चर्पी मासेर पसल

राजेन्द्र मानन्धर

काठमाडौँ — काठमाडौं महानगर २२ स्थित वडा कार्यालयलाई एउटा पिरलो छ, बढ्नुपर्ने चर्पीको संख्या घटदै गएकामा । ‘राजधानीको पनि राजधानी’ भनिने महानगरको न्युरोड क्षेत्रमा शौचालय घटदै जानु घर संख्या घटदै गएकाले होइन । मानिसको आवतजावत घटेको पनि होइन ।

दिनको समयमा झन मानिसको आवतजावत बढे पनि चर्पीको संख्या भने किन घटयो भन्ने कारण वडा कार्यालयले खोज्न थाल्यो । ‘खोज्दै जाँदा चर्पी भत्काएर त्यसका ठाउॅमा पसल राख्न थालिएको पाइयो,’ वडाध्यक्ष चिनीकाजी महर्जनले भने, ‘जस्तो कुनामा पनि पसल भाडामा लाग्न थालेपछि चर्पीहरू मासिन थालेका हुन् ।’


महानगरको लक्ष्य सहर र व्यस्त क्षेत्रमा शौचालयको संख्या बढाउनेछ । ‘स्मार्ट शौचालय अभियान’ अन्तर्गत यसै वर्ष विभिन्न क्षेत्रको सहकार्यमा २ सयभन्दा बढी सुविस्तायुक्त चर्पी बनाउने कार्य अघि वढाइएको छ । भएकालाई स्तरोन्नति गर्न थालिएको छ । न्युरोड क्षेत्रमा भने शौचालय घटदै गएको वडा कार्यालयको व्यवसाय दर्ता अभिलेखबाट खुल्छ । ‘यहाॅ घरभित्रको एउटा चर्पी नासेर भाडामा दिए तुरुन्तै २५/३० हजार आइहाल्छ,’ वडासदस्य चन्द्रलाल तुलाधर भन्छन्, ‘घरभित्रको चर्पी राख्ने नराख्नेबारे वडाले कदम चाल्न मिल्दैन । तर पनि सकेसम्म त्यसो नगर्न सम्झाएर पठाउँछौँ ।’


उक्त वडाभित्र २ हजार घर छन् । सबै घरका छिँडीदेखि छतसम्ममा पसलै पसल छन् । घरका पेटी, घरभित्रको बाटो, भर्‍याङको च्यापदेखि बार्दली र छतसम्म पसल हुन्छन् । कुनै पनि साना कुनाकाप्चा खाली देखियो कि पसल राख्ने योजना बनिहाल्छ । वडासदस्य रश्मिला मल्ल भन्छिन्, ‘शौचालय नहुॅदा पुरुषलाई भन्दा महिलालाई बढी समस्या पर्छ । सकेसम्म शौचालय नमास्न अनुरोध गरिरहेका छौँ ।’


वडा कार्यालयका कर्मचारीहरूको भनाइमा अति नै साना क्षेत्रफलमा व्यवसाय दर्ता गर्न आएपछि अर्को एउटा शौचालय नासियो भन्ने शंका हुन्छ । सोध्दा शौचालय नचाहिने भएपछि त्यसलाई भत्काएर पसल बनाइएको बताउने सेवाग्राहीको जवाफ आउने वडाध्यक्ष महर्जनको भनाइ छ । अहिले न्युरोडका अधिकांश घरहरूका छिडीका चर्पीहरू भत्किसकेको वडा कार्यालयको अनुमान छ ।


लोभलाग्दो भाडा आउने हुॅदा पूरै घर भाडामा दिएर घरधनीहरू भीडभाड नहुने खुला ठाउॅमा घर बनाएर सरिरहेका छन् । एउटा घरमा आवश्यकता पूर्ति गर्न केही शौचालय राख्ने मात्रै चलन आएको वडासदस्य अनिल हाडा बताउँछन् । सय पसल भएको एउटा घरमा १/२ वटा मात्रै शौचालय बाँकी राखिएको हाडाले अनुमान गरे ।


०६८ को जनगणनाअनुसार काठमाडौं महानगरभित्र २ लाख ५४ हजार घर छन् । फ्लससहितको शौचालय संख्या २ लाख ३४ हजार छन् । सामान्य शौचालय १७ हजार र अन्य २ हजार शौचालय छन् । ७ वर्षअघि गरिएको गणनाभन्दा अहिले शौचालय संख्या बढदै गए पनि न्युरोडको वडा २२ मा भने घटदो छ । उक्त वडाको भूगोलपार्कमा सार्वजनिक शौचालय थियो ।


हाल मासिएको उक्त ठाउँमा काठमाडौंका कलाकृति झल्कने शौचालय बनाउने नक्सा तयार भइसकेको वडाध्यक्ष महर्जनले जानकारी दिए । सांसद क्षेक्र विकास कार्यत्रमको १ करोड विनियोजन भइसकेको र आवश्यकताका आधारमा रकम थप्न सकिने उनले जानकारी दिए ।


शौचालयको संख्या बढाउन, स्तरोन्नति गर्न र सहरलाई वातावरण मैत्री बनाउन तत्काल सार्वजनिक स्मार्ट शौचालय बनाउने कार्यक्रम ल्याइएको काठमाडौं महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ बताउँछिन् । व्यावसायिक भवन र निजी घरहरूलाई व्यवस्थित सेफ्टी ट्या‌ंकीसहित निर्माण गर्न नगरपालिकाको मापदण्ड छ ।


यात्रु र सेवाग्रहीलाई शौचालयको राम्रो बन्दोबस्त हुनुपर्ने कुरालाई ध्यान दिएर उपमेयर श्रेष्ठकै अध्यक्षतामा समिति निर्माण गरी सूक्ष्म ढंगले कार्य थानली गरेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

प्रकाशित : चैत्र २, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?