२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सहरभित्रका पेट्रोल पम्प हटाइँदै

अधिकांश पम्प मापदण्डविपरीत 
सवारी व्यवस्थापन र पैदलयात्रीलाई समस्या
आगलागी भएको ठूलो जनधन क्षति हुन सक्ने जोखिम
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न समस्या परेपछि सहरभित्रका पेट्रोल पम्पलाई हटाउने तयारी गरेको छ । पेट्रोल पम्पले गर्दा सहरभित्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै सरकारले उक्त तयारी गरेको हो ।

सहरभित्रका पेट्रोल पम्प हटाइँदै

काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी, सडक विभाग र आयल निगमले सडक छेउछाउका पेट्रोल पम्प हटाउने तयारी गरेका हुन् ।

त्यसका लागि महानगर सहरी सुव्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरको संयोजकत्वमा ५ सदस्यीय टोली गठन गरेको छ । टोलीलाई १५ दिन सहरभित्रका सम्पूर्ण पम्पको अध्ययन गरी पठाउन कार्यादेश दिएको छ । टोलीमा सडक विभाग, ट्राफिक प्रहरी र आयल निगमका प्रतिनिधि सहभागी रहेको उनले जानकारी दिए ।

‘चाँडो प्रतिवेदन बुझाउँछौं, सुरक्षा र ट्राफिक व्यवस्थापनका हिसाबले चाँडो हटाउनुपर्ने पेट्रोल पम्पलाई हटाउँछौं’ महानगर सहरी सुव्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरले भने, ‘अब मापदण्डविपरीत सञ्चालनमा नहरेका सबै पेट्रोल पम्पलाई विस्थापित गर्छौं ।’

अधिकांश पेट्रोल पम्प मापदण्डविपरीत रहेको भन्दै उनले त्यसले गर्दा ट्राफिकलाई सवारी व्यवस्थापन गर्न र पैदलयात्रीलाई हिँडन समस्या परेको बताए । सहरको बीचमा पम्प हुँदा आगलागीको समेत जोखिम हुने भएकाले मानवबस्तीभन्दा टाढा राख्न पर्ने उनले बताए । केही पेट्रोल पम्प फुटपाथमै राखिएकाले त्यसबाट पैदलयात्रीलाई हिँडन अप्ठेरो भएको उनले बताए ।

‘सडकमै पम्प राखिएका छन्,’ उनले भने, ‘पेट्रोल भर्दा लाइनमा राखिन्छ, जाम हुन्छ, त्यसकारण हटाउनैपर्छ ।’ अब नयाँ हुने पेट्रोल पम्पमा शौचालय र कफी पसल व्यवस्था हुनुपर्ने उनले बताए । करिब ३५ देखि ४० पेट्रोल पम्पलाई तत्काल नयाँ स्थानमा स्थानान्तरण गर्नुपर्ने भन्दै उनले त्यसका लागि सबै निकायसँग छलफल गरिने बताए ।

धेरैजसो पम्प आयल निगमको मापदण्डमा समेत नपरेको भन्दै उनले बृहत् रूपमा छलफल गरेर हटाइने बताए । उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले सडक छेउका पेट्रोल पम्पले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या भएको बताए । ‘पेट्रोल भर्ने गाडीका लाइनले सडक अस्तव्यस्त हुन्छ,’ उनले भने, ‘त्यसका लागि सरोकारवाला निकायले पहल गर्नैपर्छ, पिक आवरमा एकदमै कठिन हुन्छ ।’

ट्राफिक लाइट नहुँदा समस्या भएको भन्दै उनले सडक छेउका पम्पले झनै कठिन भएको बताए । सडक विभाग ट्राफिक महाशाखा प्रमुख दीप बराहीले २०५४ सालअघि राखिएका पम्प हटाउन कानुनी जटिलता भएको बताए । ०५४ पछि स्थापना भएकाले पम्पलाई हटाउन ग्राहो नभएको भन्दै उनले आयल निगमबाट तथ्यांक संकलन भइरहेको बताए ।

‘२०५४ अघि सवारी संख्या न्यून थियो, त्यसकारण सडक छेउमा पम्प राखिए । अहिले सवारीको संख्या बढ्यो अब जटिलता देखियो,’ उनले भने, ‘अब सुरक्षा हिसाबले हटाउनैपर्छ, किनभने मानवबस्तीबाट अलि टाढै राख्नुपर्छ ।’ राजधानीमा १० लाखभन्दा बढी सवारीसाधन भएकाले सहरभित्रका पम्पको व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?