कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाट्यश्वरी पार्क बन्ने

कान्तिपुर संवाददाता

भक्तपुर — मध्यपुरथिमि नगरपालिका–२ नाट्यश्वरीस्थित अत्याधुनिक अपाङ्गमैत्री नाट्यश्वरी पार्क बन्ने भएको छ । मध्यपुरथिमि नगरपालिका २ वडा कार्यालयले सुविधा सम्पन्न अपाङ्गमैत्री पार्क निर्माण तयारी गरेको वडाध्यक्ष राम थापामगरले बताए ।

समुदायलाई समेट्ने गरी करिब १० रोपनी क्षेत्रफलमा फूलबारी सहितको भ्यू–टावर, सत्तल, पार्किङ्ग, चिड्रलेन पार्क, रक क्लाईविङ्ग, वाटर फललगायत संरचना निर्माणका लागि डिजाईन तयार गरिसकेको उनले बताए ।


पार्कमा सत्तल निर्माणका लागि ३६ लाख ६५ हजार रुपैयाँ, पार्किङ्ग सहितको सामाजिक भवन निर्माणका लागि ५१ लाख ९५ हजार रुपैयाँ, भ्यू–टावर निर्माण गर्न ७१ लाख २७ हजार, शौचालय निर्माणका लागि २५ हजार ४७ हजार, ल्याण्डस्केपका लागि १ करोड ९४ लाख ३७ हजार रुपैयाँ गरी करसहित करिब ४ करोड २९ लाख रुपैयाँ लागत इष्टमेट तयार गरेको वडा कार्यालयले जनाएको छ । पार्क निर्माणका लागि स्थानीयबासिन्दा, नगरपालिकासँग छलफल गरी उपभोक्ता समिति गठन प्रक्रियामा रहेको छ ।


मध्यपुरथिमि नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पार्क निर्माण अवधारणा अघि सारेको जनाएको छ । ध्वनि तथा वायु प्रदूषण पीडित उपत्यकावासीको गन्तव्य स्थलका रूपमा विकास गर्ने गरी पार्क निर्माणको डिजाइन गरेको वडाध्यक्ष थापामगरले बताए ।


पार्कभित्र ज्येष्ठ नागरिक आराम कक्ष, रेलिङसहितको अपाङ्गतामैत्री पदमार्ग, बालबालिका मनोरञ्जन क्षेत्र, एम्पिथिएटर, चिन्तन मनन बगैंचा, फूल बगैंचा, जगिङ्ग ट्रायल, सामुदायिक भवन एवं अन्तरक्रिया कक्ष, गार्ड कक्ष, बगैंचा सामानको भण्डारण कक्ष, शौचालय र खाजा/खाना खाने क्षेत्र र जनावरको पार्क भित्र प्रवेश रोक्नका लागि वरपर हरियो झाडीको छेकबारसहितको संरचना निर्माण गरिनेछ ।


त्यसैगरी, मध्यपुरथिमि नगरपालिकाले अपाङ्गमैत्री शंखधर पार्क निर्माण थालनी गरेको छ । नगरपालिकाले शंखधर चोक गुरुयोजना कार्यान्वयनका क्रममा अपाङ्गमैत्री पार्क बनाउन लागेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । मध्यपुरथिमिको मुख्य प्रवेशद्धार शंखधरचोकसँगैको भिरालो क्षेत्रलाई फुटपाथसहितको पार्क निर्माण बनाउन लागिएको हो ।


करिब १ सय ३० रोपनी क्षेत्रफलमा परम्परागत प्राचीन ढुङ्गेधारा तीनवटा, सिंढी, फुटपाथ, रेलिङ निर्माण गर्न लागेको नगरपालिकाले जनाएको छ । साविक इनार तथा कुवाको पानी ढुङ्गेधाराबाट आउने गरी निर्माण थालेको नगरप्रमुख श्रेष्ठले बताए । प्राविधिक रिपोर्टअनुसार पार्क निर्माण तथा सर्भेका लागि करिब ३ करोड रुपैयाँ लागत इष्टमेट तयार पारेको छ ।


नगरपालिकाले चालू आर्थिक वर्ष ०७५/७६ मा शंखधरचोक गुरुयोजना कार्यान्वयन शीर्षकमा ५० लाख रुपैयाँ र शंखधरचोक हनुमन्ते सडक सुधार शीर्षक गरी ५० लाख रुपैयाँ गरी १ करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?