२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

माटो भन्दै बालुवा तस्करी

लीला श्रेष्ठ

भक्तपुर — नगरपालिकाले इँटा भट्टालाई माटो ओसारपसारको स्वीकृति दिएको बहानामा बालुवा तस्करी बढेको छ  । चाँगुनारायण नगरपालिकाले नगरक्षेत्रमा सञ्चालित ५० इँटा भट्टालाई व्यवसाय दर्ता तथा राजस्व प्रतिइँटा उद्योग ५ लाख रुपैयाँ लिएको छ  ।

माटो भन्दै बालुवा तस्करी

उक्त कर तिरेको बहानामा इँटा भट्टा सञ्चालकले चाँगुनारायण ३ र ४ वडाका विभिन्न क्षेत्रबाट माटो र बालुवा उत्खनन गरिरहेका छन् ।


चाँगुनारायण ४ गौतमेश्वर, पोखरेलगाउँ, कुमेडीडाँडा, ज्योर्तिलिंगेश्वरलगायत क्षेत्रमा सयौं रोपनी व्यक्तिगत एवं सार्वजनिक जग्गा नै मासिने गरी चारैतिरबाट बालुवा उत्खनन भएको छ । करिब ५० फिट अग्लो डाँडा भासिने गरी माटो, बालुवा उत्खनन गरेको छ । इँटा भट्टाले नगरपालिकालाई राजस्व तिरेको नाममा खानी क्षेत्रमा डोजर/इस्काभेटरको प्रयोग गरी बालुवा तस्करी गरेको स्थानीय बासिन्दाको गुनासो छ ।

नगरपालिकाले कुनै सीमांकन, अनुगमन तथा अवलोकन नै नगरी हचुवाको भरमा माटो निकासाको स्वीकृति दिँदा बालुवा तस्करी मौलाएको हो । २०७१ फागुन १५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि जिल्लामा सञ्चालित बालुवा, माटो, ढुङ्गा, पाङ्गोमाटोलगायतका २६ खानीको फाइल कब्बामा लिएको थियो । फाइल नियन्त्रणमा लिएलगत्तै साविक जिल्ला विकास समितिले भक्तपुरमा सञ्चालित सम्पूर्ण खानी बन्द गराएको थियो । वैधानिक रूपमा खानी बन्द भए पनि चोरी निकासी कायमै छ ।


छानबिनका लागि अख्तियारले लगेको फाइल फिर्ता भइसकेको छ । नगरपालिकाले ‘स्थानीय सरकार सञ्चालन ऐन–२०७४’ अनुसार खानी सञ्चालनको प्रक्रिया सुरु गरेको छ । नगर कार्यपालिकाको बैठकले ‘खानी तथा नदीजन्य पदार्थको संकलन, उत्खनन, ओसारपसार र बिक्री वितरणसम्बन्धी कार्यविधि–२०७५’ पास गरी अध्ययनका लागि व्यवसायीहरूसँग कागजातसमेत माग गरिसकेको छ । तर, नगरपालिकाको दोहोरो निर्णयकै कारण चोरी निकासी मौलाएको व्यवसायीको आरोप छ । नगरपालिकाले इँटा भट्टालाई प्रोत्साहन गरिरहने तर, बालुवा खानी व्यवसायीलाई हतोत्साही पार्ने काम गरेको व्यवसायी राजेन्द्र आगन्जाले बताए । खानी व्यवस्थापनको जिम्मा पाएको स्थानीय निकायले विभिन्न बहानामा आयस्रोत गुमाइरहेको उनको गुनासो छ ।


नगरपालिकाले खानी व्यवस्थापन गर्नुको साटो इँटा भट्टासँग राजस्व लिएको बहानामा खानीको क्षेत्राधिकारबाट माटो निकासा गरेको खानी व्यवसायी विदुर आलेमगर गुनासो गर्छन् । ‘संघीयता लागू भइसकेको अवस्थामा जनप्रतिनिधिले खानी सञ्चालन तथा व्यवस्थापनका ठोस निर्णय गर्न नसक्दा अत्यधिक भूमिदोहन बढेको छ,’ उनले भने, ‘व्यवसायीले व्यवसाय गर्न पाएनन्, स्थानीय तहको करोडौं आयस्रोत गुमेको अवस्था छ ।’

चाँगुनारायण नगरपालिका दुवाकोट, झौखेल, चाँगु क्षेत्र अव्यवस्थित बालुवा खानीले कुरूप बनेको छ भने, छालिङ, बागेश्वरी, सुडाल, ताथली इँटा भट्टाका कारण प्रदूषित छ । चाँगुनारायण नगरको अधिकांश ढिस्को भूमिदोहनका कारण फुस्रो हुँदै गएको छ । स्थानीय तहले गरेको काम, कारबाहीको अनुगमन, नियमन गर्ने जिम्मा पाएको जिल्ला समन्वय समिति मौन छ । नगरपालिकाले हालसम्म सार्वजनिक जग्गा संरक्षण, वातावरण/पर्यावरण संरक्षणका लागि कुनै निर्णय गरेको छैन ।


नगरपालिकाले भने इँटा भट्टालाई माटो उत्खननको नभई ओसारपसार गर्न मात्र अनुमति दिएको जनाएको छ । ‘इँटा उद्योगलाई माटो ओसारपसार गर्ने अनुमति मात्र दिएको हो, उत्खनन गर्ने अधिकार छैन,’ चाँगुनारायण नगरपालिका खानी सिफारिस समिति संयोजक एवं वडा नम्बर ८ का वडाध्यक्ष परासर सापकोटाले भने, ‘बालुवा, माटो उत्खनन भएको छ भने वैधानिक होइन ।’

खानी तथा नदीजन्य पदार्थको संकलन, उत्खनन, ओसारपसार र बिक्री वितरणसम्बन्धी कार्यविधि–२०७५ कार्यान्वयन एवं बालुवा खानी सञ्चालनका लागि नगरपालिकाले आईईई (वातावरणीय प्रभाव मूल्यांकन) का लागि खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेको उनले बताए । आईईई भइसकेपछि बालुवा खानी सञ्चालन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : फाल्गुन २७, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?