जहाँ कोरिँदै छ महानगरको भविष्य

राजेन्द्र मानन्धर

काठमाडौँ — थापाथली छेवैको घरभित्र छिडीको एक कोठामा १५ जना इन्जिनियरहरू कम्प्युटरमा काम गरिरहेका छन्  । उनीहरूले काठमाडौं महानगरभित्रका सडक, ऐतिहासिक पोखरी, सामुदायिक भवन, चोक, पार्क, शौचालयका नक्सा र कलात्मक आकार कोरिरहेका हुन्  ।

जहाँ कोरिँदै छ महानगरको भविष्य

त्यसैको पहिलो तलाको एउटा कोठामा विज्ञहरूले इन्जिनियरको परिकल्पनासहितका नक्सालाई प्रशोधित गर्दै स्वीकृतिका लागि महानगरको मुख्यालयमा पठाइरहेका छन् । अर्को कोठामा इन्जिनियरहरूका लागि ज्ञानशाला छ, त्यहाँ दिनहुँ कक्षा सञ्चालन हुन्छ । त्यही घरको दोस्रो तलामा उक्त कार्यको सूचना प्रशोधन र सञ्चार कार्य भैरहेको छ ।


अति नै व्यस्त जस्तो देखिने सहरी योजना आयोग नाम दिइएको उक्त कक्ष एक वर्षदेखि महानगरको भविष्य कोरिरहेको छ, जुन नगरवासीको भविष्य पनि हो । मेयर विद्यासुन्दर शाक्य भन्छन्, ‘स्मार्ट सीटीका लागि संरचनागत रुपमा महानगर निर्माणका योजनाहरूको परिकल्पना गर्ने, प्रशोधन गर्ने र दक्ष जनशक्तिलाई ज्ञान तथा अवसर सिर्जना गर्न उक्त आयोग कृयाशील छ ।’ संरचनाको विकासमा महानगरले के गर्दैछ भन्ने खाका उक्त आयोगले कोरिरहेको उनले बताए ।


महानगरका विभिन्न स्थानमा भाडामा लिइएका नौ वटा कार्यालय छन् । तीमध्ये एउटा यो कार्यालय पनि हो तर यहाँ दिनहुँ सेवाग्राहीभन्दा पनि योजनाविद् र विज्ञहरूको जमघट भइरहेको हुन्छ । आयोगका अध्यक्ष स्वयम् मेयर शाक्य नै छन् । कार्यकारी प्रमुख सदस्य सचिव सरोज बस्नेत छन् । योजनाहरूलाई मेयर, योजना कार्यान्वयन हुन लागेका वडाका वडाअध्यक्षसमेत
बसेर अन्तिम रूप दिन्छन् ।काठमाडौं महानगरको प्रतिवेदनहरूले भन्छ– ‘कुनै न कुनै रूपमा दिनको समयमा यो सहरले ५० लाख मानिसको चाप थेग्नुपर्छ ।’ ०६८ को जनगणनाअनुसार दुई लाख ५४ हजार २९२ घर र १० लाख स्थायी वसोवास छ । बर्सेनि २.१८ का दरले वृद्धि हुने जनसंख्या र विभिन्न कारणले बढ्दो आन्तरिक आप्रवासनसहितका मानिसहरूलाई ध्यान दिएर उक्त अड्डाले महानगरभित्रका संरचनाहरूलाई स्मार्ट ढंगले विकास गर्न खाका कोरिरहेको छ ।


त्यति मात्रै हैन, उक्त अड्डाले भर्खरै इन्जिनियर उत्तीर्ण १५ जना छनोट गरी शिविर– १ नाम दिएर महानगरको संरचना निर्माणको मापदण्डहरू छ महिनासम्म पढाइसकेको छ । स्थलगत अवलोकनपछि उनीहरूले तयार गरेका नक्सा र डिजाइनहरू विषय विज्ञको रायसुझावसहित प्रशोधन गरिरहेको आयोगले जानकारी दिएको छ । आयोगका प्रशासन प्रमुख सुशील सुवेदीका अनुसार हाल शिविर २ का लागि छानिएका १५ जना उक्त कार्यमा खटिरहेका छन् ।


शिविर १ मा आबद्ध प्रशिक्षार्थीहरूले महानगरभित्रका ऐतिहासिक कमलपोखरी, शंखपार्क, शिलखाना पार्क, चेसपार्कजस्ता नगरको सौन्दर्यकरणमा महत्वपूर्ण भूमिका खेल्ने परिकल्पनासहितका नक्सा बनाएका छन् । अब शिविर २ का प्रशिक्षार्थीहरूलाई पनि यस्तै प्रकृतिका अन्य डिजाइनको कार्य सुम्पिने सुवेदीले जानकारी दिए । स्मार्ट सहरको परिकल्पनालाई साकार रूप दिन आयोगले भर्खरै ‘स्मार्ट टेक्नोलजी’ प्रतिस्पर्धा गराएको छ । चार सय ५२ जनाले महानगरभित्रका ट्राफिक व्यवस्थापन, वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन र स्मार्ट शौचालयबारे सुझाव पठाएका छन् । यसबाट आगमी दिनमा स्मार्ट योजनाहरू निर्माण गर्नका लागि सघाउ पुग्ने अपेक्षा महानगरको छ ।


उक्त आयोगले ‘सिल्भर भोलेन्टियर’ अभियानको तयारी गरेको छ । यो अभियानअन्तर्गत निवृत्त भएका निजामती, शिक्षण सेवाका कर्मचारीहरूले चाहेमा प्रतिस्पर्धाका आधारमा स्वयंसेवी छानेर महानगरभित्रका सामुदायिक विद्यालय सुधारमा परिचालन गरिनेबारे पनि आयोगले काम गरिरहेको छ । उक्त कार्यक्रमले महानगरभित्रका ९१ सामुदायिक विद्यालय सुधारमा सहयोग पुग्ने लक्ष्य छ । महानगरभित्र भएका ६ सय ४० वटा निजी विद्यालयमा भने उक्त स्वयंसेवी परिचालन गरिँदैन । २०७४ भदौ २२ गतेको नगर कार्यपालिकाले सहरी योजना आयोग गठन तथा सञ्चालन नियमावली पारित गरी आयोगले कार्य थालेको हो ।

प्रकाशित : फाल्गुन २९, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?