मध्यपुरथिमिमा मेयर–कार्यकारी द्वन्द्व

कान्तिपुर संवाददाता

भक्तपुर — मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीबीच द्वन्द्व सुरु भएको छ । मेयर श्रेष्ठले आफूलाई प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले अभद्र व्यवहार गरेको दाबी गरेका छन् । 

आइतबार कार्यकक्षमै प्रदेश नम्बर ३ का सांसद डा.राजेन्द्रमान श्रेष्ठ समक्ष आफूमाथि अभद्र व्यवहार गरी कार्यालयबाट बिदा भएको भन्दै नगरप्रमुख श्रेष्ठले अर्का प्रमुख प्रशासकीय अधिकृतको माग गर्दै मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका छन् ।


नगरको विभिन्न स्थानमा उपभोक्ता समितिमार्फत भए/गरेको विकास निर्माणका काममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बजेट निकासामा अवरोध सृजना गरेको र सेवाग्राहीलाई दुःख दिएको नगरप्रमुख श्रेष्ठको गुनासो छ । ‘बिस्केट जात्रा अगावै सक्नुपर्ने १२ वटा योजनाको बजेट निकासामा ज्ञवालीको गतिविधिले योजना अन्योलमा छ,’ उनले भने, ‘नगरको मुख्य बिस्केट जात्रा प्रभावित हुने गरी निर्माणको जिम्मा पाएको उपभोक्ता समितिलाई निरुत्साहित गर्ने कार्य प्रमुख प्रशासकीय अधिकृतले गरेका छन् ।’


प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने नगर क्षेत्रभित्र उपभोक्ता समिति मार्फत गरेको कामको अनुगमन, मूल्यांकन नै नगरी नगरप्रमुख श्रेष्ठले बजेट निकासा गर्न दबाब दिएको बताएका छन् । मन्त्रालयले ज्ञवालीलाई फागनु २२ मा कर्मचारी समायोजन ऐन, २०७५ को दफा १० तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ बमोजिम मध्यपुरथिमि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत तोकेको छ ।


ज्ञवाली करिब २ वर्ष देखि मध्यपुरथिमिमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । नगरप्रमुख श्रेष्ठसँग द्वन्द्व सुरु भएपछि ज्ञवालीले आइतबार देखि मन्त्रालयमा हाजिर हुँदै आएका छन् । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवाग्राही खाली हात फर्किन बाध्य छन् ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?