२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

लिच्छविकालीन पोखरीमा डोजर 

वृद्धाश्रमका लागि आधुनिक भवन बनाउने भन्दै स्थानीय उपभोक्ता समितिले पोखरीमा डोजर चलाएको हो

ललितपुर — थेचोको पिंनः पोखरीमा ५ दिनअघिसम्म पानी थियो । अहिले यहाँ डोजर चलाइएको छ । लिच्छविकालीन मानिने यो पोखरीमा वृद्धाश्रमका लागि आधुनिक भवन बनाउने भन्दै स्थानीय उपभोक्ता समितिले डोजर चलाएको हो । समितिलाई वृद्धाश्रम निर्माणका लागि प्रदेश सरकारले ८० लाख र नगरपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

लिच्छविकालीन पोखरीमा डोजर 

सम्पदा मासेर नयाँ संरचना बनाउन लागेकोमा केही स्थानीयले भने भने आपत्ति जनाएका छन् । ‘यो पुरातात्त्विक पोखरी हो,’ पूर्णी गुठीका नाइके ज्ञानबहादुर महर्जन भन्छन्, ‘यसलाई मास्नु हुँदैनथ्यो । तर धमाधम डोजर लगाइएको छ ।’ बस्तीका ऐतिहासिक पोखरीको रेखदेख गुठीले गर्छ । थेचोमा मूल गुठी ७ वटा छन् । त्यसमध्ये बालुमारी र ब्रहमायणी गुठी मुख्य हुन् ।


बालकुमारीअन्तर्गत चतुर्दशी गुठी, पूर्णी, पारु र भैरव गुठी छन् । ब्रह्मायणीअन्तर्गत कोना, मु गुठी, न्हेस गुठी छन् । यीमध्ये धेरै सदस्य भएको गुठी ब्रह्मायणी हो । यहाँ करिब ३ सय सदस्य छन् । बालकुमारीमा २ सय ११ गुठीयार छन् । यीमध्ये पिनः पोखरीको संरक्षण ब्रहमायणी गुठीअन्तर्गतको न्हेस गुठीले हेर्थ्यो । पछिल्लो समय यसले पोखरी संरक्षण गरेन ।


थेचोका ९ मध्ये पिनः पोखरी एक हो । यहाँका सबै पोखरीका प्रयोजन भने अलग(अलग छन् । जसमध्ये कोही खानेपानी, कपडा धुन, नुहाउन, कोही भने भाँडा माझ्ने प्रयोजनमा थिए । कोही चौपायालाई खुवाउन र नुहाउने प्रयोजनका लागि खनिएका हुन् । कुनै जलभण्डार, कुनै बर्खामा आउने बाढी रोकेर बस्ती जोगाउन । त्यसमध्ये डोजर चलाइएको यो बस्ती जोगाउन, लुगा धुन, नुहाउने, सिँचाइ, भूमिगत जल भण्डारण प्रयोजनका लागि थियो । नेपाल भाषामा पिंनः को अर्थ बस्ती बाहिरको पोखरी हो ।


यो केही वर्षदेखि सुक्दै गएको थियो । पानी थोरै थियो । ठाउँ(ठाउँमा घाँस, बोजोलगायत वनस्पति उम्रिएका थिए । संरक्षण हुन सकेको थिएन । स्थानीयले फोहोर पनि यहीं फाल्दै आएका थिए । २० वर्षअघिसम्म यो पोखरीमा नुहाउने, लुगाधुने गरिन्थ्यो । घर(घरमा धारा आएसँगै यसको महत्त्व पनि घटदै गयो । घरमा भएका धारामा अहिले पानी आउँदैन । समस्या चर्को छ ।


‘पोखरी मासियो । पानीको समस्या बढेको छ,’ स्थानीय विनोद महर्जन भन्छन्, ‘ट्यांकरको पानी किनेर गुजारा चलाउनुपरेको छ ।’ पोखरीमा भवन बनाउन ब्राह्मायणीअन्तर्गत ३ गुठी, जनप्रतिनिधि र उपभोक्ता समितिबीच सहमति भएको छ । ‘सबैको सहमतिमा काम अघि बढाइएको हो,’ गोदावरी नगरपालिका १२ का वडाध्यक्ष जगतबहादुर महर्जन भन्छन्, ‘एकपटक बैठक राखेर पुनर्विचार गर्छौं ।’


नगर प्रमुख गजेन्द्र महर्जन सामाजिक काम गर्न लागेकाले पोखरीमा भवन बनाउनु जायज ठान्छन् । ‘यहाँ व्यापारिक भवन बनाउन लागेको होइन,’ उनी भन्छन्, ‘वृद्धाश्रम बनाउन लागेको हो । यो सामाजिक काम हो ।’ सामाजिक सेवा गर्ने नाममा सम्पदा मासेको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका छन् । ‘वृद्धाश्रम त अरू ठाउँमा पनि बनाउन सकिन्छ,’ अभियन्ता तथा इन्जिनियर पद्मसुन्दर महर्जन भन्छन्, ‘सम्पदा त अरु ठाउँमा सार्न मिल्दैन नि । पोखरी सहरको वास्तुकलाअनुसार बनाइएका हुन्छन् । एउटा पोखरी मासिँदा त्यो बस्तीको वास्तु नै मासिन्छ ।’


प्राचीन वास्तुशास्त्रअनुसार बस्तीमा ३ तहमा पोखरी खनिएका हुन्छन् । एउटा बस्तीको सिरानमा हुन्छ । एक किसिमका बस्तीबीच र अर्को पुछारमा हुन्छन् । पानीविज्ञ पद्मसुन्दर जोशीका अनुसार पोखरी निर्माण मानव सभ्यताको विकाससँगै भएका हुन् । ‘सिरानका पोखरी रणनीतिक हिसाबले खनिएका हुन्,’ उनी भन्छन्, ‘वर्खाको भेल बस्तीमा नपोस् भनेर खनिएका हुन्छन् । यस्ता पोखरी ठूला हुन्छन् । माथिबाट आएका पानी नथुन्ने हो भने बस्ती घेरिन्छ । त्यही भएर पोखरी खनिएका हुन् ।’


बस्तीबीचको पोखरीचाहिँ साना हुन्छन् । वर्षाको पानी र कुलोबाट आएको पानी यहीं जम्मा हुन्छन् । भिरालो ठाउँमा बनेका पोखरीले बस्तीलाई बिर्गाला भनेर खनिएका हुन् । यस्ता पोखरी बर्खामा पानी जम्ने, हिउँदमा सुक्ने हुन्छन् । उपभोक्ता समिति अध्यक्ष मिलन महर्जन सडकले पनि पोखरी साँघुर्‍याउने भएकाले यसलाई मास्दा पनि खासै असर नपर्ने बताउँछन् ।


‘कान्ति राजपथ विस्तार हुँदा यसै पनि यो पोखरी साँघुरो हुन्छ,’ उनी भन्छन्, ‘सबै गुठीयारकै सहमतिमा गरिएको हो । भवनले पोखरी थोरै मात्र मिच्छ ।’ डोजर लगाइएको पोखरी छेउमै ह्यामु न्याः पुखुः (रातो माछा भएको पोखरी) जोडिएको छ । यहाँ पहिला राता माछा प्रशस्त हुन्थे । अहिले देखिँदैनन् यहाँ । पानीको सतह पनि घटै गएको छ । पोखरी दुर्गन्धित हुँदै गएको छ । ‘केही वर्ष वर्षअघिसम्म हेर्नेको भीड हुन्थ्यो,’ स्थानीय राकेश महर्जन सम्झन्छन्, ‘अहिले यो एकादेशको कथा भएको छ ।’


अहिले यहाँ झ्याल ढोका खुला राखेर बस्नसमेत नमिल्ने उनी बताउँछन् । पोखरीको पानीको मुख्य स्रोत राजकुलो हो । टीकाभैरबबाट ल्याइएको राजकुलोबाट पोखरी भरिँदै आएको थियो । राजकुलोबाट सबै पोखरीमा पुग्ने गरी कुलो निर्माण गरिएका छन् । यी कुलो पनि लिच्छविकालीन हुन् । केही वर्षदेखि राजकुलोबाट पानी ल्याउन सकिएको छैन । सबै गुठीयार पहरा बसेपछि मात्रै पानी आउँछ । ‘कुलो जताततै फोहोर छ,’ पूर्णी गुठीका नाइके महर्जन भन्छन्, ‘पहरा बस्दै, फोहोर सफा गर्दै ल्याउनुपर्छ । नजिकका अरुले लैजान्छन् । फोहोरले कुलो थुनिन्छ ।’


कुलो थुनिनु त्यस क्षेत्रका खानी मुख्य कारक हुन् । लेले, नल्लु क्षेत्रमा १२ खानी सञ्चालनमा छन् । खानीबाट माटो र ढुंगाका गिर्खा बग्छ । त्यसलाई पानीले बगाएर ल्याएको कुलोबाट माटो थिग्रिँदै आउँछ । माटो थिग्रिएपछि कुलोको उचाइ बढदै जान्छ । अनि पानी बग्दैन । ‘पानी बगे पनि थोरै बग्छ,’ उनी भन्छन्, ‘थोरै बगेको पानी बस्तीसम्म आइपुग्दैन । माथिलाई नै ठिक्क हुन्छ ।’


मुख्य कुलो चापागाउँ, ठेचो, सुनाकोठी हुँदै लगनखेलको सप्तपातलसम्म जोडिएको थियो । चक्रपथ बनाउँदा लगनखेलसम्म जाने कुलो पुरियो । सुनाकोठीसम्म अहिले पनि कुलो छ । मुख्य कुलोबाट पोखरीसम्म लैजान सहायक कुलो बनेका छन् । सहायकमध्ये पनि केही पुरिएका छन्, केही राम्रै छन् । राजकुलो बिग्रन थालेको २०४६ पछि हो । कुलो रेखदेख गर्ने काम धलपाः ले गर्थे ।

धलपा सरकारी स्तरबाट व्यवस्था गरिएका कर्मचारी हुन् । यिनीहरूको तलब सरकारले बेहोर्थ्यो । २०४६ यता धलपा खारेज भयो । धलपा अवकाश हुँदै गएसँगै रेखदेख हुन छाडेको स्थानीय बताउँछन् ।

प्रकाशित : चैत्र २, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?