कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बाग्मती 'ब्युटिफिकेसन’ आयोजनाको सहयोग रोक्ने एडीबीको चेतावनी

दीपेन्द्र विष्ट

काठमाडौँ — एसियाली विकास बैंक (एडीबी) ले बाग्मती ‘ब्युटिफिकेसन’ आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै त्यसबाट हात झिक्ने चेतावनी दिएको छ । मुआब्जा विवादले लामो समयदेखि काम ठप्प भएपछि एडीबीले सहरी विकास मन्त्रालयलाई सहयोग रोक्ने चेतावनीसहितको पत्र पठाएको हो । 

बाग्मती 'ब्युटिफिकेसन’ आयोजनाको सहयोग रोक्ने एडीबीको चेतावनी

आयोजनाअन्तर्गत बाग्मती किनारमा बगैंचा विकास र ट्रिटमेन्ट प्लान्ट स्थापना गरी ढल प्रशोधन गरेर नदीमा पठाउने कार्यक्रम छ । यसका लागि एडीबीले १३ अर्ब रुपैयाँ सहयोग गरेको छ । तर गोकर्ण ब्यारेजदेखि सिनामंगलसम्मका स्थानीयले आफूहरूको जग्गा परेको भन्दै मुआब्जा मागेपछि एक महिनादेखि काम ठप्प छ ।

‘स्थानीयले विवाद झिकेका छन्,’ अधिकार सम्पन्न बाग्मती आयोजनाका प्रमुख आशिष घिमिरेले भने, ‘एडीबीले हात झिक्ने चेतावनी दिएको छ, अब आयोजना अलपत्र पर्ने भयो ।’

स्थानीयले बाग्मती नदीभित्रको १ सय ८८ रोपनीको मुआब्जा मागेको जनाउँदै उनले मन्त्रालयले तत्काल समस्या नसुल्झाए आयोजना अलपत्र पर्ने बताए । ‘प्रमाणसहित आउन पर्‍यो, हामीले भनेका छौं, उहाँहरू (स्थानीय) सँग करिब ४१ रोपनीको मात्र प्रमाण छ, अन्य १ सय ४७ रोपनीको लालपुर्जा छैन, कसरी मुआब्जा दिने ?,’ उनले भने, ‘मुआब्जा दिने समय आयोजनाले लालपुर्जा मागेको भए समस्या आउने थिएन, विवाद भएका स्थानमा लगानी गर्दिनँ भनेर एडीबीले भनिसकेको छ ।’

२२ वर्षअघि तत्कालीन अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले किनारका जग्गाको मुआब्जा दिइसकेको छ । लामो समयपछि पुनः मुआब्जा विवाद झिकेको सुन्दा आश्चर्य लागेको तत्कालीन अध्यक्ष विदुर पौडेल बताउँछन् । ‘उचित मुआब्जा दिइसकिएको छ, नदीभित्रको जग्गाको मुआब्जा दिने चलन कहां छ ?,’ उनले भने, ‘निर्णय सबै सुरक्षित होला, हेर्दा हुन्छ, कसैले उचालेको भरमा मुआब्जा दिँदा के हुन्छ, त्यो सरकारले बुझ्नुपर्छ ।’

आयोजनाले २०७३ देखि परम्परागत शैलीको हरित उद्यान निर्माण अघि बढाएको हो । आयोजनाप्रमुख घिमिरेका अनुसार नदीको बीचबीचमा ‘चेकड्याम’ निर्माण गरिनेछ । नदी र सडकबीचको खाली १० मिटर भागमा हरित उद्यान बन्दै छ । सडक दुई लेनको बनाइनेछ । तीन स्थानमा परम्परागत भकारी आकारका संरचना निर्माण गरिनेछ जसबाट मानिस सजिलै नदीसम्म पुग्न सक्नेछन् । उद्यान २७ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको घिमिरेले बताए । ‘यो मृत बाग्मतीलाई जिवित तुल्याउने अभियान हो,’ उनले भने ।

गोकर्णेश्वर नगरपालिका(४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले एडीबीले आयोजनाबाट हात झिके ठूलो विडम्बना हुने बताए । ‘नदी किनारमा काम धमाधम भइरहेको थियो, अलपत्र पर्दा समस्या उत्पन्न भएको छ,’ उनले भने, ‘उचित माग सबैका सम्बोधन हुन्छन्, नजायज माग कसैका पूरा हुँदैनन् ।’

श्रेष्ठका अनुसार गोकर्ण ब्यारेजदेखि जोरपाटी पुलसम्म ३५ मिटर, त्यहाँबाट गुह्येश्वरीसम्म ४० मिटर र गुहेश्वरीदेखि सिनामंगलसम्म करिव ३० मिटर बहाव कायम गर्दै दायाबाया हरित उद्यान निर्माण गरिनेछ । टेकुतिरका २३ वटा पुराना मन्दिरको जीर्णोद्धार गरिनुका साथै बल्खुमा ढल प्रशोधन केन्द्र बनाइनेछ । हरियालीको बीचमा साइकल लेन, फुटपाथसमेत रहनेछन् । गोकर्ण ब्यारेज रहेको स्थानमा पुलसमेत बनाइने उनले बताए । ‘माकलबारी, जोरपाटीलगायत क्षेत्र निकै आकर्षक देखिन्छ,’ श्रेष्ठले भने, ‘पहिलो चरणमा यो क्षेत्र छनोट गरिए पनि त्यसपछि गोकर्णदेखि सुन्दरीजलसम्मको क्षेत्रसम्म हरित उद्यान निर्माण भइरहेको छ ।’

उनका अनुसार गुहेश्वरीदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा भने कुनै संरचना निर्माण गरिनेछैन । गोकर्ण(सुन्दरीजल खण्ड र सिनामंगल(बल्खु खण्डमा समेत परम्परागत शैलीको आधुनिक हरित उद्यान रहनेछ । ‘फुटपाथमा मर्निङवाक गर्न सजिलो हुन्छ,’ उनले भने, ‘प्रत्येक स्थानमा चौतारी बनाउँछौं, जहाँ बसेर नदीको बहाव नियाल्न सजिलो होस् ।’ धापक्षेत्रमा वर्षातको पानी संकलनका लागि २४ मिटर अग्लो ड्याम बनाइँदै छ । ‘वर्षातको पानी संकलन गरेर सुक्खा याममा बाग्मतीमा बगाइन्छ,’ उनले भने, ‘नदीको विशेषता पानी हुनु हो ।

त्यस कारण पानीको बहाव बढाउनै पर्छ ।’ ८ लाख ५० हजार घनमिटर पानी संकलन गरेर सुक्खायाममा ४ सय लिटर प्रतिसेकेन्डका दरले नदीमा छोडिने र यसका लागि अहिले शिवपुरी वन्यजन्तु आरक्षभित्र काम भइरहेको उनले बताए ।

ड्याम बनाउन एडीबीले करिब ५२ करोड रुपैयाँ सहयोग गरेको छ । त्यसै गरी बाग्मतीको नागमतीमा ९० मिटर उचाइको ड्याम निर्माणको अध्ययन भइरहेको छ । नागमतीको ड्यमबाट २ सय मेगावाट विद्युत उत्पादन गर्न सकिने आयोजनाको अनुमान छ ।

प्रकाशित : फाल्गुन २२, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?