दरबार हाईस्कुलमा दुई विद्यालय गाभिने

गणेश राई

काठमाडौँ — देशकै जेठो दरबार हाई स्कुलको एउटै भवनमा सञ्चालित दुई विद्यालय गाभ्ने तयारी थालिएको छ  । जग्गा र भवनको स्वामित्वलाई लिएर दुवैबीच विवाद चर्कंदै गएपछि काठमाडौं महानगरपालिका र शिक्षा मन्त्रालयका उच्च अधिकारीले यसबारे छलफल अघि बढाएका हुन्  ।

दरबार हाईस्कुलमा दुई विद्यालय गाभिने

शिक्षा ऐनअनुसार म्यापिङका आधारमा मात्र विद्यालय सञ्चालन हुनुपर्ने प्रावधान रहे पनि यहाँ साधारण र संस्कृत गरी दुई धारका विद्यालय थिए ।

२०७२ को भूकम्पले भवन क्षतिग्रस्त हुनुअघि माथिल्लो तलामा भानु मावि र भुइँतलामा संस्कृत मावि सञ्चालनमा थिए । चीन सरकारको सहयोगमा बन्दै गरेको नयाँ भवन अब डेढ वर्षमा तयार हुँदै छ । त्यतिन्जेल दुवै विद्यालय प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको हातामा प्रिफ्याब टहरामा सारिएका छन् । त्यहाँ बिहान संस्कृत मावि र दिउँसो भानु माविका कक्षा सञ्चालन हुन्छन् ।


चिनियाँ सहयोग नियोगले ‘चाइना एड काठमान्डु दरबार हाई स्कुल (भानु सेकेन्डरी स्कुल) रिकन्स्ट्रक्सन प्रोजेक्ट इन नेपाल’ परियोजनाअन्तर्गत निर्माण गरिरहेको छ । संस्कृत माविले परियोजनामा आफ्नो नाम समावेश नभएको र जग्गाको स्वामित्वसमेत भानु माविकै नाममा रहेको भन्दै अस्तित्व माग गर्दै आएको छ । दरबार स्कुल १९१० सालमा खोलिएको देशकै पहिलो शिक्षालय हो । रानीपोखरी पश्चिमतर्फ १९४८ सालमा करिब १० रोपनी क्षेत्रफलमा भवन बनेपछि यसले स्थायी संरचना पाएको थियो ।

दरबार स्कुल क्रमशः दरबार हाइ स्कुल, रानीपोखरी पाठशाला र २०२४ सालदेखि भानुभक्त माविका रूपमा चल्दै आएको छ । वि.सं. १९३४ मा दरबार स्कुलमै संस्कृत पाठशाला स्थापना भयो । सुरुमा संस्कृत प्रधान पाठशाला, संस्कृत प्रधान मावि र अहिले संस्कृत मावि नाम राखिएको छ ।

विद्यालय भवनले चर्चेको सबै जग्गा भानु माविले २०६४ सालमा आफ्नो नाममा दर्ता गराएपछि विवाद चुलिएको हो । भूकम्पले क्षति पुगेपछि पुरानो भवन भत्काएर त्यहाँका इँटा, माटो, ढुंगालगायत ४४ लाख रुपैयाँमा लिलाम गरिएको थियो । संस्कृत मावि व्यवस्थापन समितिले समान स्वामित्व रहेकाले उक्त रकमको आधा पाउनुपर्ने जिकिर गर्दै आएको छ । तर, भानु मावि व्यवस्थापन समितिले सहयोगका रूपमा मात्र दिन सक्ने भनेपछि द्वन्द्व बढेको हो ।


कामपा–२७ का वडाध्यक्ष चिनियाँमान वज्राचार्य दुई व्यवस्थापन समितिबीचको विवादलाई निकास दिन नसकेको बताउँछन् । ‘ऐतिहासिक स्कुलको स्वामित्व दुई विद्यालयबीच आधा हुनुपर्ने विषयलाई अब महानगरपालिका र शिक्षा मन्त्रालयले मात्र टुंगोमा पु¥याउन सक्ने स्थिति आएको छ,’ उनले भने, ‘किनभने सरकारी स्कुलको स्वामित्वमाथि सर्वसाधारणबीच झगडाको बीउ बनाउन उचित हुन्न ।’ भवन नबन्दै झगडा हुन थालेपछि दुई विद्यालय गाभ्ने प्रक्रिया अघि बढेको हो । विद्यालयको नाम दरबार हाई स्कुल नै रहने र कोष्ठकभित्र ‘भानु–संस्कृत’ उल्लेख गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

‘ऐतिहासिक दरबार हाईस्कुलमा दुई विद्यालय हुनु र यसको स्वामित्व बराबरी खोजिनु स्वाभाविक हो,’ मन्त्रालय स्रोतले भन्यो, ‘तर, दुवै स्कुलमा विद्यार्थी संख्या थोरै हुनु र स्वामित्व विषयले झगडा ठीक होइन । ऐतिहासिक स्कुल भएकाले गाभ्न महानगरपालिका एक्लै निर्णय लिन सक्दैन । महानगरको शिक्षा समितिले सिफारिस गरेपछि मन्त्रालयबाट विधिवत् रूपमा मन्त्रिपरिषद्ले निर्णय गर्न उचित हुने ठहर भएको छ ।’


यी दुई विद्यालयमा स्थानीय बासिन्दाका छोराछोरी पढ्दैनन् । भानु माविमा मजदुर, खुद्रा व्यापारीका छोराछोरी मात्र पढछन् । प्रधानाध्यापक हेमचन्द्र महतोका अनुसार चालु शैक्षिक सत्रमा कक्षा १ देखि १० सम्म १ सय ३० विद्यार्थी पढछन् । त्यसैगरी संस्कृत माविमा कक्षा ६ देखि ११ सम्म २ सय १७ जना रहेको प्रधानाध्यापक बद्री दाहालले बताए ।

‘जग्गा भानु माविको स्वामित्वमा छ र भवन पनि आफ्नै हो,’ प्रधानाध्यापक महतो भन्छन्, ‘त्यसैले भग्नावशेष बिक्रीबाट प्राप्त ४४ लाख रुपैयाँ भानु माविको खातामा छ । सहयोगका रूपमा संस्कृत माविलाई केही रकम दिन चाह्यौं तर व्यवस्थापन समितिले नलिने, अधिकारका रूपमा लिने भनियो । हामी फरक–फरक विद्यालयमा छौं भन्ने दुविधा छैन । सरकारले गरेको निर्णय हामी स्विकार्छौं ।’

जग्गा स्वामित्वमा विवाद बढेपछि शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिले दुवै विद्यालयको बराबर स्वामित्व हुनुपर्ने सुझाव दिएको थियो । तर, चिनियाँ सरकारको सहयोगमा अत्याधुनिक भवन बनिसक्नुअघि नै विवाद टुंगोमा पुर्‍याउन आवश्यक रहेको महानगरपालिका शिक्षा विभाग प्रमुख सीताराम पोखरेल बताउँछन् । ‘यसबारे महानगरले चाँडै औपचारिक छलफल अघि बढाउनेछ,’ उनले भने ।

प्रकाशित : फाल्गुन २९, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?