२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

स्मार्ट लाइसेन्स १७ महिना कुर्दा पनि नपाएको सेवाग्राहीको गुनासो

दीपेन्द्र विष्ट

काठमाडौँ — लमजुङका राम गुरुङले सवारी स्मार्ट लाइसेन्सका लागि आवेदन दिएको १५ महिना भयो । बल्लबल्ल गत महिना प्रिन्ट भएको सवारी अनुमति कार्यालय सानो भर्‍याङले उनलाई जानकारी गरायो । तर, प्रिन्ट गर्दा नाम फरक परेको देखियो । त्यसपछि पुनः छाप्ने आश्वासन उनलाई दिइयो । रामेछापका सानु मगरले स्मार्ट लाइसेन्स कार्डका लागि आवेदन दिएको १७ महिना भयो । उनको पनि नाम छपाइ फरक परेको यातायात कार्यालय भक्तपुरले जानकारी दियो । 

स्मार्ट लाइसेन्स १७ महिना कुर्दा पनि नपाएको सेवाग्राहीको गुनासो

पछिल्लो पटक कार्डमा तस्बिर, हस्ताक्षरलगायत विभिन्न कुरा स्पष्ट नदेखिएको जनगुनासो बढ्न थालेको छ । कहिले मेसिनको गडबडी र कहिले प्रिन्ट गल्तीले गर्दा ढिलाइ भएको यातायात व्यवस्था विभागले सेवाग्राहीलाई जवाफ दिँदै आएको छ । ‘यो त साह्रै सास्ती दिने काम भयो, स्मार्ट लाइसेन्स लिन एक वर्ष कुर्नपर्छ भने, १७ महिना भइसक्यो पाएको छैन, अरू त यो मुलुकबाट के आशा गर्नु ?’ विभागको कार्यालयमा भेटिएका सानु मगरले भने, ‘प्रिन्ट भयो भन्ने थाहा पाएँ तर मेरो नाम नै गलत प्रिन्ट भएको रहेको छ ।’ पछिल्लो पटक विभागले मद्रास सेरी प्रिन्टिङले कार्ड छपाइमा ढिलाइ गरेको भन्दै मालिका प्रिन्टिङ प्रालिलाई जिम्मा दिएको छ । मालिकाले २० हजार स्मार्ट कार्ड छपाइमा गल्ती गरेको छ । ती कार्डलाई रिप्रिन्ट गर्न ढिलाइ भइरहेको जानकारी विभागका एक अधिकारीले दिए ।


‘सेवाग्राही प्रत्येक दिन आउँछन्, निकै समस्या भएको छ, निर्णय गर्न नै समय लाग्लाजस्तो छ,’ ती अधिकारीले भने, ‘सेवाग्राहीलाई सास्ती छ, चाँडै निर्णय गरे राम्रो हुन्छ ।’ कार्डको माग र आपूर्तिबीच असन्तुलन हुँदा हालसम्म पनि ट्रायल पास अथवा नवीकरण गरेको १७ महिनासम्म स्मार्ट कार्ड कुर्नुपर्ने अवस्था रहेको ती अधिकारीको भनाइ छ ।


गत असोजमा निजी कम्पनी मालिका इन्कर्पोरेट प्रालिलाई थर्मल प्रिन्टिङ (सामान्य लेखाइ) विधिबाट ५ लाख कार्ड ४५ दिनभित्र प्रिन्ट गर्ने गरी सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार मालिकाले कात्तिक ४ गतेदेखि कार्ड प्रिन्ट सुरु गरेको हो । मालिकाले ३ लाख ५० हजार स्मार्ट लाइसेन्स छापेको विभागका प्रवक्ता गोकर्ण उपाध्यायले बताए । ‘मालिकाले छपाइमा गल्ती गरेकाले समस्या आएको छ, गल्ती छापिएका कार्ड संख्या बुझाउन निर्देशन दिइसकेका छौं,’ उनले भने, ‘पुसदेखि मालिकासँग गरेको सम्झौता पनि समाप्त भइसकेको छ ।’ जनगुनासो बढेकाले छिटोछरितो गर्न निजी कम्पनीलाई छाप्ने जिम्मा दिए पनि केही प्राविधिक समस्या आएको उपाध्यायले बताए ।


सेवाग्रहीलाई समस्या भएको भन्दै उनले दुई हप्ताभित्र रिप्रिन्ट गर्न निर्देशन दिने बताए । हाल आफूसँग भएका ८ वटा प्रिन्टरमध्ये ५ वटाबाट मात्र प्रिन्ट गर्दै आएको छ । मालिका इन्कर्पोरेटका प्रबन्ध निर्देशक सुरेन्द्र ढकालले आफूलाई जिम्मा दिएको सबै कार्ड छापिसकेको बताए । ‘लेजर प्रिन्ट गर्नुपर्नेमा थर्मल प्रविधिबाट प्रिन्ट गर्दा २/३ प्रतिशत समस्या देखिएको हो, विभागसँग सम्झौता गर्दा हामीले स्पष्ट रूपमा भनिसकेका छौं,’ उनले भने, ‘त्यो पनि समाधान भइसकेको छ, एक दुई दिनभित्रै सबै समस्या समाधन गर्छौं ।’


प्रकाशित : चैत्र १, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?