कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिर्खाए ढुंगेधारा

प्रशान्त माली

ललितपुर — मार्च २२ लाई विश्व पानी दिवसका रुपमा संसारभर मनाइँदा काठमाडौंका विभिन्न स्थानमा पानी अभावका दृश्य छरपस्ट भेटिए  । ‘लिभिङ नो वान बिहाइन्ड’ अर्थात् ‘सबैलाई साथ लिँदै’ भन्ने मूल नारासाथ शुक्रबार काठमाडौंलगायत मुलुकका विभिन्न सहरमा २३औं पानी दिवस मनाइयो  ।

तिर्खाए ढुंगेधारा

कुनै बेला काठमाडौं उपत्यकाका ढुंगेधारा र पोखरीले सर्वसाधारणको तिर्खा मेटाउने मात्र नभई सहरको सौन्दर्य पनि उत्तिकै बढाएका थिए । बढ्दो सहरीकरण र अव्यवस्थित बस्तीले पहिले भएका मुहान सुक्दै गएका छन् । मेलम्चीको पानी काठमाडौंका बासिन्दाले पिउन पाउने आश गर्दै–गर्दा आयोजनाको मुख्य ठेकेदार कम्पनी सीएमसीले बीचमै काम छाडेर गएपछि बहुप्रतीक्षित यो सपना साकार हुने दिन पछि धकेलिएको छ ।

हिटी चले सित्तैमा पानी

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको लगानीमा साताअघि पुल्चोकमा सञ्चालित आधुनिक मेसिन जडित लःहिटी (वाटर एटीएम) ले धेरै चर्चा पायो  । बटुवालाई लक्षित गरी खोलिएको यस्ता परम्परागत हिटी (पानी धारा) पाटनमा धेरै छन्  ।

तीमध्ये अधिकांश बन्द भइसकेका छन् । बोर्डले यस्ता हिटी पुनः सञ्चालनमा ल्याउन दाता खोजी गरेको छ । ललितपुर महानगरपालिका १६, महापाल चोकको हिटीमा २५ वर्षअघिसम्म बुटवाले पानी खान्थे । अहिले लथालिंग छ । उक्त कलात्मक हिटीनजिकै अर्को हिटी छ ।

‘नाग/नागिनीको मूर्ति अंकित हिटी १५ वर्षअघिसम्म ठीक थियो,’ ८४ वर्षीय गोविन्द जोशी सम्झन्छन्, ‘हिटीमा पानी भर्न नजिकै इनार खनिएको थियो । अहिले इनार पनि जीर्ण बनेको छ ।’ मत्स्येन्द्र बहाल र मत्स्येन्द्रनाथ मन्दिरको पश्चिम ढोकामा पनि हिटी थियो । जहाँ पूजापाठ गर्न आउने भक्तजनले प्यास मेटाउँथे ।

गोल्डेन टेम्पल, कुम्भेश्वर क्षेत्रमा तिब्बत, ल्हासाका व्यापारीलाई लक्षित गरी बनाइएको थियो । पानीविज्ञ पद्मसुन्दर जोशी सुनाउँछन्, ‘पुर्खाले हिटी मात्र बनाएनन् । इनार, ढुंगेधारा, कुवालगायत खानेपानीका स्रोत पनि सरसफाइ गरी सिठी नखः चाड मनाउने परम्परा बसाले । यो चाड ग्रीष्म र वर्षा ऋतुको मध्यकालमा मनाइन्छ ।’

उनका अनुसार वर्षाका बेला पानीका मुहान बढी दूषित हुन्छ । ‘अनि सफा गरी रमाइलो गर्न चाडका रूपमा विकास गरिएको थियो,’ उनले भने, ‘हिटीमध्ये कोही मासिकेका छन् । कोहीको भग्नावषेश मात्र बाँकी छन् । कोही पुनः सुचारु गर्न सक्ने खालका छन् ।’ बोर्डको ९ लाख ८५ हजारमा स्थापित हिटी ललितपुर महानगरको सहकार्यमा सञ्चालन भइरहेको छ ।

ललितपुर महानगर १६ का वडासदस्य नागबहालका पञ्च वज्राचार्य भन्छन्, ‘अहिले स्थापना गरिएको आधुनिक हिटी चौबीसै घण्टा लोडसेडिङ भएमा सञ्चालनमा ल्याउन सकिँदैन । चिसोबाहेक तातो बनाउन मिल्दैन ।’ उनले परम्परागत हिटीको पानी शुद्ध र स्वादिलो हुने बताए । ‘जाडोमा पानी चिसो र चिसोयाममा पानी तातो हुन्छ,’ उनले भने, ‘पाटन विश्व सम्पदामा सूचीकृत हुनुको कारण आधुनिक एटीएम नभई परम्परागत हिटी हो ।’

खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले बन्द भइसकेका परम्परागत हिटी पुनः सञ्चालनमा ल्याउन दाता खोजी गरेको बताए । ‘यसका लागि महानगरसँग सहकार्य गरी अगाडि बढ्ने योजना छ,’ उनले भने, ‘आधुनिक एटीएम परीक्षणकालको हो । चल्छ/चल्दैन थाहा छैन ।’ उनका अनुसार हिटी, ढुंगेधारा पुनः सञ्चालनमा ल्याउन आर्थिक वर्षभित्रमा लगत इस्टिमेटसहितको बजेट तयार गर्ने योजना छ ।

काठमाडौंका महेश थापा, भक्तपुरका प्रसन तिमिल्सेना, ललितपुर इमाडोलका रुमन महर्जनलगायत ६ जना पाटन दरबार क्षेत्रमा घुम्न आए । कलेज सकेर आएका उनीहरूले पुल्चोकमा मोटरसाइकल पार्किङ गरे । महानगरको पूर्वी उत्तरी ढोकमा हालै स्थापना गरिएको आधुनिक प्रविधिको हिटीमा प्यास मेटाए ।

‘तिर्खा पनि मेटाऔं पँधेरो पनि हेरेर जाँऔं भनेर यो रुट आएका हौं,’ महर्जनले भने, ‘आधुनिक हिटीसँगै बन्द भइसकेका परम्परागत हिटी पनि पुनः सञ्चालनमा ल्याउन पहल गर्नुपर्छ ।’ पाटनका राजु महर्जनले जोकोहीसँग सिक्का नहुने भएकाले मेसिन नोटबाट चल्ने भए बटुवालाई अझ सहिलो हुने बताए ।

एटीएममा बटुवाले २ रुपैयाँको सिक्का राखेपछि एक गिलास पानी पिउन सकिन्छ । गिलासमा २ सय मिलिलिटर पानी अट्छ । एक लिटर बोतलमा पानी लिएबापत् भने १० रुपैयाँ तिर्नुपर्छ । त्यसका लागि बोटल भने बटुवा आफैंले व्यवस्था गर्नुपर्छ ।

महर्जनले हिटी सञ्चालनमा ल्याउन सकेमा सित्तैमा पानी उपलब्ध गराउन सकिने बताए । ‘चौबीसै घण्टा पनि सञ्चालनमा ल्याउन सकिन्छ,’ उनले भने । बोर्ड कार्यकारी निर्देशक राणाले मूल्य घटाउँदै लैजाने योजना रहेको बताए । ‘हामीले पानीको पैसा लिएका छैनौं,’ उनले भने, ‘एउटा कपको २ रुपैयाँ १५ पैसा पर्छ ।’ उनले मेलम्ची आएपछि पाइपबाट सिधै एटीएममा जोडिने बताए ।

प्रकाशित : चैत्र ९, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?