रोकिएन नेवारभित्रै विभेद

प्रशान्त माली

ललितपुर — नेवार जातिबीच भेदभाव र छुवाछुत अन्त्यको घोषणा भएको ७ वर्ष बितिसक्दा पनि व्यवहारमा लागू हुन सकेको छैन । २०६८ मा काठमाडौंको वसन्तपुरमा विभिन्न ६५ थरी नेवारभित्रका जातीय संस्थाका प्रमुखले एक साथ लिखित रूपमा विभेद अन्त्यको घोषणा गरेका थिए । संविधानमा पनि जातीय, वर्गीय, लिंगीय विभेद नहुने उल्लेख छ । तर, पनि उपत्यकाका नेवार जातिभित्र विभेद कायम छ ।

६ महिनाअघि गोदावरी नगरपालिका १२ का एक महर्जन युवाले कपाली थरकी केटीलाई भगाइ विवाह गरेका थिए । चार दिनपछि जब उनले दुलही घरमा भित्र्याउन खोजे । परिवारले मानेनन् । घरबाट निकाल्ने मात्र नभई छुट्टिन दबाब दिए । पछि केटीले बाध्य भएर आफूलाई अन्याय भएको भन्दै न्यायका लागि गोदावरी नगरपालिकाका र महानगरीय प्रहरी वृत्त चापागाउँमा निवेदन दर्ता गरे ।

Citizen


तर, सुनुवाइ भएन । अन्तमा ती केटी अन्यत्र विवाह गरेर जान बाध्य बनिन् । त्यसैगरी, एक जना खडगी थरका केटाले महर्जन कुलकी केटीसँग विवाह गरे । केटी पक्षका परिवारले खोजीनीति गरी छोरीलाई फिर्ता ल्याए । पुनः दुवै जना भागे । प्रहरीमा उजुरी पुग्यो । झगडाकै रूप लियो । अहिले खडगी दम्पतीबाट सन्तान जन्मे ।

केटी पक्षले न ज्वाइँलाई घरमा भित्र्याए न त उनीहरूबाट जन्मेको सन्तानलाई नै । नेवार समुदायमा देवाली गुठीमा छोराज्वाइँ सबैलाई बोलाएर अनिवार्य बलिको शिर पुच्छर छुट्याएर भोज खाने चलन छ । तर, ससुरालीको गुठीमा अझै ज्वाइँले प्रवेश पाएका छैनन् । उनीहरूजस्तै जातीय विभेदको समस्या भोग्न नेवारी समुदायमा थुप्रो छन् । आफ्नो नभई अर्कै थरकी केटी विवाह गरेमा गुठीमा नभित्र्याउने कुप्रथा अझै कायम छ ।

नेवारको छाता संस्थाका रूपमा नेवाः देय दबू छ । यो संस्थाअन्तर्गत नेवार जातिभित्रका २८ जातीय संस्था र संगठन सदस्य छन् । दबूका महासचिव माइलाबाबु देउला जातीय विभेद अन्त्य भएको घोषणा गरे पनि निर्मुल पार्न निरन्तरता दिन नसकेको स्वीकार गर्छन् । उनी भन्छन्, ‘दबूका पदाधिकारी र अन्य प्रभुत्व व्यक्तिले घोषणालाई निकासको रूपमा लिए ।’

उनले जब समस्या आयो तब मात्र तात्ने गरेको बताए । ‘निरन्तर लागिरहनुपर्ने अवस्था देखियो,’ उनले भने, ‘जयस्थिति मल्लले ४ वर्ण र ३६ जातलाई जातीय व्यवस्था सुरु गरेको नभई व्यवस्थित मात्र गरेको हो । उनले ब्राह्मण मुख, क्षेत्री काँध, जैसी पेट र स्रु पैतलाबाट जन्मेको भनी इतिहासमा गलत व्याख्या गरिएको बताए । ‘सबै आमाको कोखबाट जन्मिएका हुन्,’ उनले भने, ‘त्यसैले दलित परिभाषा गर्नु नै गलत हो ।’

देउला समाजका अध्यक्षसमेत रहेका उनले नेवार समुदायमा पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने १९१० को मुलुकी ऐनलाई प्रचलनमा ल्याएको विरोध जनाए । ‘यसलाई सच्याउन ज्ञापनपत्र दिइसकेका छौं,’ उनले भने, ‘नत्र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्छौं ।’ उनले मुलुकमा आमूल परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सुरुमा कुप्रथा अन्त्य गर्न जरुरी रहेको बताए ।

‘यसबारे सरकार पक्ष पनि गम्भीर हुन जरुरी छ,’ उनले भने । नेवार समुदायमा लिच्छविकालदेखि सुरु भएको जात र वर्ण व्यवस्थाको प्रभाव अझै पाइन्छ । सरकारले सूचीकृत गरेका ५९ आदिवासी जनजातिमध्ये नेवार आर्थिक हिसाबले उन्नत समूहमा पर्छ । व्यापार व्यवसायमा अब्बल मानिने यो जातिभित्र पनि ब्राह्मण, क्षत्री, वैश्य र शुद्रजस्तै ४ तहमा विभाजन गरेको पाइन्छ । नेवार समुदायमै रहेका देउला, कुचीकार, च्याम्खललाई भने दलितको सूचीमा राखिएको छ । राष्ट्रिय दलित आयोगले नै यिनलाई दलित मानेको छ ।

नेवाः दे दबूका अध्यक्ष नरेश ताम्रकार पनि नेवार समाजभित्र विभेद भए पनि कम गर्न प्रभावकारी ढंगबाट अगाडि बढ्न नसकिरहेको स्विकार्छन् । भन्छन्, ‘दबूसँग स्रोतसाधन नहुनु पनि अवरोधका विभिन्न कारणमध्ये एक हो,’ उनले भने, ‘एनजीओले पर्याप्त रकम खर्च गरेर कार्यक्रम गर्दा पनि समस्या सिर्जना भएको छ ।’

उनले गुठीको भोजमा अरू सहभागी हुन नपाउनु बिहेवारी नचल्नु मुख्य समस्याको रूपमा रहेको बताए । अधिकारकर्मी शाक्य सुरेनले घोषणापछि नीतिगत कार्यक्रम तर्जुमा गरेर अगाडि बढ्न नसक्नाले अन्योलमा परेको बताए । ‘जातीय समाजका नेतृत्वदायीव्यक्तिले भूमिका नखेल्दा पनि समस्या जस्ताको तस्तै रहेको हो,’ उनले भने ।

राष्ट्रिय जनगणना ०६८ अनुसार मुलुकमा नेवारको संख्या १३ लाख २१ हजार ९ सय ३३ छ । जुन कुल जनसंख्याको ४.९ प्रतिशत हो । नेवारको प्रमुख पहिचान गुठी परम्परालाई मानिन्छ । सामाजिक, धार्मिक, आर्थिक, पारिवारिक सम्बन्धहरू गुठीअन्तर्गत सञ्चालन हुन्छन् । वंश र परम्पराको निरन्तरताको टुंगो पनि गुठी र त्यसका प्रमुख थकालीबाट हुने गर्छ । गुठीका सदस्यलाई गुठियार भनिन्छ । गुठियारको घरपरिवारमा हुने देवाली, व्रतबन्ध, विवाहदेखि मृत्यु संस्कारसम्मका क्रियाकलाप गुठीले गर्छ ।

विभेदको जरो
नेवारलाई बहुधर्मावलम्बी जाति मानिन्छ । नेवारभित्र हिन्दु र बौद्ध धर्म मान्ने छन् । नेवार समुदायका महिलाले विभिन्न थरीका गरगहना पहिरिए पनि नाक छेडदैनन् र फुली पनि लगाउँदैनन् । तर, सामाजिक भेदका कारण नाक छेड्ने महिला भेटिन्छन् । विशेषगरी ‘दलित’ मानिने समुदायमा यो चलन बढेको छ ।

विभेदबाट मुक्ति पाउन केहीले धर्म परिवर्तन गर्ने गरेको पनि पाइन्छ । कतिपय उपल्लो जातका युवाले कथित तल्लो जातिकी युवतीसँग विवाह गरे समाजबाट बहिस्कृत हुने, बुहारीलाई कुलमा सामेल नगरिने गरेको पाइन्छ । यस्तै, कथित तल्लो जातिका युवासँग आफ्नी छोरीचेलीले विवाह गरे माइती पक्षले सधैंका लागि त्याग्ने गरेको उदाहरण पनि छन् ।

नेवाः पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जन भन्छन्, ‘यस सम्बन्धी समन्व्य, दबाब दिने अधिकारी दबूलाई छ ।’ उनका अनुसार सामाजिक जातीय विभेदलाई नयाँ पुस्ताले बेवास्ता गर्ने गरे पनि गुठीमा कठोर व्यवस्थाका कारण चटक्कै छोड्न सकेको अवस्था छैन । ‘यसमा दबूका पदाधिकारी सक्रिय हुनुपर्छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०८:१४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मौलिक बस्ती संरक्षणको पहल

कान्तिपुर संवाददाता

ललितपुर — काठमाडौं र काभ्रे उपत्यकाका मौलिक बस्ती संरक्षण गर्न पहल गर्ने भएको छ । ललितपुर महानगरपालिकाद्वारा मंगलबार आयोजित दोस्रो मेयर्स फोरम बैठकमा उपस्थित १४ वटा नगरपालिकाका मेयर, उपमेयरले पुरातात्त्विक महत्त्वका बस्ती जोगाउन सामूहिक प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा पुनर्निर्माण पुरानो शैलीमा गर्ने र मूर्त तथा अमूर्त सम्पदाको संरक्षण गर्ने सहमति भएको ललितपुर महानगरले जनाएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सम्पदा क्षेत्रमा नेवारी वास्तुकला शैलीमा घर पुनर्निर्माण गरेमा नक्सापासमा छुट दिने बताए । ‘घोषणापत्रमा छलफल गर्ने धेरै विषय रहेकाले अन्तिम रूप दिएर सार्वजनिक गर्नेछौं,’ उनले भने, ‘सम्पदा संरक्षणमा सार्वजनिक खरिद ऐन २०६३ बाधक छ ।’

उनले ऐन तत्काल संशोधन गरेर अघि बढ्नुपर्ने बताए । ‘यही ऐनअनुसार सम्पदा निर्माण गर्न दिएमा ठेकेदार मोटाउने र सम्पदाहरू कुरूप हुँदै जानेछ,’ उनले भने । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गुठी संस्थानमा भएको बजेट मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा खर्च गर्न फोरमले पहल गरिने बताए । बैठकमा ललितपुर, भक्तपुर, कीर्तिपुर र पनौती नगरपालिकाले सम्पदा जोगाउन गरेको प्रयास प्रतिवेदनमार्फत प्रस्तुत गरेको महानगरले जनाएको छ ।

बैठकमा बे डिजाइन युनिभर्सिटी जापानका प्राध्यापक योकियो निसुमुरा पनि उपस्थित थिए । फोरमको बैठक प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको छ । पहिलो बैठक पनौती नगरपालिकामा गत वर्षभएको थियो । अब तेस्रो बैठक कीर्तिपुरमा हुँदै छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०८:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT