१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

प्रहरी सेवामा प्रविधि : सूचनासँगै हैरानी

जनकराज सापकोटा

काठमाडौँ — प्रहरीहरू क्लोज सर्किट (सीसी) क्यामेराले खिचेका दृश्यहरू दर्जनौं स्क्रिनमा एक टकले नियालिरहेका छन् । चारवटा फोन सेट अनवरत बजिरहेका छन् । महानगरीय प्रहरी कार्यालयको मेट्रो कन्ट्रोल शाखाभित्रको दृश्य हो यो । 

प्रहरी सेवामा प्रविधि : सूचनासँगै हैरानी

मेट्रो कन्ट्रोल शाखामा चौबीसै घण्टा गरी एक सय १९ प्रहरी अधिकारी खटिएका छन् । ठाउँठाउँबाट विभिन्न माध्यममार्फत अनेकन कथा र उपकथा यही कोठाभित्र ठोक्किन आइपुग्छन् ।

उपत्यकाका तीनै जिल्लास्थित प्रहरी परिसरको समन्वय गरिरहेको प्रहरी निःशुल्क फोन गर्न मिल्ने एक सय नम्बर, फेसबुक, ट्वीटर र एप्समार्फत जनतासँग जोडिएको छ । यही माध्यमबाट अनेकन सूचना, जानकारी र हारगुहार उसले सुनिरहेको हुन्छ ।

सचिवालयका डीएसपी सन्तोष चौधरीले तीन महिनाअघिको एउटा घटना सुनाए, ‘राति ९ बजेतिर सय नम्बरमा एक महिलाले फोन गरेर म तनावमा छु, यो नै मेरो अन्तिम फोन पनि हुन सक्छ, अब मलाई कल नगर्नुस् भनिन् ।’ यो सूचना तुरुन्तै कार्यालयका प्रमुख एआईजी शैलेश थापा क्षत्रीसमक्ष पुग्यो ।

एआईजी शैलेशले सूचना महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरलाई फरवार्ड गर्दै फोन गर्ने महिलाको लोकेसन पत्ता लगाएर उद्धार गर्न निर्देशन दिए । अनेकन सूत्र लगाएपछि ती महिलाको लोकेसन पत्ता लाग्यो र घर पहिचान भयो । ललितपुरको जावलाखेल क्षेत्रको उक्त घरमा पुगेर ढोका ढकढक्याएपछि एक अधबैंसे बाहिर निस्के ।

ती व्यक्ति तिनै महिलाका श्रीमान् थिए । सोधखोजपछि थाहा भयो, डिप्रेसनको औषधि खाइरहेकी महिलाले जीवनको भीख मागेजसरी प्रहरीमा फोन गरेकी रहिछन् । ‘श्रीमान्लाई सम्झाएर चिसो रातमा हामी कार्यालय फर्कियौं,’ महिलाको घर पुगेका एक प्रहरीले भने ।

सय नम्बर फोनमा दैनिक औसतमा १२ सय फोन आउँछन् । एकै दिनमा २७ सय फोनसम्म रिसिभ भएको रेकर्ड छ । प्रहरी कार्यालयको नम्बर माग्ने, घटना र दुर्घटनाको सूचना दिनेदेखि हारगुहार गर्ने र समस्याको पोको बिसाउनेसम्मका फोन आउँछन् । गत महिना कलंकीबाट फोन गरेको बताउने एक महिलाले आफू अपहरणमा परेको सुनाउँदै उद्धारका लागि फोन गरेको बताइन् ।

उक्त सूचना तुरुन्तै महानगरीय प्रहरी अपराध महाशाखा पुग्यो । महाशाखाका एक डीएसपीसहित पाँच जनाको टोली कलंकी पुगेपछि थाहा भयो, उनी श्रीमान् र बच्चा छाडेर विवाहेतर सम्बन्धको धागोमा उनिएर काठमाडौं आइपुगेकी रहिछन् । ती महिलासँग फोनमार्फत सशस्त्र प्रहरीको हलचोकस्थित मुख्यालयमा कार्यरत एक हवल्दारले प्रेमसम्बन्ध गाँसेका रहेछन् ।

काठमाडौं आएकी महिला हवल्दारले फोन नउठाएपछि र लिन नआएपछि समस्यामा परेकी रहिछन् । ती महिलालाई अभिभावकको जिम्मा लगाएर टोली फर्कियो । मेट्रो प्रहरीको एमपीओ रानीपोखरी काठमाडौं नामक फेसबुक पेज चलाइरहेका प्रहरी जवान वीरेन्द्र खत्रीको बुझाइमा अनेकन समस्या, गुनासो र छटपटी प्रहरीलाई सुनाएर मान्छे शान्त भइरहेका छन् । उनका अनुसार प्रहरीको फेसबुक म्यासेन्जरमा दैनिक आठदेखि दस सन्देश आउँछन् । यस्तो सन्देशमा जानकारी माग्नेदेखि लिएर आफ्नो व्यक्तिगत र सामाजिक समस्या, प्रहरी काम कारबाहीको गुनासोसम्मका हुन्छन् ।

प्रहरीको एमपीओ रानीपोखरी काठमाडौं फेसबुक पेजको म्यासेन्जरमा एक युवतीले गुनासो लेखिन्, ‘मेरा बा जेलमा छन् । आमा बिरामी छिन् । पाँच महिनादेखि घरभाडा तिर्न सकेको छैन । घरबेटीको निरन्तर किचकिचले आमा झनै बिरामी पर्ने भइन् । पैसा त कमाएर तिर्ने हो नि । लुट्न जानु भएन । अब म के गरौं ?’ प्रहरीको फेसबुक पेजमा पुलिस रिपोर्ट कहिले र कसरी बन्छ भन्नेसम्मको सोधीखोजी हुन्छ ।

मेट्रो प्रहरीको एनपीमेट्रो ट्वीटर ह्यान्डललाई झन्डै दस हजार जनाले पछ्याइरहेका छन् । केही दिनअघि एक नागरिकले विदेशबाट आउँदा ताला काटिएको अवस्थामा आफ्नो लगेज विमानस्थलमा पाएको भन्दै गुनासो गरे । गुनासो मेट्रोको ट्वीटर अकाउन्टमा ट्याग भयो । लगत्तै प्रहरीले ती नागरिकलाई जवाफ लेख्यो, यसबारे थप अनुसन्धान गर्न विमानस्थलस्थित प्रहरी कार्यालयलाई पनि लिखित पत्राचार गर्‍यो ।

प्रहरीले एपमार्फत पनि सूचना दिने र लिने गरिरहेको छ । एपको सूचना व्यवस्थापनमा खटिएका सइ वसन्तकुमार दाहालले भने, ‘यस्ता सूचना आउनेबित्तिकै हामी स्रोत गोप्य राखेर सम्बन्धित शाखालाई खबर गरिहाल्छौं । त्यसैका आधारमा कारबाही भइहाल्छ ।’

प्रहरीका निम्ति सुराकीको काम गर्ने एक व्यक्तिलाई प्रहरीकै एक सइ रमेश नेपालले फसाउने धम्की दिएर पैसाको बार्गेनिङ गरेका रहेछन् । ती सुराकीले दिएकै सूचनाका आधारमा प्रहरीले यसअघि पोखराबाट एसएमजी पेस्तोल, चाबहिलबाट पेस्तोल र बालाजुबाट पचास ग्राम ब्राउन सुगरलगायत सामग्री बरामद गरेको रहेछ । प्रहरीले गरेको पछिल्लो बार्गेनिङबाट आफू तनावमा रहेको र आत्महत्या गर्न पर्ने परिस्थिति आएको ती व्यक्तिले उल्लेख गरेका थिए ।

ती व्यक्तिले प्रहरीले आफूसँग पैसाका लागि बार्गेनिङ गरेको एसएमएसको स्क्रिन सट पनि पठाइदिएका थिए । ती प्रहरीले एसएमएसमा लागूऔषध राखेर फसाइदिने भन्दै लेखेका थिए– ‘डीएसपीलाई भनिस् भने म तँलाई पचास ग्राममा फसाइदिन्छु ।’ ती व्यक्तिले आफूले पैसा दिन नसक्ने बताएपछि प्रहरीले अर्को एसएमएस गरेर लेखे, ‘५० दे अनि म तेरो लाइफमा डिस्टर्ब गर्दिनँ ।’

प्रकाशित : फाल्गुन २४, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?