ठगी गिरोह समातियो

ओभरसिज, सहकारी र कन्सल्टेन्सी सञ्चालकमा एकै व्यक्ति
प्रशान्त माली

ललितपुर — पोल्यान्ड पठाइदिन्छु भनी साढे ३ करोड ठगी गर्ने गिरोह प्रहरी अनुसन्धानमा परेका छन्  । ग्वार्कोस्थित दृष्मा ओभरसिज कम्पनीका पूर्वप्रमुख हरिबहादुर लामासहितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो  । सिन्धुपाल्चोकका लामालाई काठमाडौंबाट पक्राउ परेका हुन् । यसअघि पक्राउ परेका कम्पनीका व्यवस्थापक अरुणकुमार महतोलाई प्रहरीले म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

कम्पनीका सञ्चालक दीपक तामाङ भने फरार छन् । सञ्चालक नै रहेका दीपककी श्रीमती विमला केन्द्रीय कारागारमा छन् । महानगरीय प्रहरी परिसर जावलाखेलमा कम्पनीविरुद्ध ३ सय ७ जनाभन्दा बढीले साढे २ करोड रुपैयाँ ठगी गरेको उजुरी दिएका छन् । एकै पटक धेरै संख्यामा उजुरी परेको यो विरलै घटना हो ।

पोल्यान्ड जाने, धेरै पैसा कमाउने अनि परिवारका सबै सदस्यलाई त्यही सिफ्ट गराउने सपना थियो दोलखा कालिञ्चोक गाउँपालिका– २ का २६ वर्षीय रमेश थापाको । सिन्धुपाल्चोकका सुमन तामाङ र सन्तोष तामाङको पनि पोल्यान्डमा ५ वर्ष मिहिनेत गरेर पीआर लिने सोच थियो ।

कम्पनीका सञ्चालकले थापालाई दुई वर्षअघि अन्तर्वाताका लागि भनी ग्वार्कोस्थित नबिल बचत तथा ऋण सहकारी संस्थामा आफ्नै नाममा एक लाख रुपैयाँ मुद्दती खातामा जम्मा गर्न लगाएका थिए । त्यतिबेला थापाले केही गरी विदेश जान नपाएमा सहकारीमा आफ्नै नाममा जम्मा भएको रकम सजिलै फिर्ता लिन सक्ने सोची ढुक्क भएर जम्मा गरेका थिए ।

उनको ६ महिनापछि वर्क परमिट आयो । विदेश उडाउन भिसामा ‘स्टाम्पिङ’ गर्नुपर्ने त्यसका लागि नेपालमा पोल्यान्डको दूतावास नभएकाले भारतको नयाँ दिल्ली जानुपर्ने भन्दै थापासँग नोल एजुकेसन कन्सलटेन्सीमार्फत थप ८० हजार लिए । विभिन्न कारणले वर्क परमिट मिति सक्किएकाले विदेश उड्न थप ३ महिना लाग्ने भनी उनलाई कुर्न लगाए । हुदाँहुँदै डेढ वर्ष झुल्याए । सहकारीमा पैसा लिनेको भीड बढ्न थालेपछि बल्ल उनले आफू ठगिएको चाल पाए । उनी भन्छन्, ‘ओभरसिज, सहकारी र कन्सलटेन्सी एउटै व्यक्तिले चलाएको रैछ ।’

गोरखाका सूर्यबहादुर आले र कञ्चनपुरका रमेशकुमार विष्ट पनि ठगिएको चाल पाएपछि उजुरी दिन महानगरीय प्रहरी परिसर जावलाखेल पुगेका छन् । प्रहरीका अनुसार म्यानपावर सञ्चालकले विदेश पठाइदिन्छु भनी प्रतिव्यक्ति ५० हजारदेखि ३ लाख रुपैयाँसम्म लिएका छन् ।

महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी रवीन्द्रबहादुर धानुकले उजुरीका आधारमा कम्पनीमा छापा मारेर एक सय ५५ वटा पासपोर्ट, कम्प्युटर सीपीयू र कागजात नियन्त्रणमा लिएको बताए । ‘फरार व्यक्तिको खोजी भइरहेको छ,’ उनले भने, ‘कम्पनीले दुई वर्षअघि सार्वजनिक विज्ञापन गरी पैसा लिएको तीन महिनापछि उडाउने प्रलोभन देखाएका थिए ।’

प्रहरीका अनुसार ठगिने महिला पनि धेरै छन् । पाँचथरकी यशोदा गुरुङलाई पोल्यान्डमा माछा, च्याउ, तरकारी प्याकिङको सहज काममा मिलाइदिने भनेर प्रालोभनमा परेका थिए । उनी भन्छिन्, ‘दैनिक ८ घण्टा काम गरेर महिनाको एक लाख ७५ हजारसम्म कमाउन सकिन्छ भनेका थिए ।’ उनका अनुसार कम्पनीले सुरुमा पोल्यान्डमा ५८ जना कामदार पठाएर विश्वास दिलाएका थिए । ‘त्यसमा ३१ जना महिला र २७ जना पुरुष कामदार थिए,’ उनले भनिन्, ‘ठगिएपछि बल्ल नाटक भनेर थाहा पाएँ ।’

एसएसपी धानुकका अनुसार ठगिनेहरू मुख्यतः बिचौलियाले गर्दा फस्ने गरेका छन् । ‘बिचौलियाको सूचनाकै भर परी कतार जाँदा दुःख पाएको र ठगिएको गुनासो लिएर आउने थुप्रो छन्,’ उनले भने, ‘मासिक डेढ लाख रुपैयाँ पाउने आसमा सेक्युरिटी गार्डमा मलेसिया जाने र सडक खन्ने काममा पर्‍यो भनेर उजुरी दिने धेरै छन् ।’ उनले कतिपय म्यानपावर कम्पनीमा भारतीय दलाल पनि संलग्न रहेको बताए । ‘खाडी मुलुकको ठगीको घटनामा म्यानपावर कम्पनी र युरोप, अमेरिका र पोल्यान्ड पठाउने ठगी घटनामा व्यक्तिगत दलालको बढी संलग्नता छ,’ उनले भने ।

वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायलाई मर्यादित र ठगीरहित बनाउन ११ बुँदे परिपत्र जारी गरेको छ । वैदेशिक रोजगारीमा पठाउँदा कामदारको व्यवस्थित अभिलेख राख्न भनेको छ । कामदारसँग पासपोर्ट लिँदा कति समयसम्म म्यानपावरमा रहने हो भन्ने कुरा खुलाउनुपर्ने नियम छ । त्यसको जानकारी भर्पाई गरेर कामदारलाई दिनुपर्ने व्यवस्था छ ।

तर, दृष्मा कम्पनीले त्यस्तो गरिएको छैन । उल्टो सुरुआतमै शुल्क लिने र लामो समय पासपोर्ट होल्ड गरेर राखेका थिए । म्यानपावर कम्पनीले सबै गतिविधि वेबसाइट बनाएर अपडेट गर्नुपर्ने, नागरिक बडापत्र राख्नुपर्ने, सूचनापाटी तथा उजुरीपेटिका राख्नुपर्ने भए पनि त्यस्तो गरिएको छैन ।

प्रकाशित : फाल्गुन १९, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?