१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सम्पदा बस्ती अध्ययन गर्न बजेट

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त सम्पदा बस्ती अध्ययनका लागि बजेट विनियोजन गरेको छ । ६ वटा बस्ती पुनर्निर्माणका लागि १ करोड २० लाख र पुनर्निर्माणका लागि कुल ३० करोड रुपैयाँ विनियोजन गरेको प्राधिकरणले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी ६ वटा सम्पदा बस्ती अध्ययनका लागि प्रत्येक बस्तीका लागि २० लाखका दरले तथा पुनर्निर्माणका लागि यस आर्थिक वर्षभित्र प्रत्येक बस्तीका लागि ५ करोड रुपैयाँ बजेट निकासा गरिएको हो ।


काठमाडौं उपत्यकाभित्रका ललितपुरको खोकना, बुङमती, काठमाडौंको साँखु छन् । ती बस्तीका स्मारक, पाटी, धारा तथा अन्य संरचना पुनर्निर्माणका लागि बजेट विनियोजन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलले जानकारी दिए ।


उपत्यकाबाहिर नुवाकोटको साततले दरबार स्क्वायर परिसर, गोरखाको गोरखा दरबार स्क्वायर तथा दोलखाको दोलखा बजार पनि यस कार्यक्रममा समेटिएका छन् ।


‘यी सम्पदा बस्तीका परम्परागत स्मारक, पाटी, धारा तथा अन्य पूर्वाधार पुनर्निर्माणमा बजेट खर्च हुनेछ । यसबाट हाम्रा मौलिक सम्पदाको संरक्षण मात्र हुने छैन आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन भई जीविकोपार्जनमा पनि टेवा पुग्नेछ,’ प्याकुरलेले भने ।

त्यसैगरी, भूकम्पबाट क्षतिग्रस्त सातवटा विश्व सम्पदा सूचीमा परेका क्षेत्रहरूको संरक्षण तथा विकास कार्यको अध्ययन तथा विकास कार्यका लागि पनि सोही परिमाणको अलग्गै बजेट विनियोजन गरिएको छ । यस कार्यक्रमअन्तर्गत प्रत्येक क्षेत्रको अध्ययनका लागि २० लाख र विकास कार्यका लागि ५ करोड बजेट यही आर्थिक वर्षमा परिचालन हुनेछ ।


यस कार्यक्रमअन्तर्गत पशुपति क्षेत्र, चाँगुनारायण मन्दिर क्षेत्र, स्वयम्भूनाथ क्षेत्र र बौद्ध स्तूप क्षेत्रको विकास कार्य हुनेछ । त्यसैगरी, उपत्यकाका तीन जिल्लाहरू भक्तपुर, ललितपुर र काठमाडौंका दरबार स्क्वायरहरूको संरक्षण र संवर्द्धन गरिने प्याकुरेलले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?