ट्याङ्की चुहियो, मर्मतमा अवरोध
ललितपुर — मूलमा पर्याप्त पानी छ । तर, ललितपुरका नगरभित्र पानी पुगेको छैन । एउटा कारण नल्लुका स्थानीयवासीको अवरोध देखिएको छ । सोही कारण खानेपानी नगर ल्याउने योजना समेत अलपत्र छ ।
ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकावासीले उपभोग गर्दै आइरहेको खानेपानीको मुहान नल्लु खोलामा पर्छ । खोलामा ट्यांकी बनाएर पानी जम्मा गरी पोलिथिनको ६ इन्चको दुईवटा पाइपमार्फत नगर ल्याइएको थियो । ४० वर्ष पुरानो उक्त पोलिथिनको पाइप जीर्ण भएर ठाउँठाउँमा पानी चुहिएको छ । नयाँ १० इन्चको फलामको पाइप फेर्न ललितपुर महानगरले चालु आवमा ५० लाख, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले ५० लाख र गोदावरी नगरले २५ लाख रुपैयाँ बजेट छुट्याएका थिए ।
स्थानीयले रोजगारी, सडक बनाइदिनुपर्नेलगायत विभिन्न माग राखेर पाइप फेर्न नदिएपछि दुई महिनादेखि काम ठप्प छ । खानेपानी ट्यांकी नल्लु बस्तीभन्दा तल्लो भागमा पर्छ । केयूकेएल ललितपुर शाखा कार्यालयका अनुसार सुरुमा एक/दुई जना व्यक्ति आएर गाउँको विकास गर्न भन्दै दुई लाख रुपैयाँ मागेका थिए । नदिएपछि तिनीहरू मिलेर स्थानीयलाई उचालेर विभिन्न माग राखी अवरोध खडा गरेको आरोप छ ।
केयूकेएल ललितपुर प्रमुख डोलप्रसाद चापागाईंले नल्लु ट्यांकीबाट थप बढी पानी ल्याउन खोजेको नभई पुरानो पाइप मात्र परिर्वतन गर्न लागेको बताए । ‘यसले माथिल्लो भेगमा अवस्थित नल्लु बस्तीलाई केही असर गर्दैन,’ उनले भने, ‘ट्यांकी भन्दा तल बस्तीका स्थानीयले विरोध गरेका छैनन् ।’ केयूकेएलले प्रत्येक वर्ष बाढीले बगाउने भन्दै नल्लु खोलाको ट्यांकीबाट पाटन ल्याइएको प्लास्टिकको पाइप उठाउने गरेको छ ।
एउटा पाइप खोलाबाट उठाएपछि दैनिक ८ लाख लिटर पानी आपूर्ति बन्द हुने गरेको छ । पाइप फर्नेले बगाउने समस्याबाट मुक्त मिल्ने केयूकेएलको भनाइ छ ।
गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनले स्थानीयले गरेको विरोधको कुनै औचित्य नभएको बताए । ‘अहिले नयाँ ट्यांकी बनाएर पानी ल्याउन खोजेका होइनौं,’ उनले भने, ‘पुस्तौंदेखि ल्याइराखेको पानीको पाइप मात्र सुधार गर्न लागेका हौं ।’ उनले खानेपानी समस्या समाधान गर्न लेले बासुरी दोभान, चारघरे मूल र मूलडोलको पानी पनि व्यवस्थापन गर्ने योजना रहेको बताए । कोन्ज्योसोम गाउँपालिका–४ नल्लुका वडाध्यक्ष तीर्थबहादुर घलानले स्थानीय र सम्बन्धित निकायबीच वार्ता भइरहेको बताए । ‘बुधबार पनि छलफलका लागि बोलाएका छौ,’ उनले भने ।
नल्लु ट्यांकी चुहियो
नल्लु खोलास्थित ट्यांकी जीर्ण भई पानी चुहिएर खेर गइरहेको छ । सम्बन्धित निकायले ट्यांकी पुनर्निर्माण नगर्दा दैनिक १० लाख लिटरभन्दा बढी पानी आपूर्ति हुन सकेको छैन । मूलमा पर्याप्त पानी हुँदा पनि सम्बन्धित निकायले उचित व्यवस्थापन नगर्दा ललितपुरबासीले समस्या झेल्नुपरेको स्थानीय बासिन्दा बताउँछन् ।
ठेचोका रमन महर्जन भन्छन्, ‘मूलमा प्रशस्त पानी भए पनि केयूकेएलले उचित व्यवस्थापन नगर्दा खानेपानीको अनावश्यक समस्या झेल्नुपेरको छ ।’ उनका अनुसार खोलाको बीचमा ड्यामसँगै नयाँ इन्टेक ट्यांकी निर्माण गरी १०/१० इन्चको दुईवटा पाइपबाट पानी ल्याएमा ललितपुरमा मेलम्चीको पानी ल्याउनु पर्दैन । ‘तर केयूकेएलले भने बजेट अभाव देखाउँदै प्रत्येक वर्ष बेवास्ता गर्दै आएको छ,’ उनले भने ।
लेले बासुकी दोभानस्थित बनाएको कलेक्सन चेम्बरको हालत उस्तै छ । डोलबाट रसेर आएको पानी जम्मा गर्न ठाउँठाउँमा बनाउनुपर्ने कलेक्सन चेम्बर पर्याप्त छैन । यी मुहानबाट दैनिक १ करोड लिटर पानी पाटन ल्याउन सकिने भए पनि केयूकेएलले चासो नदिएको उनको भनाइ छ । ‘अहिले दैनिक २५ लाख लिटर पनि पानी ल्याउन सकेको छैन,’ उनले भने, ‘केयूकेएलले प्रत्येक वर्ष नयाँ ट्यांकी बनाउने योजना रहेको बनाउँछ । तर, अन्त्यमा बजेट अभावको कारण देखाउँदै पन्छिन खोज्छन् ।’
पाटनवासी अहिले ट्यांकरको पानी किन्न बाध्य छन् । नल्लु खोला र बासुकी दोभानको पानी चापागाउँ, झरुवारासी, ठेचो, सुनाकोठी र पाटनवासीलाई वितरण गरिन्छ । ललितपुरमा दैनिक ५ करोड लिटर बढी पानी माग छ । १ करोड लिटर पनि वितरण गर्न सकेको छैन । केयूकेएलले ललितपुरमा ४० हजारभन्दा बढी धारा वितरण गरे पनि १५ हजारमा पनि दैनिक पानी आउँदैन ।
केयूकेएल ललितपुर शाखा प्रमुख चापागाईंले नल्लु खोलालाई गहिरो बनाई बीचमा ड्याम निर्माण गरी ट्यांकी सुधार गर्ने योजना रहेको बताए । ‘मूलदेखि लेले बासुकी दोभानसम्म झन्डै एक हजार मिटर नयाँ प्लास्टिकको पाइप राख्ने योजना पनि छ,’ उनले भने ।
प्रकाशित : फाल्गुन २३, २०७५ ०७:४४