले बुधबार ०७६ वैशाखदेखि ०७७ वैशाखसम्म मनाउने महोत्सव अवधिभित्रमा सरकारसँग समन्वय गरेर जोशीको भाषा र तस्बिर अंकित हुलाक टिकट प्रकाशन र स्वर्ण मुद्रा निष्काशन गर्ने सार्वजनिक गरेको छ ।


यो अवधिमा जोशीले लेखेको अशोक सम्राटकी छोरी चारुमती ब्याली प्रदर्शन गर्ने, जोशीको प्रतिमा राख्ने, महानगरपालिकाको कुनै मार्गलाई जोशीको नाममा नामकरण, उपयुक्त स्थानमा प्रतिमासहितको पार्क निर्माण गर्ने समितिको योजना छ ।


ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले वैशाख ३० मा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जोशीको नगरफरिक्रममा गराई बार्षिक कार्यत्रमको शुभारम्भ गर्ने योजना रहेको बताए । ‘जोशीलाई हेलिकप्टरमार्फत मेडिकल टिमसहित गोसाइँकुण्ड तीर्थ भ्रमणमा लैजान पनि छलफल भइरहेको छ,’ उनले भने, ‘किनकि जोशीका गोसाइँकुण्ड तीर्थसम्बन्धी धेरै लेख छन् ।’


महोत्सवमा जोशीबारे विषेश स्मारिका प्रकाशन, अरनिको र जोशीको समन्वयबारे आर्ट प्रदर्शन, नेवार संस्कृति, चाडपर्वको महत्त्व, विशेषता र आश्यकताबारे प्रत्येक महिना जोशीबाट प्रवचन गर्न लगाई लिपिवद्ध गर्ने उल्लेख छ ।


वाङ्मय क्षेत्रमा योगदान पुर्‍याउनेलाई सत्यमोहन जोशी सम्मान पदक प्रदान, जोशीको दिनचर्या समेटिएर अडियो/भिडियो प्रकाशन, पिम्बहाल पोखरीमा मल्लकालीन सांस्कृतिक साँझ, जोशी प्रतिष्ठान एवं अध्ययन केन्द्र स्थापना र जोशीबाट पाटन दरवार क्षेत्रको भण्डारखाल बगैँचाको शिलान्यास गराई यथासिघ्र निर्माण सम्पन्न गरि उनकै हातबाट उद्घाटन गराउने महनगरको योजना छ । अहिले ऐतिहासिक पुरात्तात्विक महत्वको दरवारको बगैचा लथालिंग अवस्थामा छ ।


महानगरका मेयर महर्जनले यी योजना प्रारम्भिक प्रस्तावना भएको बताए । ‘यसमा विस्तृत गृहकार्य गरेर अगाडी बढ्नुपर्ने खाँचो छ,’ उनले भने, ‘योजना कार्यान्वयकोक्रममा हुने खर्च महानगरले व्यर्होनेछ ।’ उनले सहयोगी दाताबाट पनि खोजी गरिने बताए । ‘अरुबाट आर्थिक सहयोग लिँदा महानगर र जोशीको व्यक्तित्वमा नकारात्मक असर गर्न जान सक्ने भएकाले सजग रहनेछ,’ उनले भने ।


कार्यसम्पादन समितिका संयोजक श्रीगोपाल महर्जनले सिंगो राष्ट्रले मानेका जोशीको जन्मदिन ललितपुरवासीलाई अझ महत्वको दिन हुने बताए । पुल्चोकमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित स्थानीयले पाठ्यक्रममा जोशीको जीवनी समावेश, अप्रकाशित कृति र नाटक प्रकाशन, जोशीको ललितपुरलाई सांस्कृतिक नगरी बनाउने सपना पुरा गर्नुपर्नेमा जोड दिएका छन् ।


स्थानीय सुरेन्द्रमोहन जोशीले जोशीको योगदान नयाँ पुस्ताले बुझ्ने र सोचको कार्यान्वयन गराउन सकेमा मात्र उनीप्रति सच्चा सम्मान हुने बताए । मेयर महर्जनले जोशीको जीवनी स्थानीय पाठ्यक्रममा राख्ने, जोशीको अप्रकाशित कृति प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि महानगरले जोशीको सम्मान स्वरुप सुरक्षा गार्ड र गाडीको सुविधा दिएको थियो ।


उनी १९७७ मा बुवा शंकरदास र आमा राजकुमारीको कोखबाट पाटनमा जम्मिएका हुन् । उनले हाम्रो लोकसंस्कृतिका लागि पहिलो पटक २०१३, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रो पटक २०१७ र कर्णाली लोकसंस्कृति नामक ग्रन्थको लागि २०२८ मा पदन पुरस्कार प्राप्त गरेका थिए ।

प्रकाशित : फाल्गुन ९, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?