कसैले बुझाएनन् हतियार
काठमाडौँ — गृह मन्त्रालयले इजाजतपत्र नलिएका र नवीकरण नगरिएका हतियार बुझाउन निर्देशन दिएको ११ दिनसम्म उपत्यकामा कसैले हतियार बुझाएका छैनन् ।
काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसरमा एउटै हतियार दाखिला नभएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले बताए । चन्द समूहसँग द्वन्द्वकालीन हतियार रहेको र इजाजत सकिएका हतियार पनि उसले प्रयोग गरेको आशंकासहित गृह मन्त्रालयले सूचना जारी गरेको थियो ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जमा सोमबार माछापुच्छ्रे बैंकका एक कर्मचारीले आफ्नो बैंकसँग २०६३ देखि इजाजतविना १२ बोर बन्दुक रहेको बताए पनि सोमबार साँझसम्म बुझाइएको छैन । प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले ऊक्त हतियार दर्ता हुने त्रममा रहेको र त्यसबाहेक कुनै पनि हतियार नआएको बताए ।
कान्तिपुरसँग गृह प्रवक्ता रामकृष्ण सुवेदीले सूचना जारी भएपछि गैरकानुनी हतियार संकलन भइरहेको बताए । उनले कहाँ, कति हतियार संकलन भएको भने बताएनन् । उनले भने, ‘म्याद सकिन बाँकी छ, कहाँ कति हतियार संकलन भयो थाहा भइहाल्छ ।’
प्रकाशित : चैत्र १२, २०७५ ०७:३१