कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गजुर विवाद 

ललितपुर — बुङमतीको कार्यविनायक मन्दिरमा एक महिनाअघिसम्म गजुर थियो । अहिले देखिँदैन । मन्दिरका पुजारीले दाताबाट सहयोग प्राप्त भएको भन्दै छाना फेरे । गजुर राख्ने क्रममा विवाद भयो । स्थानीयका अनुसार तामाको छाना र सुनको जलप लगाएको गजुर फेर्न कम्तीमा ५ देखि ८ लाख रुपैयाँ आवश्यक पर्छ ।

पुजारीले मन्दिर जीर्णोद्धारका लागि सहयोग गर्ने दाताको नाम गुपचुप राखेर आर्थिक चलखेल गर्न खोजेको भन्दै स्थानीय केही आपत्ति जनाएका छन् । उनीहरूले पुजारीविरुद्ध पुरातत्त्व विभागमा उजुरीसमेत दिएका छन् । ‘पुजारीबाट गलत नियतले कसैलाई जानकारी नदिई छाना फेरिएको छ,’ रामायण भजन परिवार बुङमतीका अध्यक्ष धीर्जरत्न तुलाधर भन्छन्, ‘मन्दिरमा मनोमानी ढंगबाट काम भयो । यसको पछाडि ठूलै आर्थिक चलखेल हुन लागेको देखिन्छ ।’ उनले पुजारीले यसको मूल्य चुकाउनुपर्ने बताए । ‘रहस्य लुकेको ठाउँमा जथाभावी गर्न मिल्दैन,’ उनले भने ।


मन्दिरको रेखदेख गर्न तीन वटा छुट्टाछुट्टै संस्था दर्ता छन् । कार्यविनायक सेवा समिति, नौ पुजारी संघ र रामायण भजन परिवार । पुजारी संघले जीर्णोद्धार गर्नेबारे सेवा समिति र भजन परिवारलाई कुनै लिखित जानकारी गराइएको छैन । कतिपय समितिका पदाधिकारीलाई मौखिक जानकारीसमेत छैन । मन्दिरबाट गजुर र छाना निकाल्नुअघि गर्नुपर्ने क्षमापूजा पनि गरिएको छैन ।


मन्दिर परिसरको मूल ढोका बन्द गरी गुपचुपमा एकै दिनमा गजुर र छाना निकालेर त्यसको भोलिपल्ट नै नयाँ राखेको आरोप छ । अध्यक्ष तुलाधर भन्छन्, ‘विभागले छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन भूमिका खेल्नुपर्छ ।’ उनले मन्दिरमा मनोमानी भएको यो पहिलो पटक नभएको बताए । ‘यसअघि पनि पटकपटक यस्तो घटना घटिसकेको छ,’ उनले भने ।


कार्यविनायक सेवा समितिका अध्यक्ष अनुमान श्रेष्ठले पनि यसबारेमा आफूलाई जानकारी नभएको बताए । ‘पुजारीहरू मिलेर गरेका हुन्,’ उनले भने, ‘मन्दिरको पूजापाठ रेखदेख पुजारीले गर्छन् । हामीले मन्दिरबाहिर मात्र सरोकार राख्ने गरेका छौं ।’


सेवा समितिको विधानअनुसार मन्दिर, पाटीपौवा र बाटोको मर्मत तथा जीर्णोद्धार गर्ने जिम्मेवारी समितिअन्तर्गत पर्दछ । भक्तजन व्यवस्थापन, कार्यविनायकको जंगल संरक्षण पनि समितिअन्तर्गत पर्दछ । तर, पुजारीले काम गर्ने वातावरण उपलब्ध नगराएको समितिको भनाइ छ । सेवा समितिका उपाध्यक्ष जुनोज मालीले मन्दिर जीर्णोद्धार गरेको बारेमा बुझ्न धेरै प्रयास गरेको बताए । ‘केही जानकारी नगरापछि पोल खोल्न बाध्य भएका हौं,’ उनले भने ।


नौ पुजारी संघका अध्यक्ष अशोक तुलाधारले मन्दिर जीर्णोद्धार गर्न भूकम्पपछि मर्मत गर्न विभागबाट लिइएको स्वीकृति नै मान्य हुन्छ भनेर नलिएको दाबी गरे ।

प्रकाशित : चैत्र १०, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?