२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

१५ पेट्रोल पम्प हटाइने 

दीपेन्द्र विष्ट

काठमाडौँ — ‍उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या परेपछि सहरभित्रका १५ वटा पेट्रोल पम्पलाई हटाइने भएको छ । पेट्रोल पम्पले सहरभित्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै सरकारले उक्त तयारी गरेको हो ।

१५ पेट्रोल पम्प हटाइने 

काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी, सडक विभाग र आयल निगमले सडक छेउछाउका पेट्रोल पम्प हटाउने तयारी गरेका हुन् ।

त्यसका लागि महानगर सहरी सुव्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरको संयोजकत्वमा ५ सदस्यीय टोलीले ८ स्थानका १५ पेट्रोल पम्पलाई हटाउन सिफारिस गरेको हो । टोलीमा सडक विभाग, ट्राफिक प्रहरी र आयल निगमका प्रतिनिधि सहभागी थिए । ‘सडक आउजाउलाई सहज बनाउन ती पम्पलाई हटाउन सिफारिस गरिएको हो,’ संयोजक कुँवरले जानकारी दिए । सोल्टीमोडको सीता पेट्रोलपम्प, बालाजुको कोतधुकु पेट्रोलपम्प, त्रिपुरेश्वरका जयन्ती र मायाराम भोलाराम, कलंकीका बाबा, श्यामा पम्पहरू हटाउने सूचीमा छन् ।

त्यसैगरी त्रिशूल पेट्रोल पम्प, गैरीगाउँको भ्याली रिकेस पेट्रोल पम्प, जडीबुटीको कामाख्या पेट्रोल पम्प, जोरपाटीका जुबी र बराल पेट्रोल पम्प, पनि हटाउन सिफारिस गरेको छ । दमकलचोकको एचपी इन्टरनेसनल इन्क, एकान्तकुनाको गायत्री पेट्रोल पम्प र महाराजगन्जको सीता पेट्रोल पम्पलाई तत्काल हटाउन सिफारिस गरिएको छ ।

‘चाँडो हटाउँछौं, सुरक्षा र ट्राफिक व्यवस्थापनका हिसाबले चाँडो हटाउनुपर्ने पेट्रोल पम्पलाई हटाउँछौं,’ कुँवरले भने, ‘अब मापदण्डविपरीत सञ्चालनमा नहरेका सबै पेट्रोल पम्पलाई विस्थापित गर्छौं ।’

अधिकांश पेट्रोल पम्प मापदण्डविपरीत रहेको भन्दै उनले त्यसले गर्दा ट्राफिकलाई सवारी व्यवस्थापन गर्न र पैदलयात्रीलाई हिँडन समस्या परेको बताए । सहरको बीचमा पम्प हुँदा आगलागीको समेत जोखिम हुने भएकाले मानव बस्तीभन्दा टाढा राख्न पर्ने उनले बताए । केही पेट्रोल पम्प फुटपाथमै राखिएकाले त्यसबाट पैदलयात्रीलाई हिँडन अप्ठेरो भएको उनले बताए ।

‘सडकमै पम्प राखिएका छन्,’ उनले भने, ‘पेट्रोल भर्दा लाइनमा राखिन्छ, जाम हुन्छ, त्यसकारण हटाउनैपर्छ ।’ अब नयाँ हुने पेट्रोल पम्पमा शौचालय र कफी पसल व्यवस्था हुनुपर्ने उनले बताए । करिब ३५ देखि ४० पेट्रोल पम्पलाई तत्काल नयाँ स्थानमा स्थानान्तरण गर्नुपर्ने भन्दै उनले त्यसका लागि सबै निकायसँग छलफल गरिने बताए ।

धेरैजसो पम्प आयल निगमको मापदण्डमा नपरेको भन्दै उनले चाँडै हटाइने बताए । उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले सडक छेउका पेट्रोल पम्पले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या भएको बताए । ‘पेट्रोल भर्ने गाडीका लाइनले सडक अस्तव्यस्त हुन्छ,’ उनले भने, ‘त्यसका लागि सरोकारवाला निकायले पहल गर्नैपर्छ, पिक आवरमा एकदमै कठिन हुन्छ ।’ त्यसका साथै रिङरोडभित्रका ग्योरज, रिकडिसन पसललाई पनि हटाउन सिफारिस गरेको उनले बताए ।

आवश्यकता अनुसार अन्य पम्पसमेत हटाइने उनले बताए । ‘पिक आवर’ मा ट्राफिक व्यवस्थापन गर्न हम्मे हम्मे पर्ने भएकाले सडक छेउका पम्पलाई अन्यत्रै सार्नुपर्ने उनले बताए । ट्राफिक लाइट नहुँदा समस्या भएको भन्दै उनले सडक छेउका पम्पले झनै कठिन भएको बताए । सडक विभाग ट्राफिक महाशाखा प्रमुख दीप बराहीले २०५४ सालअघि राखिएका हटाइने बताए । ‘अत्यधिक सवारी संख्या बढेको छ । सडक छेउमा पम्प छन् समस्या छ,’ उनले भने, ‘अब हटाउनैपर्छ । मानव बस्तीबाट अलि टाढै राख्नुपर्छ ।’

प्रकाशित : चैत्र ५, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?