चर्पी मासेर पसल

राजेन्द्र मानन्धर

काठमाडौँ — काठमाडौं महानगर २२ स्थित वडा कार्यालयलाई एउटा पिरलो छ, बढ्नुपर्ने चर्पीको संख्या घटदै गएकामा । ‘राजधानीको पनि राजधानी’ भनिने महानगरको न्युरोड क्षेत्रमा शौचालय घटदै जानु घर संख्या घटदै गएकाले होइन । मानिसको आवतजावत घटेको पनि होइन ।

दिनको समयमा झन मानिसको आवतजावत बढे पनि चर्पीको संख्या भने किन घटयो भन्ने कारण वडा कार्यालयले खोज्न थाल्यो । ‘खोज्दै जाँदा चर्पी भत्काएर त्यसका ठाउॅमा पसल राख्न थालिएको पाइयो,’ वडाध्यक्ष चिनीकाजी महर्जनले भने, ‘जस्तो कुनामा पनि पसल भाडामा लाग्न थालेपछि चर्पीहरू मासिनथालेका हुन् ।’

महानगरको लक्ष्य सहर र व्यस्त क्षेत्रमा शौचालयको संख्या बढाउनेछ । ‘स्मार्ट शौचालय अभियान’ अन्तर्गत यसै वर्ष विभिन्न क्षेत्रको सहकार्यमा २ सयभन्दा बढी सुविस्तायुक्त चर्पी बनाउने कार्य अघि वढाइएको छ । भएकालाई स्तरोन्नति गर्न थालिएको छ । न्युरोड क्षेत्रमा भने शौचालय घटदै गएको वडा कार्यालयको व्यवसाय दर्ता अभिलेखबाट खुल्छ । ‘यहाॅ घरभित्रको एउटा चर्पी नासेर भाडामा दिए तुरुन्तै २५/३० हजार आइहाल्छ,’ वडासदस्य चन्द्रलाल तुलाधर भन्छन्, ‘घरभित्रको चर्पी राख्ने नराख्नेबारे वडाले कदम चाल्न मिल्दैन । तर पनि सकेसम्म त्यसो नगर्न सम्झाएर पठाउँछौँ ।’

उक्त वडाभित्र २ हजार घर छन् । सबै घरका छिँडीदेखि छतसम्ममा पसलै पसल छन् । घरका पेटी, घरभित्रको बाटो, भर्‍याङको च्यापदेखि बार्दली र छतसम्म पसल हुन्छन् । कुनै पनि साना कुनाकाप्चा खाली देखियो कि पसल राख्ने योजना बनिहाल्छ । वडासदस्य रश्मिला मल्ल भन्छिन्, ‘शौचालय नहुॅदा पुरुषलाई भन्दा महिलालाई बढी समस्या पर्छ । सकेसम्म शौचालय नमास्न अनुरोध गरिरहेका छौँ ।’

वडा कार्यालयका कर्मचारीहरूको भनाइमा अति नै साना क्षेत्रफलमा व्यवसाय दर्ता गर्न आएपछि अर्को एउटा शौचालय नासियो भन्ने शंका हुन्छ । सोध्दा शौचालय नचाहिने भएपछि त्यसलाई भत्काएर पसल बनाइएको बताउने सेवाग्राहीको जवाफ आउने वडाध्यक्ष महर्जनको भनाइ छ । अहिले न्युरोडका अधिकांश घरहरूका छिडीका चर्पीहरू भत्किसकेको वडा कार्यालयको अनुमान छ ।

लोभलाग्दो भाडा आउने हुॅदा पूरै घर भाडामा दिएर घरधनीहरू भीडभाड नहुने खुला ठाउॅमा घर बनाएर सरिरहेका छन् । एउटा घरमा आवश्यकता पूर्ति गर्न केही शौचालय राख्ने मात्रै चलन आएको वडासदस्य अनिल हाडा बताउँछन् । सय पसल भएको एउटा घरमा १/२ वटा मात्रै शौचालय बाँकी राखिएको हाडाले अनुमान गरे ।

०६८ को जनगणनाअनुसार काठमाडौं महानगरभित्र २ लाख ५४ हजार घर छन् । फ्लससहितको शौचालय संख्या २ लाख ३४ हजार छन् । सामान्य शौचालय १७ हजार र अन्य २ हजार शौचालय छन् । ७ वर्षअघि गरिएको गणनाभन्दा अहिले शौचालय संख्या बढदै गए पनि न्युरोडको वडा २२ मा भने घटदो छ । उक्त वडाको भूगोलपार्कमा सार्वजनिक शौचालय थियो ।

हाल मासिएको उक्त ठाउँमा काठमाडौंका कलाकृति झल्कने शौचालय बनाउने नक्सा तयार भइसकेको वडाध्यक्ष महर्जनले जानकारी दिए । सांसद क्षेक्र विकास कार्यत्रमको १ करोड विनियोजन भइसकेको र आवश्यकताका आधारमा रकम थप्न सकिने उनले जानकारी दिए ।

शौचालयको संख्या बढाउन, स्तरोन्नति गर्न र सहरलाई वातावरण मैत्री बनाउन तत्काल सार्वजनिक स्मार्ट शौचालय बनाउने कार्यक्रम ल्याइएको काठमाडौं महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ बताउँछिन् । व्यावसायिक भवन र निजी घरहरूलाई व्यवस्थित सेफ्टी ट्या‌ंकीसहित निर्माण गर्न नगरपालिकाको मापदण्ड छ ।

यात्रु र सेवाग्रहीलाई शौचालयको राम्रो बन्दोबस्त हुनुपर्ने कुरालाई ध्यान दिएर उपमेयर श्रेष्ठकै अध्यक्षतामा समिति निर्माण गरी सूक्ष्म ढंगले कार्य थानली गरेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

प्रकाशित : चैत्र २, २०७५ ०७:४४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

१० शाखा एउटै कोठामा

कान्तिपुर संवाददाता

धादिङ — खनियाँबास गाउँपालिका कार्यालय । सानो कोठा, सेवाग्राहीको भीड । एउटा सानो सोफा, २ कुर्सी, एकातर्फ गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ र अर्कातर्फ उपाध्यक्ष योमाया तामाङ । भेटघाटका लागि कोही आए उभिनुपर्ने बाध्यता । वडाध्यक्षहरू सोफामा बस्दा योजनाबारे छलफलका लागि आएका सेवाग्राही उठेरै आफ्ना कुरा राख्नुपर्ने अवस्था । न्यायिक समितिको छलफल उपाध्यक्षले बाहिर चौतारीमा गराउँछिन् ।

स्थान अभावले एउटै कोठामा कार्यसम्पादन गर्दै धादिङ खनियाबास गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष । तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर

गाउँपालिकामा कार्यपालिका बैठक पनि चौतारीमै बस्नुपर्ने अवस्था छ । दार्खा, झार्लाङ र सत्यदेवी गाविसलाई समायोजन गरी ५ वडा गराइएको खनियाँबासको स्थानीय सदरमुकाम टुंगो नलाग्दा भवन निर्माण पनि भएको छैन ।

साविक दार्खा गाविसको ४ कोठे भवनमा सञ्चालनमा रहेको गाउॅपालिका कार्यालयअन्तर्गतका १० आन्तरिक शाखाहरू एउटै कोठामा कोचिएका छन् । ‘एउटा शाखाको काम गर्न सेवाग्राही आउँदा अर्कोमा कामै नहुने अवस्था आउँछ,’ पञ्जीकरण शाखा सम्हालेका नायब सुब्बा दुर्गा शाही ठकुरीले बताए । ठकुरीका अनुसार सबैभन्दा ठूलो हल यही हाम्रो कोठा छ, गाउॅ कार्यपालिकाको नियमित वैठकमा सबै फाॅटका कर्मचारी नजिकैको चौतारीमा गर्ने उनले सुनाए ।

‘पानी परेका दिनमा बैठक वा सेवा रोक्नुपर्ने हुन्छ,’ उनले सुनाए । पञ्जीकरण, प्रशासन, योजना शाखा, प्राविधिक, स्थानीयस्तरमा विकास साझेदार संस्थालगायतका १० शाखाको दैनिक कार्य एउटै कोठाबाट सञ्चालन हुन्छ । टेबलै राख्ने स्थान नभएपछि कतिपय २ शाखा एउटै टेबलबाट पनि सञ्चालनमा छन् । पशु, शिक्षा, कृषिलगायत विषयगत शाखाहरू भने भूकम्पपछि निर्माण गरिएका अस्थायी टहराबाट सञ्चालित छन् ।

कार्यालय समयबाहेक कर्मचारीहरूलाई समय बिताउनसमेत कठिन हुने गरेकोछ । गाउॅपालिका वरपर कर्मचारीहरू भाडामा बस्न उपयुक्त घरहरू पनि छैनन् । एउटैघरका ४ कोठामा १० कर्मचारी भाडामा बसेका छन् । ‘एउटै खाटमा २ देखि ३ जना सुत्ने गरेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत दिपेश बिडारीले भने ।

साविकका ३ गाविसका बीचमा पर्ने र अधिकांश जनतालाई सुविधा दिन पुग्ने गरी गाउॅपालिकाको स्थायी भवन निर्माण गर्ने योजनामा रहेको अध्यक्ष तामाङले बताए । ‘तर भवन निर्माण गर्ने स्थानको टुंगो लागेको छैन,’ उनले भने, ‘यसै आवमै उपयुक्त भवन निर्माणको थालनी गर्ने छौं ।’

प्रकाशित : चैत्र २, २०७५ ०७:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्