रोकिएन नेवारभित्रै विभेद

प्रशान्त माली

ललितपुर — नेवार जातिबीच भेदभाव र छुवाछुत अन्त्यको घोषणा भएको ७ वर्ष बितिसक्दा पनि व्यवहारमा लागू हुन सकेको छैन । २०६८ मा काठमाडौंको वसन्तपुरमा विभिन्न ६५ थरी नेवारभित्रका जातीय संस्थाका प्रमुखले एक साथ लिखित रूपमा विभेद अन्त्यको घोषणा गरेका थिए । संविधानमा पनि जातीय, वर्गीय, लिंगीय विभेद नहुने उल्लेख छ । तर, पनि उपत्यकाका नेवार जातिभित्र विभेद कायम छ ।

६ महिनाअघि गोदावरी नगरपालिका १२ का एक महर्जन युवाले कपाली थरकी केटीलाई भगाइ विवाह गरेका थिए । चार दिनपछि जब उनले दुलही घरमा भित्र्याउन खोजे । परिवारले मानेनन् । घरबाट निकाल्ने मात्र नभई छुट्टिन दबाब दिए । पछि केटीले बाध्य भएर आफूलाई अन्याय भएको भन्दै न्यायका लागि गोदावरी नगरपालिकाका र महानगरीय प्रहरी वृत्त चापागाउँमा निवेदन दर्ता गरे ।

Citizen


तर, सुनुवाइ भएन । अन्तमा ती केटी अन्यत्र विवाह गरेर जान बाध्य बनिन् । त्यसैगरी, एक जना खडगी थरका केटाले महर्जन कुलकी केटीसँग विवाह गरे । केटी पक्षका परिवारले खोजीनीति गरी छोरीलाई फिर्ता ल्याए । पुनः दुवै जना भागे । प्रहरीमा उजुरी पुग्यो । झगडाकै रूप लियो । अहिले खडगी दम्पतीबाट सन्तान जन्मे ।

केटी पक्षले न ज्वाइँलाई घरमा भित्र्याए न त उनीहरूबाट जन्मेको सन्तानलाई नै । नेवार समुदायमा देवाली गुठीमा छोराज्वाइँ सबैलाई बोलाएर अनिवार्य बलिको शिर पुच्छर छुट्याएर भोज खाने चलन छ । तर, ससुरालीको गुठीमा अझै ज्वाइँले प्रवेश पाएका छैनन् । उनीहरूजस्तै जातीय विभेदको समस्या भोग्न नेवारी समुदायमा थुप्रो छन् । आफ्नो नभई अर्कै थरकी केटी विवाह गरेमा गुठीमा नभित्र्याउने कुप्रथा अझै कायम छ ।

नेवारको छाता संस्थाका रूपमा नेवाः देय दबू छ । यो संस्थाअन्तर्गत नेवार जातिभित्रका २८ जातीय संस्था र संगठन सदस्य छन् । दबूका महासचिव माइलाबाबु देउला जातीय विभेद अन्त्य भएको घोषणा गरे पनि निर्मुल पार्न निरन्तरता दिन नसकेको स्वीकार गर्छन् । उनी भन्छन्, ‘दबूका पदाधिकारी र अन्य प्रभुत्व व्यक्तिले घोषणालाई निकासको रूपमा लिए ।’

उनले जब समस्या आयो तब मात्र तात्ने गरेको बताए । ‘निरन्तर लागिरहनुपर्ने अवस्था देखियो,’ उनले भने, ‘जयस्थिति मल्लले ४ वर्ण र ३६ जातलाई जातीय व्यवस्था सुरु गरेको नभई व्यवस्थित मात्र गरेको हो । उनले ब्राह्मण मुख, क्षेत्री काँध, जैसी पेट र स्रु पैतलाबाट जन्मेको भनी इतिहासमा गलत व्याख्या गरिएको बताए । ‘सबै आमाको कोखबाट जन्मिएका हुन्,’ उनले भने, ‘त्यसैले दलित परिभाषा गर्नु नै गलत हो ।’

देउला समाजका अध्यक्षसमेत रहेका उनले नेवार समुदायमा पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने १९१० को मुलुकी ऐनलाई प्रचलनमा ल्याएको विरोध जनाए । ‘यसलाई सच्याउन ज्ञापनपत्र दिइसकेका छौं,’ उनले भने, ‘नत्र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्छौं ।’ उनले मुलुकमा आमूल परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सुरुमा कुप्रथा अन्त्य गर्न जरुरी रहेको बताए ।

‘यसबारे सरकार पक्ष पनि गम्भीर हुन जरुरी छ,’ उनले भने । नेवार समुदायमा लिच्छविकालदेखि सुरु भएको जात र वर्ण व्यवस्थाको प्रभाव अझै पाइन्छ । सरकारले सूचीकृत गरेका ५९ आदिवासी जनजातिमध्ये नेवार आर्थिक हिसाबले उन्नत समूहमा पर्छ । व्यापार व्यवसायमा अब्बल मानिने यो जातिभित्र पनि ब्राह्मण, क्षत्री, वैश्य र शुद्रजस्तै ४ तहमा विभाजन गरेको पाइन्छ । नेवार समुदायमै रहेका देउला, कुचीकार, च्याम्खललाई भने दलितको सूचीमा राखिएको छ । राष्ट्रिय दलित आयोगले नै यिनलाई दलित मानेको छ ।

नेवाः दे दबूका अध्यक्ष नरेश ताम्रकार पनि नेवार समाजभित्र विभेद भए पनि कम गर्न प्रभावकारी ढंगबाट अगाडि बढ्न नसकिरहेको स्विकार्छन् । भन्छन्, ‘दबूसँग स्रोतसाधन नहुनु पनि अवरोधका विभिन्न कारणमध्ये एक हो,’ उनले भने, ‘एनजीओले पर्याप्त रकम खर्च गरेर कार्यक्रम गर्दा पनि समस्या सिर्जना भएको छ ।’

उनले गुठीको भोजमा अरू सहभागी हुन नपाउनु बिहेवारी नचल्नु मुख्य समस्याको रूपमा रहेको बताए । अधिकारकर्मी शाक्य सुरेनले घोषणापछि नीतिगत कार्यक्रम तर्जुमा गरेर अगाडि बढ्न नसक्नाले अन्योलमा परेको बताए । ‘जातीय समाजका नेतृत्वदायीव्यक्तिले भूमिका नखेल्दा पनि समस्या जस्ताको तस्तै रहेको हो,’ उनले भने ।

राष्ट्रिय जनगणना ०६८ अनुसार मुलुकमा नेवारको संख्या १३ लाख २१ हजार ९ सय ३३ छ । जुन कुल जनसंख्याको ४.९ प्रतिशत हो । नेवारको प्रमुख पहिचान गुठी परम्परालाई मानिन्छ । सामाजिक, धार्मिक, आर्थिक, पारिवारिक सम्बन्धहरू गुठीअन्तर्गत सञ्चालन हुन्छन् । वंश र परम्पराको निरन्तरताको टुंगो पनि गुठी र त्यसका प्रमुख थकालीबाट हुने गर्छ । गुठीका सदस्यलाई गुठियार भनिन्छ । गुठियारको घरपरिवारमा हुने देवाली, व्रतबन्ध, विवाहदेखि मृत्यु संस्कारसम्मका क्रियाकलाप गुठीले गर्छ ।

विभेदको जरो
नेवारलाई बहुधर्मावलम्बी जाति मानिन्छ । नेवारभित्र हिन्दु र बौद्ध धर्म मान्ने छन् । नेवार समुदायका महिलाले विभिन्न थरीका गरगहना पहिरिए पनि नाक छेडदैनन् र फुली पनि लगाउँदैनन् । तर, सामाजिक भेदका कारण नाक छेड्ने महिला भेटिन्छन् । विशेषगरी ‘दलित’ मानिने समुदायमा यो चलन बढेको छ ।

विभेदबाट मुक्ति पाउन केहीले धर्म परिवर्तन गर्ने गरेको पनि पाइन्छ । कतिपय उपल्लो जातका युवाले कथित तल्लो जातिकी युवतीसँग विवाह गरे समाजबाट बहिस्कृत हुने, बुहारीलाई कुलमा सामेल नगरिने गरेको पाइन्छ । यस्तै, कथित तल्लो जातिका युवासँग आफ्नी छोरीचेलीले विवाह गरे माइती पक्षले सधैंका लागि त्याग्ने गरेको उदाहरण पनि छन् ।

नेवाः पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जन भन्छन्, ‘यस सम्बन्धी समन्व्य, दबाब दिने अधिकारी दबूलाई छ ।’ उनका अनुसार सामाजिक जातीय विभेदलाई नयाँ पुस्ताले बेवास्ता गर्ने गरे पनि गुठीमा कठोर व्यवस्थाका कारण चटक्कै छोड्न सकेको अवस्था छैन । ‘यसमा दबूका पदाधिकारी सक्रिय हुनुपर्छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्

ट्याङ्की चुहियो, मर्मतमा अवरोध

प्रशान्त माली

ललितपुर — मूलमा पर्याप्त पानी छ । तर, ललितपुरका नगरभित्र पानी पुगेको छैन । एउटा कारण नल्लुका स्थानीयवासीको अवरोध देखिएको छ । सोही कारण खानेपानी नगर ल्याउने योजना समेत अलपत्र छ । 

ललितपुरको नल्लु खोलास्थित ट्यांकीबाट ललितपुर महानगरमा ल्याइने खानेपानीको फलामे पाइप अलपत्र अवस्थामा । तस्बिर : प्रशान्त/कान्तिपुर

ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकावासीले उपभोग गर्दै आइरहेको खानेपानीको मुहान नल्लु खोलामा पर्छ । खोलामा ट्यांकी बनाएर पानी जम्मा गरी पोलिथिनको ६ इन्चको दुईवटा पाइपमार्फत नगर ल्याइएको थियो । ४० वर्ष पुरानो उक्त पोलिथिनको पाइप जीर्ण भएर ठाउँठाउँमा पानी चुहिएको छ । नयाँ १० इन्चको फलामको पाइप फेर्न ललितपुर महानगरले चालु आवमा ५० लाख, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले ५० लाख र गोदावरी नगरले २५ लाख रुपैयाँ बजेट छुट्याएका थिए ।

स्थानीयले रोजगारी, सडक बनाइदिनुपर्नेलगायत विभिन्न माग राखेर पाइप फेर्न नदिएपछि दुई महिनादेखि काम ठप्प छ । खानेपानी ट्यांकी नल्लु बस्तीभन्दा तल्लो भागमा पर्छ । केयूकेएल ललितपुर शाखा कार्यालयका अनुसार सुरुमा एक/दुई जना व्यक्ति आएर गाउँको विकास गर्न भन्दै दुई लाख रुपैयाँ मागेका थिए । नदिएपछि तिनीहरू मिलेर स्थानीयलाई उचालेर विभिन्न माग राखी अवरोध खडा गरेको आरोप छ ।

केयूकेएल ललितपुर प्रमुख डोलप्रसाद चापागाईंले नल्लु ट्यांकीबाटथप बढी पानी ल्याउन खोजेको नभई पुरानो पाइप मात्र परिर्वतन गर्न लागेको बताए । ‘यसले माथिल्लो भेगमा अवस्थित नल्लु बस्तीलाई केही असर गर्दैन,’ उनले भने, ‘ट्यांकी भन्दा तल बस्तीका स्थानीयले विरोध गरेका छैनन् ।’ केयूकेएलले प्रत्येक वर्ष बाढीले बगाउने भन्दै नल्लु खोलाको ट्यांकीबाट पाटन ल्याइएको प्लास्टिकको पाइप उठाउने गरेको छ ।

एउटा पाइप खोलाबाट उठाएपछि दैनिक ८ लाख लिटर पानी आपूर्तिबन्द हुने गरेको छ । पाइप फर्नेले बगाउने समस्याबाट मुक्त मिल्ने केयूकेएलको भनाइ छ ।

गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनले स्थानीयले गरेको विरोधको कुनै औचित्य नभएको बताए । ‘अहिले नयाँ ट्यांकी बनाएर पानी ल्याउन खोजेका होइनौं,’ उनले भने, ‘पुस्तौंदेखि ल्याइराखेको पानीको पाइप मात्र सुधार गर्न लागेका हौं ।’ उनले खानेपानी समस्या समाधान गर्न लेले बासुरी दोभान, चारघरे मूल र मूलडोलको पानी पनि व्यवस्थापन गर्ने योजना रहेको बताए । कोन्ज्योसोम गाउँपालिका–४ नल्लुका वडाध्यक्ष तीर्थबहादुर घलानले स्थानीय र सम्बन्धित निकायबीच वार्ता भइरहेको बताए । ‘बुधबार पनि छलफलका लागि बोलाएका छौ,’ उनले भने ।

नल्लु ट्यांकी चुहियो
नल्लु खोलास्थित ट्यांकी जीर्ण भई पानी चुहिएर खेर गइरहेको छ । सम्बन्धित निकायले ट्यांकी पुनर्निर्माण नगर्दा दैनिक १० लाख लिटरभन्दा बढी पानी आपूर्ति हुन सकेको छैन । मूलमा पर्याप्त पानी हुँदा पनि सम्बन्धित निकायले उचित व्यवस्थापन नगर्दा ललितपुरबासीले समस्या झेल्नुपरेको स्थानीय बासिन्दा बताउँछन् ।

ठेचोका रमन महर्जन भन्छन्, ‘मूलमा प्रशस्त पानी भए पनि केयूकेएलले उचित व्यवस्थापन नगर्दा खानेपानीको अनावश्यक समस्या झेल्नुपेरको छ ।’ उनका अनुसार खोलाको बीचमा ड्यामसँगै नयाँ इन्टेक ट्यांकी निर्माण गरी १०/१० इन्चको दुईवटा पाइपबाट पानी ल्याएमा ललितपुरमा मेलम्चीको पानी ल्याउनु पर्दैन । ‘तर केयूकेएलले भने बजेट अभाव देखाउँदै प्रत्येक वर्ष बेवास्ता गर्दै आएको छ,’ उनले भने ।

लेले बासुकी दोभानस्थित बनाएको कलेक्सन चेम्बरको हालत उस्तै छ । डोलबाट रसेर आएको पानी जम्मा गर्न ठाउँठाउँमा बनाउनुपर्ने कलेक्सन चेम्बर पर्याप्त छैन । यी मुहानबाट दैनिक १ करोड लिटर पानी पाटन ल्याउन सकिने भए पनि केयूकेएलले चासो नदिएको उनको भनाइ छ । ‘अहिले दैनिक २५ लाख लिटर पनि पानी ल्याउन सकेको छैन,’ उनले भने, ‘केयूकेएलले प्रत्येक वर्ष नयाँ ट्यांकी बनाउने योजना रहेको बनाउँछ । तर, अन्त्यमा बजेट अभावको कारण देखाउँदै पन्छिन खोज्छन् ।’

पाटनवासी अहिले ट्यांकरको पानी किन्न बाध्य छन् । नल्लु खोला र बासुकी दोभानको पानी चापागाउँ, झरुवारासी, ठेचो, सुनाकोठी र पाटनवासीलाई वितरण गरिन्छ । ललितपुरमा दैनिक ५ करोड लिटर बढी पानी माग छ । १ करोड लिटर पनि वितरण गर्न सकेको छैन । केयूकेएलले ललितपुरमा ४० हजारभन्दा बढी धारा वितरण गरे पनि १५ हजारमा पनि दैनिक पानी आउँदैन ।

केयूकेएल ललितपुर शाखा प्रमुख चापागाईंले नल्लु खोलालाई गहिरो बनाई बीचमा ड्याम निर्माण गरी ट्यांकी सुधार गर्ने योजना रहेको बताए । ‘मूलदेखि लेले बासुकी दोभानसम्म झन्डै एक हजार मिटर नयाँ प्लास्टिकको पाइप राख्ने योजना पनि छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन २३, २०७५ ०७:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्