कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बन्ने भयो ख्वपः अस्पताल

सरकारले २५ शय्याको अस्पताल बनाउन स्वीकृति दिए पनि नगरपालिकाले १ सय शय्या क्षमताको निर्माण गर्न लागेको हो
कान्तिपुर संवाददाता

भक्तपुर — भक्तपुर नगरपालिकाले ख्वपः अस्पतालको भवन निर्माण सुरु गरेको छ । च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रसँगै ख्वपः अस्पताल भवनको शिलान्यास नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले गरेका हुन् ।

ख्वपः अस्पतालको शिलान्यास गर्दै अध्यक्ष बिजुक्छेंले पैसा कमाउने उद्देश्यभन्दा सेवाभावले काम गर्न अभिप्रेरित हुनुपर्नेमा जोड दिँदै भक्तपुर अस्पतालको स्तरोन्नति हुन नसक्नुमा सरकार जिम्मेवार भएको बताए ।


सरकारको स्वीकृतिबमोजिम २५ शय्याको ख्वपः अस्पताल निर्माणका लागि नगरपालिकाले चालू आर्थिक वर्ष ०७५/७६ मा १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख सुनील प्रजापतीले बताए । सरकारले हाल २५ शय्या क्षमताको अस्पताल निर्माणको स्वीकृति दिए पनि नगरपालिकाले १०० शय्या क्षमताको भवन निर्माण गर्न लागेको जनाएको छ । ‘नगरपालिकाले दिगो लक्ष्यका साथ पर्याप्त भवनको योजना बनाएको छ,’ उनले भने, ‘पछि शय्या थप्न मिल्नेगरी पाँचतले भवनको डिजाइन गरेको छ ।’


करिब १० रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको ख्वपः अस्पतालमा आकस्मिक सेवा, एक्स–रे, सिटीस्क्यान, अल्ट्रासाउन्ड, एमआरआई, प्याथोलजी प्रयोगशाला, प्रसूति सेवा विभाग, शल्यक्रिया विभाग, सघन उपचार विभाग सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । त्यस्तै, शवगृह, बैठककक्ष, १ सय ५० जना क्षमताको सभाकक्ष, बेसमेन्ट पार्किङ बनाइने नगरप्रमुख श्रेष्ठले बताए ।


पाँचतले अस्पताल भवन निर्माणका लागि ३९ करोड लागत इस्टमेट डिजाइन तयार भएको नगरपालिकाको भनाइ छ । उक्त अस्पताल भवन नगरपालिकाले कुनै ठेक्का प्रक्रियाबाट नभई अमानतमा बनाउन लागेको ख्वपः अस्पताल निर्माण समिति सदस्य भक्तपुर नगरपालिका ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताए । यसअघि नगरपालिकाले तीन स्थानमा जनस्वास्थ्य केन्द्र सञ्चालन गर्दै आएको छ ।


भक्तपुर नगरपालिका ९ च्याम्हासिंहस्थित ८ शय्याको आकस्मिक कक्षसहितको जनस्वास्थ्य केन्द्र सञ्चालित छ भने भगवतीस्थान र ब्यासीमा केन्द्र सञ्चालित छ । च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा स्त्री, बाल, हाडजोर्नीर्, दन्त, आँखा, चर्मरोग, छाला, नाक/कान/घाँटी, मानसिक रोग सेवा सञ्चालित छन् भने, फिजियोथेरापी, ल्याब, अल्ट्रासाउन्ड, एक्स–रे सेवा सुविधा भएको ज्याख्वले बताए ।


दैनिक ३० नियमित र १६ विशेषज्ञ डाक्टरले ओपीडी सेवा सञ्चालन गर्दै आएको जनाएको छ । जनस्वास्थ्य केन्द्रबाट दैनिक तीन सयभन्दा बढी बिरामीले स्वास्थ्य सेवा पाउँदै आएका छन् । ८ शय्याको आकस्मिक कक्ष सञ्चालन भएपछि काभ्रेदेखिका बिरामी जनस्वास्थ्य केन्द्रमा उपचार गर्न आउने नगरपालिकाले जनाएको छ ।


त्यसैगरी, जापानी चिकित्सकको सहकार्यमा नगरपालिकाले ख्वपः अस्पताल निर्माण स्थलको उत्तरतर्फ छाती पुनर्स्थापना केन्द्र सञ्चालन तयारी गरेको छ । दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका लागि छाती पुनर्स्थापना केन्द्र स्थापना गरिने ज्याख्वले बताए । गत आर्थिक वर्षदेखि भक्तपुर नगरपालिकाले १० वटै वडामा घरघरमा नर्सिङ सेवा सञ्चालन गर्दै आएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?