देखिँदैनन् जेब्रा क्रसिङ 

उपत्यकाका सडकमा करिब ३ सय जेब्रा क्रसिङ छन् । तिनलाई समयमै ‘डेन्टिङ पेन्टिङ’ नगर्दा सडक दुर्घटना बढ्दै गएको छ 

काठमाडौँ — संघीय संसद् भवनको एक नम्बर गेटअगाडि जेब्रा क्रसिङको रङ उप्किएको ७ महिनाभन्दा बढी भइसक्यो । प्रत्येक दिन सांसद त्यही बाटो हुँदै संसद भवन छिर्छन् । तर जेब्रा क्रसिङमा रङ लगाउन कुनै निकायले चासो देखाएका छैनन् ।

देखिँदैनन् जेब्रा क्रसिङ 

सिंहदरबारको दक्षिण गेटअगाडि सडकको जेब्रा क्रसिङको हालत पनि उस्तै छ । रङ उप्केको एक वर्षभन्दा बढी बितिसकेको छ ।

उपत्यकाका सडकमा करिब ३ सय जेब्रा क्रसिङ छन् । तिनलाई समयमै ‘डेन्टिङ पेन्टिङ’ नगर्दा सडक दुर्घटना बढ्दै गएको छ ।

उपत्यका ट्राफिक महाशाखाका अनुसार आर्थिक वर्ष ०६९/७० देखि ०७५/७६ माघ मसान्तसम्मको सवारी दुर्घटनाको तथ्यांकलाई केलाउँदा सडक दुर्घटनामा मृत्यु हुनेमा पैदलयात्री बढी छन् । आव ०६९/७० को यो अवधिमा मृत्यु भएका १ सय ४८ जनामध्ये ६३ जना पैदलयात्री छन् ।

०७०/७१ मा १ सय ४३ जनामध्ये ५३ जनाको पैदल हिँडिराखेका बेला गाडीले ठक्कर दिएर मृत्यु भएको तथ्यांकमा उल्लेख छ । ०७१/७२ मा १ सय ३३ जनाको मृत्यु भएकामा ५७ जना पैदल यात्रु छन् । ०७२/ ७३ मा १ सय ६६ जनाको मृत्यु भएको थियो ।

तीमध्ये ६५ पैदल यात्रीको मृत्यु गाडीले ठक्कर दिएर भएको हो । ०७३/७४ मा १ सय ८२ जनाको सवारी दुर्घटनामा मृत्यु भएकोमा ७९ जना पैदल यात्री छन् । ०७४/७५ मा १ सय ९४ जनाको मृत्यु भएकामा ६३ जना र ०७५/७६ माघ मसान्तसम्म १ सय ५२ जनाको मृत्यु भएकामा ५४ जना पैदलयात्री छन् ।

उपत्यका ट्राफिक महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार सडक शिक्षाको कमी, कमजोर सडक संरचना, पैदल यात्रुमा जनचेतना अभाव र सवारी चालकको लापरबाहीले गर्दा पैदलयात्रीको मृत्यु हुने गरेको छ । ‘फुटपाथमा पसल, सवारी साधन पार्किङले गर्दा झन् समस्या बढेको छ,’ उनले भने, ‘त्यसले पैदलयात्रीलाई मुख्य सडकमा हिँड्न बाध्य गराउँछ, पैदलयात्रीलाई गाडीले ठक्कर दिन्छ, अनि मृत्यु हुन्छ ।’ जेब्रा क्रसिङमा चालक तथा पैदलयात्रीले लापरबाही गर्नु पनि मृत्युको कारण हुन सक्ने उनको भनाइ छ ।

जेब्रा क्रसिङ बनाउन विभागसँग बजेट हुन्छ । तिनीहरूमा नियमित रङ लगाउन ट्राफिक प्रहरीले पटकपटक आग्रह गर्दा पनि विभागले सुनुवाइ गरेको छैन । ‘यात्रुले जेब्रा क्रसिङ मेटिँदा जथाभावी बाटो काट्छन, जसले गर्दा उत्यकाका सडकमा दुर्घटना नभएको दिन हुँदैन,’ एक ट्राफिक अधिकृतले भने । जेब्रा क्रसिङ बनाउन सकिए दुर्घटनामा धेरै कमी आउने ट्राफिक प्रहरीको दाबी छ ।

सडक विभागका सूचना अधिकारी तथा सहायक प्रवक्ता अर्जुन सुवाल ठेक्काका आधारमा विभागले सडक चिह्न बनाउने गरेको बताउँछन् । ‘यो काम विभागकै हो,’ उनले भने, ‘जहाँ समस्या छ, त्यहाँ ठेक्का लगाएर काम सुरु हुँदै छ ।’

पछिल्लोपटक सडकमा व्यवस्थित ट्राफिक लाइट नहुँदा पनि दुर्घटना बढेको ट्राफिक महाशाखा प्रमुख पन्तले बताए । भएका संरचना पनि पैदल यात्रुले प्रयोग नगर्ने, सडकपेटीमा सावधानीपूर्वक नहिँड्ने कारणले पनि दुर्घटना हुने गरेको छ ।

पछिल्लो पटक मर्मत गरिएका ट्राफिक बत्तीले राम्रोसँग काम नगर्दा ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापनमा समस्या भइरहेको उनले बताए । ‘पुराना बत्ती मर्मत गरेर बनाइएको छ,’ उनले भने, ‘हामीसँग बजेट छैन, प्रहरी त कार्यान्वयन गर्ने निकाय हो, ट्राफिक बत्तीको संरचना नै निर्माण भएका छैनन् ।’ सडक संरचना निर्माणबारे सडक विभागसँग अनुरोध गरिएको उनले बताए । ‘विभिन्न समयमा अनुरोध गर्दै आएका छौं,’ उनले भने ।

सडक विभाग ट्राफिक महाशाखाका प्रमुख दीप बराहीले सडक संरचना निर्माण भइरहेको बताए । ‘सडक बत्ती जडान, सडक सुधारलगायतका काम भइरहेका छन्,’ उनले भने । पछिल्लो पटक उपत्यकाका १० स्थानमा ट्राफिक बत्ती जडान तथा मर्मत गरिएको उनले बताए । विभागका प्रवक्ता सुवालले जथाभावी सडकमा ढुंगा–गिट्टी थुपारिएर सडक साँघुरो भएको बताए ।

‘ढुंगा गिट्टी सडकमा राख्ने अनुमति हामी दिँदैनौं, तर जबरजस्ती कतैकतै राखिएको भेटिन्छ,’ उनले भने, ‘यसले गर्दा सडक साँघुरिएका छन्, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले यसमा कडाई गर्नु पर्ने हुन्छ ।’ उनका अनुसार विभागले सडक बनाउने र मर्मत गर्ने काम मात्र गर्छ ।

प्रकाशित : फाल्गुन १४, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?