१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मौलिक बस्ती संरक्षणको पहल

कान्तिपुर संवाददाता

ललितपुर — काठमाडौं र काभ्रे उपत्यकाका मौलिक बस्ती संरक्षण गर्न पहल गर्ने भएको छ । ललितपुर महानगरपालिकाद्वारा मंगलबार आयोजित दोस्रो मेयर्स फोरम बैठकमा उपस्थित १४ वटा नगरपालिकाका मेयर, उपमेयरले पुरातात्त्विक महत्त्वका बस्ती जोगाउन सामूहिक प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा पुनर्निर्माण पुरानो शैलीमा गर्ने र मूर्त तथा अमूर्त सम्पदाको संरक्षण गर्ने सहमति भएको ललितपुर महानगरले जनाएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सम्पदा क्षेत्रमा नेवारी वास्तुकला शैलीमा घर पुनर्निर्माण गरेमा नक्सापासमा छुट दिने बताए । ‘घोषणापत्रमा छलफल गर्ने धेरै विषय रहेकाले अन्तिम रूप दिएर सार्वजनिक गर्नेछौं,’ उनले भने, ‘सम्पदा संरक्षणमा सार्वजनिक खरिद ऐन २०६३ बाधक छ ।’


उनले ऐन तत्काल संशोधन गरेर अघि बढ्नुपर्ने बताए । ‘यही ऐनअनुसार सम्पदा निर्माण गर्न दिएमा ठेकेदार मोटाउने र सम्पदाहरू कुरूप हुँदै जानेछ,’ उनले भने । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गुठी संस्थानमा भएको बजेट मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा खर्च गर्न फोरमले पहल गरिने बताए । बैठकमा ललितपुर, भक्तपुर, कीर्तिपुर र पनौती नगरपालिकाले सम्पदा जोगाउन गरेको प्रयास प्रतिवेदनमार्फत प्रस्तुत गरेको महानगरले जनाएको छ ।


बैठकमा बे डिजाइन युनिभर्सिटी जापानका प्राध्यापक योकियो निसुमुरा पनि उपस्थित थिए । फोरमको बैठक प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको छ । पहिलो बैठक पनौती नगरपालिकामा गत वर्ष भएको थियो । अब तेस्रो बैठक कीर्तिपुरमा हुँदै छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?