३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चिकित्सक आन्दोलनमा हिँडेपछि बिरामीलाई झन् सास्ती

राजधानीका वीर, ट्रमा, कान्ति बाल, प्रसूति गृहसहित सरकारी अस्पतालका बिरामी अलपत्र
फातिमा बानु

काठमाडौँ — तीन सातादेखि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना भएकी हुन् सिन्धुपाल्चोककी ४० वर्षीया विष्णुकुमारी दाहाल । बुधबार बिहान शल्यक्रियाका लागि पालो आयो । चिकित्सकको सल्लाहअनुसार मंगलबार रातिदेखि नै भोकै बसिन् । कुरुवाले औषधि, रगत, स्टिललगायत शल्यक्रियाका लागि आवश्यक सबै सामान किनेर ठिक्क पारे ।

चिकित्सक आन्दोलनमा हिँडेपछि बिरामीलाई झन् सास्ती

बुधबार बिहानबाट चिकित्सक राउन्डमा समेत नआएपछि उनको उपचार रोकियो, शल्यक्रिया भएन । २२ दिन अगाडि घाँस झार्ने क्रममा रूखबाट लडेर मेरुदण्ड भाँचिएकीे उनी अस्पताल बसाइ अझै लम्बिने भयो भनेर चिन्तित देखिइन् । शल्यक्रिया गर्न ठिक्क पर्नु भनेर गएका चिकित्सक किन आएनन् उनलाई जानकारी छैन ।

‘योभन्दा पहिला पनि दुई पटक आमाको अप्रेसन क्यान्सिल भएको थियो,’ कुर्न बसेका छोरा रुपेश दाहालले भने, ‘शरीर कमजोर भएर अप्रेसन गर्न मिलेको थिएन ।’ यो पटक आमालाई कसोकसो अप्रेसन हुन सक्ने बनाएको थिएँ, डाक्टर नै आएनन् ।’ अब शल्यक्रिया कहिले हुन्छ, डाक्टर आइहाले पनि आमाको शरीरमा चिर्न सक्ने बल होला नहोला भन्ने चिन्तामा उनको दिन बित्यो ।

१६ दिनदेखि ट्रमा सेन्टरमा उपचारत सर्लाहीकी ३७ वर्षीया लताकुमारी पाख्रिनको पनि बुधबारकै लागि शल्यक्रिया तोकिएको थियो । घरको सिँढीबाट लडेर खुट्टा भाँचिएकी उनको तोकिएको दिन शल्यक्रिया भएन । सामान ठिक्क पारेर बसेका उनका बुवा फइनबहादुर लामाले भने, ‘अप्रेसन गर्ने भनेर अस्तिबाटै भोकै राखियो, भोकै बसेर सास्ती मात्रै भयो छोरीलाई ।’

चिकित्सक आउलान् र शल्यक्रिया गर्देलान् भनेर बुधबार साँझसम्म उनले छोरीलाई भोकै राखे । पानी मात्रै दिए । चिकित्सक नआएको झोकमा उनले अस्पताल प्रशासनसँग झगडासमेत गरे । ‘डाक्टर किन नआएको उहाँहरूलाई नै सोध्नुस्,’ भन्ने प्रशासनको जवाफबाट उनी निराश भए । ठूलो अस्पतालमा राम्रो उपचार हुन्छ भनेर सर्लाहीबाट आएका उनी राजधानी आएकोमा पश्चाताप गर्दै थिए ।

कर्मचारी समायोजन ऐन विभेदकारी भएको भन्दै सरकारी चिकित्सकले बुधबारदेखि आकस्मिकबाहेक सबै सेवा बहिस्कार गरेका हुन् । उनीहरू आन्दोलनमा हिँडेपछि राजधानीका सरकारी अस्पतालमा बिरामी अलपत्र परे । देशभरका १४ सय सरकारी चिकित्सक आन्दोलनमा उत्रिएपछि अस्पतालको सेवा प्रभावित बन्यो । ट्रमा सेन्टरमा बुधबार चिकित्सकले ओपीडी टिकट काउन्टर खोल्नै दिएनन् । दैनिक तीन सयको हाराहारीमा बिरामीको ओपीडी टिकट काटिने ट्रमा सेन्टरमा बुधबार एउटा पनि काटिएन ।

फलोअपमा आएका बिरामीले पनि सेवा पाएनन् । फलोअपमा पनि आकस्मिक अवस्थामा आएका बिरामीलाई अस्पतालले टिकट नै नकाटी उपचार गरेर पठायो । ओपीडीका बिरामी पनि थपिएपछि आकस्मिक कक्ष खचाखच देखिएको थियो । ट्रमा सेन्टरमा अधिकांश चिकित्सक सरकारी सेवाकै छन् । सेवा गर्न नमानेपछि उनीहरूको आन्दोनलाई समर्थन गर्ने भन्दै करार र रेसिडेन्ट चिकित्सकले पनि काम गर्न मानेनन् । ट्रमा सेन्टरका निर्देशक डा. विनोद शेरचनले भने, ‘अरु बिरामी त आए गए । लामो समयदेखि शल्यक्रियाका लागि पालो पाएका बिरामीले दुःख पाए ।’

ट्रमा सेन्टरमा १३ बिरामी शल्यक्रियाका गर्ने तयार पारिएकोमा बुधबार ७ बिरामीको शल्यक्रिया हुन सकेन । सरकारले छिटोभन्दा छिटो आन्दोलन रोकिने पहल गरेर अस्पतालको सेवा प्रभावित हुनबाट जोगाउनुपर्ने निर्देशक डा.शेरचनले बताए । एक सय ६८ बेडको यो अस्पतालमा आकस्मिकबाहेक शल्यक्रिया गर्नुपर्ने बिरामीले पालो कुरेपछि मात्रै सेवा पाउँछन् । बिरामीको पालो पछाडि धकेलिएपछि उनीहरू चिन्तित छन् ।

आन्दोलनका कारण बुधबार बिहानैबाट सरकारी अस्पतालका सेवा प्रभावित भए । वीर अस्पतालमा पनि चिकित्सक टिकट काउन्टरमा ताला लगाइदिए । बिहानको समयमा एक हजार टिकट काटिने वीरमा बुधबार एउटै टिकट काटिएन । चिकित्सक आउँछन् भन्दै दिउँसोको सेवाका लागि बिरामीलाई टिकट काट्न लगाइयो । दिनैभरि हातमा टिकट लिएर बसेका बिरामी उपचार नै नगरी घर फर्किए । टाढाबाट उपचार गर्न आएका बिरामीले दुःख पाए ।

वीरमा कार्यरत तीन सय चिकित्सकमध्ये ५० प्रतिशत सरकारी सेवाकै छन् । बाँकी अरु करार र मेडिकल अधिकृत पनि आन्दोलनको समर्थनमा हिँडेपछि सेवा ठप्पप्रायः भयो । वीर अस्पतालका निमित्त निर्देशक डा. भूपेन्द्र बस्नेतले भने, ‘आकस्मिक उपचार र शल्यक्रियाबाहेक अरु सेवा दिन सकिएनँ ।’ थापाथलिस्थित प्रसूति गृहको ओपीडीको एउटा पनि टिकट काटिएन । दिनैभरि सेवा प्रभावित भयो । दैनिक ७ सय बिरामीको तथा गर्भवतीको लाइन लाग्ने यो अस्पतालमा सरकारी चिकित्सकले कामै नगरिदिएपछि विकास समितिका चिकित्सकको भरमा सेवा चल्यो ।

ओपीडीमा आएका गम्भीर खाले बिरामी पनि आकिस्मक कक्षबाट दिनुपरेपछि आकिस्मक कक्षमा भीड बढेको थियो । अस्पतालकी प्रशासन प्रमुख रानु थापा भन्छिन्, ‘चिकित्सक नआउँदा बिरामीले प्रशासनलाई गाली गरेर गए, बिरामीलाई भोलि आउनु भनेर फर्काउन सकिन्छ, गर्भवतीलाई भोलि भनेर फर्काउने हामीले ।’ यस्तो संवेदनशील अस्पतालका चिकित्सकले आन्दोलन गर्न मिल्दैनथ्यो ।’

टेकुस्थित सरुवा रोग अस्पतालमा खोप लगाउन आएका बिरामी त्यसै फर्किए । ओपीडी खुल्दै खुलेन । करार चिकित्सक र मेडिकल अधिकृतको भरमा सेवा दिन कठिन भएको अस्पतालका निमित्त निर्देशक डा.अनुप बाँस्तोलाले बताए । माग पूरा नभएसम्म अनिश्चितकालका लागि सेवा ठप्प पार्ने सरकारी चिकित्सकको अडान छ । सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डे भन्छन्, ‘पटक–पटकको आन्दोलनपश्चात पनि हाम्रो माग पूरा भएन, उपाय केही नपाएपछि हामीले यस्तो अप्रिय निर्णय लिन बाध्य भएका हौं ।’

प्रकाशित : फाल्गुन १६, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?