हरिसिद्धिमा देवीनाच

हरिसिद्धिका देवगणले जात्रा पर्वका बेला मात्र नभई अन्य समयमा पनि परम्परागत पोसाक नै लगाउनुपर्ने परम्परा छ । यस दिनलाई हरिसिद्धिवासीले मुख्य चाडपर्वको रुपमा लिने गर्दछन् ।
कान्तिपुर संवाददाता

ललितपुर — मुलुकभर होली मनाउँदा हरिसिद्धिमा भने बुधबार हरिसिद्धि भवानी देवीनाच देखाइएको छ । हरिसिद्धि भवानी देवीका पुजारी ८२ वर्षीय राइटर महर्जन, छुस्याः, पोंगा बाजा बजाउने ५६ वर्षीय शालिकराम महर्जन र ६९ वर्षीय नारायण महर्जन निधारमा तिलक, शिरमा बेताली (देवगणले लगाउने टोपी), शरीरमा द्यः अनि धुजी लं (विषेश प्रकारको लुगा) लगाएको अवस्थामा भेटिए । 

ललितपुरको हरिसिद्धिमा बुधबार प्रदर्शन गरिएको भवानी देवीको पूजा गर्दै भक्तजन (दायाँ) । हरिसिद्ध नाच हेर्दे सहभागी (माथि) र प्रदर्शित नाच (तल) । तस्बिर : अनिश रेग्मी/कान्तिपुर

उनीहरूजस्तै देवगणको भूमिका खेल्ने अन्य २६ जना गुठीयार पनि उस्तै भेषमा थिए । पुजारी महर्जन भन्छन्, ‘हरिसिद्धिका देवगणले जात्रा पर्वका बेला मात्र नभई अन्य समयमा पनि परम्परागत पोसाक नै लगाउनुपर्ने परम्परा छ । यस दिनलाई हरिसिद्धिवासीले मुख्यचाडपर्वको रूपमा लिने गर्दछन् ।’

Citizen

उनका अनुसार नाच रामायणको आरण्य काण्ड र किस्किन्धा काण्डमा आधारित छ । त्यस १८ भागमा दृश्य देखाइन्छ । ‘नाचको प्रारम्भ जोडीबाट हुन्छ,’ उनले भने, ‘जसमा अष्टमातृकाको ४ र राजा विक्रमादित्यको १ गरी ५ जोडीले नृत्य गर्छन् ।’ नृत्यमा सबै देवगणको दायाँ हातमा खड्ग र बायाँमा त्वाकः(काठको ढाल) हुन्छ । एकले अर्कालाई खड्गले त्वाकःमा हान्ने र त्यसलाई अर्कोले छेक्ने गर्छन् ।

अर्को दृश्यमा तमन्ना द्यो (ऋषि) ले दायाँ हातले योमरी आकारको धातुको वस्तु लिई ताण्डव नृत्य देखाइन्छ । ‘यस नाचमा सन्तान नहुने भक्तजनमध्ये जसले पहिलो पटक देवता ढोक्न सफल हुन्छ । उसको छोरा पाउने जनविश्वास रहेको पुजारी महर्जनको भनाइ छ । त्यसैले तमन्ना द्योको दर्शन गर्न भक्तजनकोभीडभाड लाग्ने गर्दछ ।

ठेचोकी गीता महर्जनको माइती हरिसिद्धि हो । उनी प्रायः प्रत्येक वर्ष व्रत बस्न हरिसिद्धि पुग्ने गर्छिन् । यस पटक पनि व्रत बसेकी उनी भन्छिन्, ‘तनमनले व्रत बसेमा मनोकांक्षा पूरा हुन्छ ।’ नाचमागुरु वाल्मीकि र शिष्य भारद्वाजको भेषमा पनि नृत्य देखाइयो । ब्राह्मण (बुद्धिसेन) को नाचमा परम्पराअनुसार दाँत माझेको र नुहाएको अभिनय पनि
नाचमार्फत देखाइयो ।

यस नाचलगत्तै महादेव अवतरण भयो । ब्राह्मणलाई विक्रमादित्य राजाका मन्त्री वीरसेन (बुद्धिसेन) मानेको दृश्य देखाइयो । पुजारी भन्छन्, ‘नाचमार्फत परम्परागत रीतिथिति बुझ्न सकिन्छ ।’ एक शक्तिस्वरूपा देवीको पूजाआराधना गरेमा सबैको कल्याण हुनेमा उनको विश्वास छ ।

काठमाडौंमा मनाइने इन्द्रजात्रामा पुलु किसी (स्वर्गका राजा इन्द्रको बहान) को नाच देखाइन्छ । हरिसिद्धि पनि हात्तीको नाच देखाइन्छ । हरिसिद्धिमा इन्द्रको बहानको रूपमा नभई महादेव र धिन्चो माजु (देवता) ले हात्तीलाई धपाएको अभियनको रूपमा नृत्य प्रस्तुत गर्छन् । यसका लागि डबलीमा निलो मुकुट गाढा नीलो शरीर भएको हात्तीको साथमा पहेलो मुकुटमासिकुचा नाम गरेको महादेव र धिन्चो माजु प्रवेश गर्छन् ।

त्यसपछि सेतो मुकुटको कौमाद्य (महादेव) र रातो मुकुटको अग्नि देवताको नृत्यमा अग्नि देवताले कौमाद्यः लाई पच्छ्याउँदै नृत्य देखाइन्छ । अनि राजासिंह, मन्त्री, नारदको नृत्य हुन्छ । महर्जन भन्छन्, ‘यो विक्रमादित्यमाथि विजय प्राप्त गर्ने विषयमा त्रिशूलधारी नारद आइपुगी सहमति जनाएको दृश्य हो । त्यसपछि विश्वमित्र ऋषि कुटीमा यज्ञ गरिरहेको, रामले पहरा दिइरहेको र यज्ञको गन्धले कुटीतिर आएको मारिच राक्षस आएको दृश्य देखाइन्छ ।

अनि राम र राक्षसबीच भएको युद्ध हुन्छ ।’ अन्तमा सुग्रीवले बाली वध गरेको, नारदले सुग्रीव र ताराको पुनः विवाह गरिदिएको र मालीले माला ल्याई हनुमानलाई दिएको दृश्य नाचमार्फत देखाइएको छ । नाच वाद्यवादनमा दमोखिं, प्वांगा, भुस्याहा, छुस्याहा र ताः हुन्छ । नाच प्रत्येक वर्ष फागुपूर्णिमाकोअवसरमा देखाइन्छ ।

प्रकाशित : चैत्र ७, २०७५ ०७:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संसदीय समितिमा सम्पदा–‘मापदण्ड मिचिए भत्काइदिनुस्’

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व सम्पदा क्षेत्रलाई असर गर्ने गरी भइरहेको निर्माण कार्यका विषयमा संसदीय समितिले चासो राखेको छ । हनुमानढोका दरबार क्षेत्रमा भएका समस्याका सम्बन्धमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छलफल आयोजना गर्‍यो । छलफलमा पूर्वप्रधानमन्त्रीदेखि सम्पदा बचाउन अभियानका अभियन्तासम्मले भाग लिएका थिए ।

पूर्वप्रधानमन्त्री तथा समिति समदस्य माधवकुमार नेपालले सम्पदामा बिग्रने गरी जसले संरचना बनाएको भए पनि त्यसलाई डोजर लगाएर भत्काइदिनुपर्ने बताए ।

‘विश्व सम्पदामा परेको कुरामा समेत हामी दह्रो गरी उभिन सक्दैनौं । विश्व सम्पदामा कोठाको आकार घटाउँदै जान्छौं । जहाँ खाली छ, त्यहाँ घर बनाउन दिन्छौं,’ नेपालले भने, ‘हनुमानढोका दरबारमा प्राचीन स्मारक संरक्षण ऐन मिचेर घर बनाएको छ रे । कहाँको महाशक्तिले संरक्षण दिएछ ? नियम मिचेको भए घर भत्काइदिनुपर्छ ।’ हनुमान ढोका दरबार क्षेत्रमा अदालतको आदेशसमेत अटेर गरी महर्जन बिजनेस एसोसिएनले बनाइरहेको भवन उल्लेख गर्दै नेपालले उक्त भनाइ राखेका थिए ।

‘अन्त डोजर चलाउन सक्ने, त्यहाँ किन नसक्ने ?’ नेपालले त्यस क्षेत्रको नियमन गर्ने निकाय काटमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला र पुरातत्त्व विभागका कामु महानिर्देशक दामोदर गौतमतर्फ लक्षित गर्दै भने, ‘त्यहाँ नसक्नुको कारण के हो ? कि पैसाको बिटो दिएको छ ? होइन भने कानुले दिएको काम गर्नुस् । नडराउनुस् ।’ सर्वोच्च अदालतले ३५ फिटभन्दा माथि उचाइ नबढाउन आदेश दिएको थियो । यो आदेशविपरीत महर्जनले ४२ फिट उचाइ लैजान लागेका छन् ।

‘३५ फिट पनि लैजान जरुरी छैन,’ नेपालले भने, ‘त्यहाँ सकिन्छ भने खाली गर्दा हुन्छ बरु ।’ विश्व सम्पदा क्षेत्रमा भएका मनपरीलाई रोक्नुपर्ने नेपालले बताए । ‘पशुपतिमा त्यतिकै बेथिति सुनिन्छ,’ नेपालले भने, ‘जहाँ पनि भत्काउने बाँदरेबुद्धि छ । हामी बनाउन नसक्ने, बनाएका पनि जोगाउन नसक्ने हुति नभएका हामी ।’ नेपालले कानुनभन्दा माथि कोही नभएकाले गैरकानुनी काम गर्ने कसैलाई पनि छाड्न नहुने बताए ।

‘पशुपतिमा पनि अनुगमन गर्नुपर्छ । अनुगमन गर्न उपसमिति नै बनाउनुपर्छ,’ नेपालले भने, ‘विश्व सम्पदासमेत मासिने गरी गैरकानुनी काम गर्ने बाबुसाहेब को हुन् ? तिनलाई चिनाइदिनुस् । तिनलाई कारबाही गर्न सरकारले सहयोग गरेको छैन भने भन्नुस् । नत्र अधिकार प्रयोग गर्नुस् । अधिकार प्रयोग गर्न नसके छाड्नुस् । अरूले आएर काम गर्छन् ।’

नेपालले प्राचीन सहर जोगाउनुपर्ने धारणा राखे । ‘प्राचीन सहरमा डोजर लगाउनु हुँदैन,’ उनले भने, ‘त्यहाँ सडक चौडा बनाउने होइन । सवारी निषेध गर्ने हो ।’ आमन्त्रित सदस्यका रूपमा सहभागी गराइएका सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ र अभियन्ता सञ्जय अधिकारीले विश्व सम्पदा क्षेत्रमा भएका गैरकानुनी निर्माणबारे अवगत गराएका थिए ।

समितिकी सभापति पवित्रा निरौला खरेलले महानगरले गुरुयोजना बनाएर अघि बढ्नुपर्ने धारणा राखिन् । ‘कतै सम्पदा क्षेत्र बनाउनुपर्छ, कतै व्यापारिक क्षेत्र बनाउनुपर्छ,’ उनले भनिन्, ‘राष्ट्रिय सम्पदामा व्यापारिक केन्द्र बनाउन हुँदैन । यसो गर्दा हाम्रो संस्कृति मासिन्छ । हामीले चिनाउने भनेको हाम्रो संस्कार संस्कृति नै हो ।’

समितिकी सदस्य सुजिता शाक्यले पर्यटक भवन हेर्न नभई सम्पदा हेर्न आउने भएकाले सम्पदालाई ध्यान दिनुपर्ने बताइन् । ‘कंक्रिटको जंगल बनाएर कोही हेर्न आउँदैन,’ शाक्यले भनिन्, ‘अदालतको समेत आदेश नमान्नेलाई हस्तक्षेप गर्नुपर्छ ।’ उनले गुठीका जग्गासमेत मासिएका पर्व पूजा सञ्चालन गर्न र सम्पदा मर्मत गर्नसमेत समस्या भएको बताइन् । ‘पुर्खाले सम्पदा बनाएपछि त्यसलाई सञ्चालन गर्न जग्गा राखेका थिए,’ उनले भनिन्, ‘ती जग्गा कहाँ गए ? तलेजुको मात्रै ५ हजार रोपनीजग्गा थियो ।’

छलफलमा सांसद सरिता गिरी, नारायण राना, मोहन बानियाँ, रेणुका गुरुङ, दिव्यमणि राजभण्डारी, सरला कुमारी यादव, चाँद तारालगायतले सम्पदा संरक्षणका विषयमा धारणा राखेका थिए । पुरातत्त्व विभागका महानिर्देशक गौतमले विश्व सम्पदामा भइरकेका गतिविधिबारे जानकारी दिएका थिए ।

महानगरका प्रशासकीय अधिकृत कोइरालाले महानगरले गर्ने जुनसुकै काममा पनि अवरोध आएको गुनासो गरेका थिए । प्राचीन सम्मारक ऐनको ख्याल नगरी काम गरेको र सम्पदा मास्ने काम महानगरले गरेकाले अवरोध गर्नुपरेको अभियन्ताले जवाफ दिएका थिए ।

प्रकाशित : चैत्र ७, २०७५ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT