कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भाज्या पुखुःलाई पुनर्जीवन दिइँदै

कान्तिपुर संवाददाता

भक्तपुर — घाँसे मैदानमा परिणत ऐतिहासिक भाज्या पुखुः (पोखरी) । त्यसको बीचमा रहेको शिखरशैलीको जलेश्वर मन्दिर भग्नावशेषमा परिणत भइसकेको थियो । भाज्य पुखुः र भग्नावशेष मन्दिरलाई मौलिक स्वरूपमै प्राण दिने जमर्कोमा भक्तपुर नगरपालिका जुटेको छ ।

नगरपालिकाले सोमबार ऐतिहासिक भाज्या पुखुः जीर्णोद्धारको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा बनेको प्रतिवेदन समितिले प्रतिवेदन सार्वजनिक गरेको हो ।


इतिहासविद् श्रेष्ठका अनुसार भाज्या पुखुः १२ औं शताब्दीमा बनेको हो । इतिहास विज्ञानसम्मत हुने भएकाले अध्ययन, अनुसन्धानका क्रममा रानीपोखरी र भाज्या पोखरी अर्कोलाई हेर्ने ऐना भएको उनी बताउँछन् । ‘भाज्या पुखुः आमा र रानीपोखरी छोरी हो,’ उनले भने, ‘भाज्या पुखुः हेरेर प्रताप मल्लले रानीपोखरी निर्माण गर्न लगाएको अनुसन्धानमा खुलेको छ ।’


भाज्या र रानीपोखरीको अग्रभाग पश्चिमतिर फर्किएका र मन्दिरको स्वरूप उही भएको उनी बताउँछन् । दुई पोखरीको मध्यभागमा रहेको मन्दिरको आकारप्रकार उही भए पनि रानीपोखरी भाज्या पोखरीभन्दा दुईगुणा ठूलो भएको उनको प्रतिवेदनमा उल्लेख छ । भाजु कसः (कायस्थहरूको पुर्खा)ले भाज्या पुखुः बनाउन लगाएको उनले बताए ।


पोखरीको बीचमा रहेको मन्दिरको भग्नावशेषमा भेटिएका इँटा, मूर्ति तथा पोखरीसँग सम्बन्धित सम्पदाको अध्ययनले भाज्या पुखुः रानीपोखरीभन्दा ५ सय वर्ष पुरानो भएको उनले बताए । पोखरी क्षेत्रमा बासुकी नागको प्रतिमा रहेको काठको भग्नावशेष अहिले पनि छ । पोखरी जीर्णोद्धार गर्ने क्रममा बीचमा मन्दिर रहेको पाइएको थियो ।


माटोले पुरिएको अवस्थामा मन्दिर भेटिएपछि उत्खनन गरेको र त्यस क्रममा माटोले बनेका प्राचीन यक्ष, इन्द्रको मूर्ति, ब्वसिंह (उड्दै गरेको सिंह), तोरणसँगै विभिन्न आकारप्रकारका सादा तथा बुट्टेदार इँटा फेला पारिएका थिए । ‘सोही मूर्ति तथा इँटाका आधारमा भाजु पुखुः र मन्दिर १२ औं शताब्दीको एवं पूर्वमध्यकालको हो भन्ने पुष्टि हुन्छ,’ उनले भने ।


प्रतिवेदन सार्वजनिक कार्यक्रममा भक्तपुर नगरप्रमुख सुनील प्रजापतीले अध्ययन–अनुसन्धानका आधारमा तयार भएका प्रतिवेदनलाई विज्ञहरूको सल्लाहसुझावका आधारमा भाज्या पुखुः र मन्दिर पुनर्निर्माण गर्ने बताए । नगरपालिकाले पुखुः तथा मन्दिरको पुनर्निर्माण थालिसकेको छ ।


सिद्धपोखरी जीर्णोद्धारको अनुभवलाई ध्यानमा राखी पानी चुहिने सम्भावना भएका पोखरीका छेउमा कालोमाटो भर्ने र पोखरीको बीच भागमा भएको मन्दिरबारे अध्ययन अनुसन्धानमा ध्यान दिएको उनले बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रेम सुवाल, पुरातत्त्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहाल, गुठी संस्थानका अध्यक्ष मीनराज चौधरीलगायतले विज्ञको सुझावका आधारमा पुनर्निर्माण गर्न सुझव दिए ।

प्रकाशित : फाल्गुन २८, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?