ढोकाको ठाउँमा झ्याल

‘प्राचीन स्मारक संरक्षण ऐनअनुसार सम्पदाको मौलिकता, स्वरूप बिगार्न पाइँदैन । यसो गरे कारबाहीको व्यवस्था छ ।’

ललितपुर — पहिला ढोका थियो । अहिले झ्याल राखिदिए । ढोकाबाट छिराउनुपर्ने सामान अब झ्यालबाट कसरी छिराउने ? ठेचोको ऐतिहासिक र पुरातात्त्विक महत्त्वको बालकुमारी मन्दिरका पुजारीलाई अचेल यही चिन्ता छ ।

ढोकाको ठाउँमा झ्याल

मन्दिरको दोस्रो तलामा निर्माणका क्रममा यसरी वास्तुकला बिगारिएको हो । दोस्रो तलामा बालकुमारी देवीको धातुको मूर्ति राखिन्छ । त्यसको दक्षिणतिरको ढोका निकालेर झ्याल राखिएको हो ।

गर्भगृहभन्दा ठीक माथि छ यो ढोका । पहिला ५ फिटको कलात्मक ढोका थियो । अहिले ३ फिटको झ्याल राखिएको छ । ‘अब मूर्ति लैजानै समस्या हुन्छ,’ बालकुमारी गुठीका नाइके वसन्तकुमार महर्जन भन्छन्, ‘हामीले यसो गर्नु हुँदैन भन्यौं, भन्दा भन्दै टेरेनन् ।’

ढोकाको ठाउँमा झ्याल राख्नु गैरकानुनी काम हो । प्राचीन स्मारक संरक्षण ऐनअनुसार सम्पदाको मौलिकता, स्वरूप बिगार्न पाइँदैन । यसो गरे कारबाहीको व्यवस्था छ । ‘सम्पदा जस्तो छ त्यस्तै, जहाँ छ त्यहीं बनाउनुपर्छ,’ सम्पदा संरक्षण अभियन्ता तथा कानुनका विद्यार्थी सञ्जय अधिकारी भन्छन्, ‘त्यसो गरिएन भने प्राचीन स्मारक संरक्षण ऐनले सजायको व्यवस्था गरेको छ ।’

यसको निर्माण पुरातत्त्व विभागले गरेको हो । निर्माणको ठेक्का धर्म एस/तुल्सी/सप्तपथ जेभीले पाएको छ । यसको निर्माण लागत २ करोड ३७ लाख रुपैयाँ छ । पुरातत्त्व विभागले भने ढोकाको ठाउँमा झ्याल राखेकोबारे अनभिज्ञता जनाएको छ । मन्दिरको साइड हेर्ने विश्व सम्पदा शाखाका पुरातत्त्व अधिकृत शुभद्रा भट्टराईले भनिन्, ‘काम इस्टिमेटअनुसारै भएको हुनुपर्ने हो । पुरातत्त्वले पहिला जस्तो थियो, त्यस्तै बनाउने गरी इस्टिमेट गर्छ ।’

नेवार समुदायको पर्व योमरी पुन्हीमा बालकुमारी देवीको खट जात्रा हुने परम्परा छ । जात्रा गर्न बालकुमारीको मूर्ति यही ढोकाबाट ल्याउने परम्परा छ । ठेचोको १२ वर्षे जात्रामा पनि नवदुर्गा गणको मुख्य देवता मु द्यः, मुकुन्डो, कलेवर पोसाक, गरगहना यही ढोकाबाट मन्दिर बाहिर ल्याइन्छ । ३ वर्षपछि आउँदैछ यो जात्रा । जात्रामा नाच पाटन दरबार क्षेत्र, सुनाकोठी, बालकुमारी मन्दिर प्रांगणस्थित डबलीमा अनिवार्य देखाउने परम्परा छ ।

मन्दिर तीनतले प्यागोडा शैलीको छ । ठेचोको बुद्धपोखरीबाट दक्षिणतिर पर्छ यो । यसलाई ठेचोको मुख्य देवस्थलमध्ये मानिन्छ । यो राजा श्रीनिवास मल्लको पालामा बनेको मानिन्छ । यहाँ मृत्यु हुने परिवारले मृतकको नाममा देवतालाई तामा वा पित्तलको भाँडाकुँडा चढाउनुपर्ने परम्परा छ ।

मन्दिरका काठका बुट्टा पनि कमसल बनाइएको गुठियार बताउँछन् । ‘पहिलाको बुट्टा र अहिलेको बुट्टा मिल्दैन,’ महर्जन भन्छन्, ‘पहिलाका निकै कलात्मक बुट्टा थिए । अहिले नक्कली जस्ता देखिन्छन् । पहिला हेर्दै आनन्द आउँथ्यो, अहिले त्यस्तो देखिंदैन ।’

बालकुमारी ठेचोको माथिल्लो लाछी टोलमा पर्छ । यसको जीर्णोद्धार गर्ने प्रक्रिया २०७२ को भूकम्पअघि नै गरिएको हो । आव ०६९/७० मा पाटन दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयले ५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । मन्दिर भनेको ठड्याइएको संरचना मात्रै होइन । यहाँ थुप्रै परम्परा जोडिएका छन् ।

जात्रा पर्व जोडिएका छन् । त्यसलाई वास्तै नगरी निर्माण गरिएको छ । ‘हामीले कसरी लैजानु झ्यालबाट खट,’ महर्जनले भने, ‘हाम्रो यस्तो महत्त्वपूर्ण मन्दिरमा खेलाँची गर्ने ?’ झ्याल झिकेर ढोका नराखे भत्काइदिने महर्जनले चेतावनी दिए ।

मन्दिर बनाउँदा सल्लाह नगरेको गुठियारको गुनासो छ । इँटा खरिद गर्दा पनि अनियमितता भएको उनीहरूको गुनासो छ । दरबार हेरचाह कार्यालयले दाची अप्पा र माँ अपा (परम्परागत इँटा) खरिद गरेको छ । यसको निर्माण रेखदेख गर्न मन्दिर संरक्षण समिति बनाइएको थियो । इँटा दिंदा हजारवटा कम दिएको समितिले जनाएको छ ।

समितिका तत्कालीन अध्यक्ष ज्ञानबहादुर महर्जनले भने, ‘पुरातत्त्वका इन्जिनियरले परेको ५ लाख रुपैयाँबाट इँटा खरिद गरेको भनी मौखिक जानकारी गराए । पहिला हामीले पत्यायौं । तर १ हजार कम ल्याएछन् ।’ इँटा कम मात्रै नभई कति मूल्यमा किनिएको भनेरसमेत समितिलाई जानकारी नदिएको उनले बताए ।

ठेकेदारले मन्दिर निर्माण पूरा गर्न ढिलाइ गरेका छन् । २०७४ मै निर्माण सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा पाएको थियो । तर निर्माण सम्पन्न गर्ने अवधि १ वर्ष नाघ्दा आधा काम पनि भएको छैन । ३ तलामध्ये पहिलो तलाको काम भएको छैन । काठ पनि कम गुणस्तरको ल्याइएको गुठियारको गुनासो छ ।

यहाँ किनिएका १२ थाममध्ये ७ वटामा प्वालैप्वाल छन् । स्थानीय सिकर्मी सत्यनारायण महर्जर्नका अनुसार गाभा (बीच भागमा प्वाल नभएको) र सेन्टर भएको काठ (बीचमा प्वाल भएको) गरी दुई किसिमका थाम हुन्छन् । ‘गाभा महँगो पर्ने भएकाले अधिकांश सस्तो सेन्टर भएको काठ प्रयोग गरिएको छ । हामी यस्तो काठ प्रयोग नगर्न अनुरोध गर्छौं,’ उनले भने, ‘अटेर गरे कडा रूपमा प्रस्तुत हुन्छौं ।’

उनका अनुसार थाममा सबैभन्दा बलियो चुकुलको भाग हुनुपर्छ । तर, यहाँ ल्याइएका प्रायः थामका चुकुल बिग्रेकाले मोबिकलले टाँसेर राखिएको छ । त्यसमाथि सबै नयाँ काठ छन् । पानीले छोए चाँडै बिग्रिने मात्र नभई फुस्कने समस्या पनि हुने बताए ।

प्रकाशित : चैत्र १६, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?