२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

टुंगिएन मुआब्जा विवाद

वाग्मती ब्युटिफिकेसन
दीपेन्द्र विष्ट

काठमाडौँ — सहरी विकास मन्त्रालयले वाग्मती ‘ब्युटिफिकेसन’ को जग्गा मुआब्जासम्बन्धी विवादमा चासो नदेखाएको स्थानीयले आरोप लगाएका छन्  । स्थानीयले मुआब्जा माग गरेपछि एक महिनादेखि आयोजनाको काम ठप्प मुआब्जा विवादले लामो समयदेखि काम ठप्प भएपछि एसियाली विकास बैंक (एडीबी) ले मन्त्रालयलाई सहयोग रोक्ने चेतावनी दिइसकेको छ ।

माकलाबारी टोल सुधार समितिका सचिव विनित अर्यालले समस्या चाँडो समाधान नगरे काम अलपत्र पर्ने बताए । ‘नदी किनारलाई सुन्दर बनाउने काम रोक्नु हुँदैन । वार्ताबाट समाधान निकाल्नुपर्छ,’ उनले भने, ‘मन्त्रालयले सहजीकरण गर्नुपर्छ तर चासो देखाएन ।’


काठमााडौं क्षेत्र नम्बर ३ का सांसद कृष्ण राईले उचित मुआब्जा दिएर समाधान निकाल्नुपर्ने बताए । ‘मुआब्जा दिनेबारे सहरी विकास मन्त्रालय गम्भीर छैन,’ उनले भने, ‘मुआब्जाबारे अध्ययन टोली बनाएर पनि समाधन निकाल्न सकिन्छ ।’ आफू जनताको उचित मागको पक्षमा रहेको उनले बताए । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले मुआब्जा दिने/नदिनेबारे छलफल भइरहेको बताए । आयोजना निर्माण अन्तिम चरणमा पुग्दा विवाद झिक्न नहुने उनको भनाइ छ । ‘२२ वर्षअघिको मुआब्जा अहिले आएर माग्नु ठीक होइन,’ उनले भने, ‘लालपुर्जा नभएको जग्गाको मुआब्जा माग गर्नु उचित होइन ।’


आयोजनाअन्तर्गत वाग्मती किनारमा बगैंचा विकास र ट्रिटमेन्ट प्लान्ट स्थापना गरी ढल प्रशोधन गरेर नदीमा पठाउने कार्यक्रम छ । यसका लागि एडीबीले १३ अर्ब रुपैयाँ सहयोग गरेको छ । तर गोकर्ण ब्यारेजदेखि सिनामंगलसम्मका बासिन्दाले आफ्नो जग्गा परेको भन्दै मुआब्जा मागेपछि काम ठप्प छ । ‘विवादको समाधान निस्केको छैन,’ वाग्मती आयोजनाका प्रमुख आशिष घिमिरेले भने, ‘आयोजना अलपत्र पर्ने जोखिम भयो ।’ स्थानीयले वाग्मती नदीभित्रको १ सय ८८ रोपनीको मुआब्जा मागेका छन् । ‘प्रमाणसहित आउन भनेका छौं, स्थानीयसँग करिब ४१ रोपनीको मात्र प्रमाण छ, लालपुर्जा नभएकालाई कसरी मुआब्जा दिने ?,’ उनले भने, ‘मुआब्जा दिने समय आयोजनाले लालपुर्जा मागेको भए समस्या आउने थिएन, एडीबीले विवाद भएका स्थानमा लगानी नगर्ने भनिसकेको छ ।’ २२ वर्षअघि तत्कालीन वाग्मती सभ्यता एकीकृत विकास समितिले किनारको जग्गाको मुआब्जा दिइसकेको छ ।


आयोजनाले २०७३ देखि परम्परागत शैलीको हरित उद्यान निर्माण अघि बढाएको हो । आयोजना प्रमुख घिमिरेका अनुसार नदीको बीचबीचमा ‘चेकड्याम’ निर्माण गरिनेछ । नदी र सडकबीचको खाली १० मिटर भागमा हरित उद्यान बन्दै छ । सडक दुई लेनको बनाइनेछ । तीन स्थानमा परम्परागत भकारी आकारका संरचना निर्माण गरिनेछ जसबाट मानिस सजिलै नदीसम्म पुग्न सक्नेछन् । उद्यान २७ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको घिमिरेले बताए । गोकर्ण ब्यारेजदेखि जोरपाटी पुलसम्म ३५ मिटर, त्यहाँबाट गुहेश्वरीसम्म ४० मिटर र गुहेश्वरीदेखि सिनामंगलसम्म करिब ३० मिटर बहाव कायम गर्दै दायाँ–बायाँ हरित उद्यान निर्माण गरिनेछ । टेकुतिरका २३ वटा पुराना मन्दिरको जीर्णोद्धार गरिनुका साथै बल्खुमा ढल प्रशोधन केन्द्र बनाइनेछ ।


हरियालीको बीचमा साइकल लेन, फुटपाथसमेत रहनेछन् । गोकर्ण ब्यारेज रहेको स्थानमा पुलसमेत बनाइनेछ । गुहेश्वरीदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा भने कुनै संरचना निर्माण गरिने छैन । गोकर्ण–सुन्दरीजल खण्ड र सिनामंगल–बल्खु खण्डमा समेत परम्परागत शैलीको आधुनिक हरित उद्यान फुटपाथमा मर्निङवाक गर्न सकिनेछ । प्रत्येक स्थानमा चौतारी निर्माण गरिने भन्दै आयोजनाले त्यहाँबाट नदीको बहाव नियाल्न सजिलो हुनेछ ।

प्रकाशित : फाल्गुन २७, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?