१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

उपत्यकामा सार्वजनिक सवारी : दिउँसो खाली, साँझ-बिहान कोचाकोच

शिल्पा कर्ण

काठमाडौं — कीर्तिपुरको भत्केको पाटीमा बस्छन्, लालबहादुर यादव । अध्ययनका क्रममा उनी यहाँ बसेको ५ वर्ष पुगिसक्यो । तर निकै कम दिन मात्र कलेज लाग्नेबेला बिहान बेलुका गाडीमा सिट पाएका छन् । प्रायः उभिएरै यात्रा गर्नुपरेको उनी सुनाउँछन् ।

उपत्यकामा सार्वजनिक सवारी : दिउँसो खाली, साँझ-बिहान कोचाकोच

'रत्नपार्कबाट फर्किंदा पनि गाडी आउनेबित्तिकै चढ्यो भने सिट पाइन्छ, नत्र पाइन्न । गाडी गन्तव्यमा पुग्दासम्म सिटभन्दा दोब्बर बढी यात्रु चढिसकेका हुन्छन्,' उनले भने ।


यस्तै अनुभव सुनाउँछिन् साक्षी सुन्दास पनि । उनी राजधानी आएको बल्ल दुई महिना भयो । बिहानै कलेज र उतैबाट कार्यालय जाने उनी न बिहान न त चम्पादेवीबाट सिट पाउँछिन् तर साँझ कोठा फर्किनेबेला चाहिँ उभिएर मात्र होइन कोच्चिएर आउनुपर्ने बताउँछिन् । उनले भनिन्, 'गाडी समयमा पाइन्न । कलेज नगएको दिन कार्यालय जानुपर्‍यो भने गाडीकै समस्या हुने भएर साढे ७ देखि ८ बजे नै निस्किनुपर्छ ।' त्यसपछिका समयमा गाडी पाउन गाह्रो हुने गरेको उनको भनाइ छ । विशेषगरी बसहरू स्कुलका विद्यार्थी लिन जाने भएकाले गाडी अभाव हुने गरेको उनले बताइन् ।


कीर्तिपुरको नयाँबजारबाट छुट्ने धेरैजसो गाडीहरू नियमित हुन्छन् । तर पाँगा, चम्पादेवी रुटका गाडी भने समयमा भेटिँदैनन् । बिहान र दिउँसो विद्यालय समयमा दुई घण्टाजति गाडी अभाव हुने स्थानीयको गुनासो छ । यादव भन्छन्, 'यहाँ बस्ने बढीजसो विद्यार्थी वा कर्मचारी छन् । सबै एकैपल्ट निस्किनुपर्ने हुन्छ तर गाडी स्कुलका बच्चा बोक्न गइदिन्छन् ।' बिहान ६ देखि १० र दिउँसो ४ देखि ६ बजेसम्म गाडी कम हुने र उपलब्ध गाडीमा भीड बढी हुने गरेको यादवले बताए । त्यसैले उनी चाँडै निस्केर नयाँबजारसम्म हिँड्दै आउँछन् । १५/२० मिनेट समय लाग्ने भए पनि गाडी कुरिरहन नपर्ने र सिट पाइने उनले बताए ।


कीर्तिपुरका वीरेन्द्र शाक्यको भनाइमा बिहान धेरै यात्रु काठमाडौं जाने र बेलका फर्किने भएकाले त्यो समयमा निकै भीड हुन्छ । तर दिउँसो भने खाली हुन्छ । 'यस समयमा माइक्रोकै मनोमानी हुन्छ । ठूला गाडीका चालकले यस समयमा खाना खाने बहानामा नचल्ने भएकाले माइक्रो मात्र गुड्छन्,' शाक्यले थपे, 'बिदाको दिन झनै गाह्रो हुन्छ बस भेट्न । बरु माइक्रो चलिरहेका हुन्छन् । १२ बजेदेखि डेढ दुई घण्टासम्म ठूला गाडी देखिँदैनन् ।' ठूला गाडी त्यस समयमा ग्यारेजमै हुने उनले बताए । मिनेटैपिच्छे छुटे पनि अर्को माइक्रो पछाडि नआएसम्म चालकले अगाडि नबढाउने गरेको यात्रु बताउँछन् ।


दिनहुँ आवतजावत गर्ने एक विद्यार्थीले भने, 'आईडी कार्डमा छुट दिनुपर्छ, तेलको पैसा नउठेर घाटा हुन्छ भन्ने बहानामा बस चलाउँदैनन् । अनि सानै गाडीमा कोच्चिएर जानुको विकल्प हुन्न ।' वाइफाईजस्ता सुविधा दिनुभन्दा पनि यात्रुहरूलाई समयमा गन्तव्यमा पुर्‍याउँदा सहज हुने उनीहरू बताउँछन् । 'कीर्तिपुरदेखि रत्नपार्क सात किलोमिटर दूरी काट्न एक घण्टा समय लाग्छ,' शाक्यले थपे, 'मुख्य त बिहानै बेलुका ट्राफिक जाम, अर्को ओर्लिनेबेला कोच्चिएको मान्छे झर्नै समय लाग्छ ।'


बढीजसो गाडी कीर्तिपुर नयाँबजारबाट पुरानो बसपार्क रुटमा गुड्छन् । पाँगा र मच्छेगाउँमा क्रमशः कम गाडी छन् । सबै रत्नपार्कसम्म मात्र चल्छन्, निकै थोरै मात्र लगनखेल रुटमा चलिरहेका छन् । कीर्तिपुर नगरपालिकामा हाल तीनवटा यातायात सेवा प्रदायक कम्पनी छन् । 'मिनी बससहित १ सय २४ गाडी छन् । पाँगाबाट चल्ने ३० वटा गाडी छन्,' कीर्तिपुर यातायात सेवा समितिका अध्यक्ष बाबुकृष्ण महर्जनले भने, '५ साना गाडी र दुइटा ठूला मात्र स्कुलको बच्चा लिन जाने गरेका छन् । अफिस समयमा जहाँ पनि भीड हुन्छ । गाडी कम भएर होइन ।' अहिले उक्त समितिले गाडी थप्ने योजना नरहेको उनले सुनाए । २०५३ सालमै स्थापित समितिले रत्नपार्कभन्दा अन्य गन्तव्यमा गाडी राखेको छैन ।

महर्जनका कुरामा सही थप्छन् कीर्तिपुर मिनी बस व्यवसायी संघका सचिव दिवाकर अधिकारी । उनी भन्छन्, 'गाडी यहाँ पर्याप्त छन् । कार्यालय र विद्यालय समयमा मान्छे बढी भएर गाडी कम देखिएको हो ।' तर अहिले कोटेश्वर र नयाँ बसपार्कसम्मको रुटमा गाडी थप्न लागिएको उनले जानकारी दिए । सिन्डिकेट खारेजीको घोषणाले उत्साहित भएको र लगानी जुटाइरहेको उनको भनाइ छ । जम्मा ८५ माइक्रो रहेको समितिमा २० वटाले विद्यालयमा पनि काम गर्ने उनले जानकारी दिए । यसैगरी भत्केकोपाटी रुटका १२ मध्ये एउटा मिनी बस स्कुल जान्छन् ।


कीर्तिपुर बूढानीलकण्ठ रुटमा नयाँ गाडी हाले पनि घाटा व्योहोरेपछि कीपू बस सेवा प्रालिले अहिले ठूला बस थन्क्याएको छ । प्रालिका अध्यक्ष अर्जुन सिंहले भने, 'बिहान साँडे ५ बजेदेखि गाडी चल्न सुरु गर्छ । त्यसपछि १०/१० मिनेटमा छुट्ने हो । तर यो रुटमा गाडी कम भएकाले यात्रुले कुर्नुपर्ने हुन्छ ।' प्रालिअन्तर्गत जम्मा २३ बस रहे पनि ठूला ६ सिलिन्डरको १० वटा बस घाटा लागेकाले ग्यारेजमै थन्किएका छन् । 'हाम्रो कुनै पनि बस स्कुलका लागि जाँदैन । अलि गाडी संख्या बढेको भए पुग्थ्यो,' सिंहले भने । उनले विद्यालयका लागि छुट्टै निर्देशिका र मापदण्डयुक्त बसको व्यवस्था भए पनि त्यो पालना नहुनु र यात्रुले सास्ती पाउनु दुखद रहेको बताए । सुन्दासले भनिन्, 'स्कुलमा जाने गाडी छुट्टै रंग र सुविधाको हुने भए पनि त्यस सम्बन्धमा कतैबाट कुनै अनुगमन भएको छैन । नगरपालिकाले पनि यस विषयमा ध्यान दिन सकेको छैन ।'

प्रकाशित : चैत्र २, २०७५ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?