२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सम्पदा अतिक्रमण : मापदण्डविपरीत ठडिँदै घर

लीला श्रेष्ठ

भक्तपुर — भूकम्पपछि बनेका निजी घरहरूले चाँगुनारायणलाई मन्दिर छेकेको छ  । विश्वसम्पदामा सूचीकृत मन्दिरको गजुरै ढाकिने गरी मापदण्डविपरीत भवन बन्दै गर्दा नियमनकारी निकाय मौन छ  ।

सम्पदा अतिक्रमण : मापदण्डविपरीत ठडिँदै घर

सम्पदा क्षेत्रमा परम्परागत शैलीका घरहरू निर्माण गर्नुपर्ने नियम छ । तर, भूकम्पपछि निर्माण गरिएका संरचनामा नियमको पालना ख्याल गरेको पाइँदैन । विशेषगरी मन्दिरवरिपरि घर बनाउँदा ३५ फिटभन्दा अग्लो बनाउन नपाइने, मन्दिरभन्दा अग्लो बनाउन नपाइने, बाहिरी मोहडा कलात्मक हुनुपर्ने, देखिने गरी झिंगटीको प्रयोग गर्नुपर्ने, डाँची अपा, माँ अपाको प्रयोग गर्नुपर्ने, चुनासुर्कीको प्रयोग गर्नुपर्ने, रूफटप राख्न नपाइने नियम छ ।

विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर, भक्तपुर दरबार स्क्वायर, पचपन्नझ्याले दरबार, यक्षश्वर महादेव (पशुपति), पाँचतले (न्यातपोल) मन्दिर, दत्तात्रय मन्दिरलगायत क्षेत्रमा नियमविपरीत घर ठडिने क्रम बढ्दो छ । सम्बन्धित निकायले अनुगमनसमेत गरेको छैन । चाँगुनारायण मन्दिर आसपासका कतिपय घरको नक्सापास नभएको र स्मारक संरक्षणको ख्यालै नगरी भवन निर्माण गरेको स्थानीय बासिन्दा बताउँछन् ।

‘मन्दिर छिर्ने मोहडाकै घरको नक्सा पास छैन, देखासिकीको गर्दै पहुँचको भरमा मापदण्ड मिचिँदै छ,’ स्थानीय उकेश श्रेष्ठले भने, ‘वडाध्यक्षकै घर मापदण्डभित्र छैन, नक्सापास भएको छैन ।’ चाँगुनारायण मन्दिर वरिपरिका अधिकांश घर मापदण्डविपरीत छन् । नवनिर्मित भवनमा रूफटप/स्लोभ कार्य भएको छ । ‘चाँगुनारायण संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माणसम्बन्धी मापदण्ड २०६४ अनुसार मन्दिर वरिपरि बनेका अधिकांश नवनिर्मित भवन पनि मापदण्डअनुसार छैनन् । घरको छाना झिंगटी वा टायलले छाएको परम्परागत दुईपाखे शैलीको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

निर्माण हुने घरजग्गाको तीनैतिर अरू घरहरूले घेरिएको भएमा सडकपट्टि एकपाखे छाना राख्नुपर्ने, ढलानको स्लोप बनाई त्यसमाथि झिंगटी वा टायल टाँसी पनि निर्माण गर्न सकिने र छानाको बाहिरबाट देखिने तल्लो भागलाई काठले छोपी परम्परागत स्वरूप निर्माण गर्नुपर्ने उल्लेख छ । भूकम्पपछि बनेका घर आधुनिक शैलीमा (कौसी राखेर) बनेका छन् । तर, सम्बन्धित निकाय मौन छ ।

भक्तपुर दरबार स्क्वायरस्थित घट्खा जाने बाटोमा निर्माण गरिएका घरहरूको उचाइ मन्दिरभन्दा अग्ला छन् । ख्वपं छें, भक्तपुर स्विट होम, शिव गेस्ट हाउस, क्याफे डी ट्रेडिसनल, दरबार रेस्टुरेन्टलगायत ठूला व्यवसायीले मापदण्ड मिचेर भवन निर्माण गर्नुको साथै रूफटप राखिएको छ ।

भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणका लागि जिल्लाको अन्य नगरपालिकाको दाँजोमा पर्याप्त कार्य गरिरहेको छ । तर, स्मारक क्षेत्रमा निर्माण भएका मापदण्डविपरीतका घरहरूलाई भने न कारबाही गरेको छ, न त अनुगमनकै कार्यलाई अघि बढाएको छ । पहुँचकै भरमा गन्यमान्य व्यक्तिहरूकै मिचाहा प्रवृत्ति बढेको स्थानीयको गुनासो छ ।

यस्तो प्रवृत्ति बढ्दै गए युनेस्कोले नेपालका सम्पदालाई विश्व सम्पदा सूचीबाट हटाउने सम्पदा संरक्षणकर्मीहरू बताउँछन् । ‘बुद्धिजीवी र पहुँचवाला व्यक्तिहरूकै मिचाहा प्रवृत्ति बढेको छ,’ सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीले भने, ‘नेपालका जति पनि सम्पदा युनेस्कोबाट मान्यता प्राप्त छ, त्यसको संरक्षण गर्न सकेका छैनौं ।’

पुरातत्त्व र नगरपालिकाको बेवास्ताकै कारण सम्पदाको अवस्था धरासायी बन्दै गएको उनले बताए । यता स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुरले भने घरको नक्सापास अनुगमन गर्ने, मापदण्डविपरीतको घर भत्काउने अधिकार नगरपालिकाको भएको जनाएको छ । ‘विश्व सम्पदा सूचीमा परेको नै हाम्रो परम्परागत मौलिक पहिचानको कारणले हो,’ पुरातत्त्व विभाग भक्तपुर प्रमुख मोहनसिं लामाले भने, ‘पहिचान जोगाउने जिम्मा पुरातत्त्व विभागको मात्र होइन ।’

स्थानीय बासिन्दा, नगरपालिका र पुरातत्त्व सँगसँगै मिलेर काम गर्न सके सम्पदाको पहिचान बच्ने उनले बताए । स्मारक क्षेत्रभित्र बनेका निजी संरचनाकै कारण युनेस्कोले उपत्यकाका सम्पदालाई विश्वसम्पदा सूचीबाट हटाउने जोखिम बढेको लामा बताउँछन् । ‘स्मारकलाई ढाकिने गरी संरचना निर्माण गर्नु, सम्पदामाथिको अतिक्रमण हो,’ उनले भने, ‘मापदण्ड विपरीतका संरचना भत्काउने हैसियत विभागसँग छैन, नगरपालिकासँग छ ।’

भक्तपुर नगरपालिकाले भने स्थानीय तह लागू हुनुअघि स्मारक क्षेत्रभित्र बन्ने संरचनाको नक्सापासमा कडाइ नगरे पनि अब सुधार गर्ने जनाएको छ । ‘जनप्रतिनिधि आउनुअघिको संरचना कस्तो थियो, हामीलाई थाहा भएन,’ नगरप्रमुख सुनील प्रजापतिले भने, ‘अब बन्ने संरचनामा कडाइ गरेका छौं, मापदण्ड विपरीत बनेका भवन भत्काएका छौं ।’

मापदण्डको पूर्ण पालना गरी निर्माण भएका घरहरूलाई ३५ प्रतिशत छुटको व्यवस्था गरेको नगरप्रमुख प्रजापतीले बताए । नगरपालिकाले मापदण्ड बमोजिम भवन निर्माण गर्न डकर्मीहरूलाई तालिम दिइँदै आएको उनले बताए । चाँगुनारायण नगरपालिका ४ का वडाध्यक्ष बुद्धिलाल मर्हजनले स्थानीय तहले अनुगमन गर्न नसक्दा मिचाहा प्रवृत्ति बढेको बताए ।

प्रकाशित : चैत्र ९, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?