१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

ब्रुमर पुग्नै ढिलो

विद्या राई

काठमाडौँ — महानगरले इटालीबाट हालै ल्याएको पाँचवटा ब्रुमर (यान्त्रिक कुचो) चलाउन थालेको साता भयो । तर चाबहिल रुटमा भने ब्रुमर नपुगेको महानगरबासीले गुनासो गरेका छन् । 

ब्रुमर पुग्नै ढिलो

चक्रपथभित्र पर्ने चाबहिल मेडिकेयर, ओम, हेल्पिङहेन्डस र दीर्घायु गुरुजस्ता नाम चलेका अस्पताल भएको क्षेत्र हो । स्वास्थ्य तथा वातावरणका हिसाबले संवेदनशील क्षेत्र मानिने अस्पताल क्षेत्रका राजमार्गमा समेत धूलो बढार्नका लागि महानगरले तदारुकता देखाएको छैन ।


महानगरले ब्रुमर भित्र्याएको थाहा पाएपछि रातारात सडक सफाचट हुने कपनकी ७० वर्षीया चन्द्रमाया तामाङको अपेक्षा थियो । राष्ट्रिय सभागृहमा गत चैत १२ मा तामझामका साथ शुभारम्भ गरेको भएर पनि यो खबर उनीसम्म पुगेको थियो ।


चाबहिलस्थित ओम हस्पिटलमा स्वास्थ्योपचारका लागि पालो कुर्दै भेटिएकी उनले भनिन्, ‘यता नि धूलो बढार्ने मेसिन बाटो बढार्न आउँछ भनेका थिए, धूलो उस्ताको उस्तै छ, नाक, मुख नछोपी हिँडिसक्नु छैन,’ थपिन्, ‘पानी पर्दा झ्याप्पै हिलो, घाम लाग्दा कुहिरीमण्डल ।’


उनलाई चिनी रोग लागेको १० वर्ष भयो । ओम हस्पिटलमा निरन्तर चेकजाँच र उपचार गराउँदै आएकी छन् । उनलाई स्वास्थ्योपचार र घरायसी कामले बाहिर निस्किरहनुपर्छ । धूलोधूवाँले गर्दा बुढ्यौली उमेरकी उनलाई खुब समस्या हुन्छ ।


चाबहिल मित्रपार्कमा आरके स्टोरका रामकृष्ण श्रेष्ठले पसलका सामान टक्टकाउँदै भने, ‘यी सामानका धूलो एकछिन टक्टकायो, एकैछिनमा उस्तै हुन्छ ।’ महानगरले ब्रुमर चलाउने रुट यता पनि पारेकाले धूलोको हैरानी कम हुने आशा नराखेका भने होइनन् । एक सातासम्म पनि सडकमा ब्रुमर नचलेपछि आशा मारिसके । ‘सबैभन्दा धूलोधूवाँ यतै हुन्छ, यतैचाहिँ प्राथमिकतामा परेन,’ उनले दुःखेसो पोखे । उनको पसल अगाडि सेकेन्ड–सेकेन्डमा सवारीसाधनका ताँती गुड्छन् । सडकका धूलोजति सबै उनकै पसलमा पुग्छ ।


तामाङ र श्रेष्ठ पात्र प्रतिनिधि माक्रै हुन् । धूलोधूवाँले आत्रान्त हुने मुख्य ठाउँ चाबहिल चोक र आसपासका स्थानीयको सामूहिक असन्तुष्टि हो यो । ब्रुमर चलाउनका लागि महानगरको प्राथमिकतामा नपरेपछि सर्वसाधारण धूलोधूवासँगै गुज्रन बाध्य छन् ।


ब्रुमर शुभारम्भकै बेला टेकुबाट सुरु भएर चक्रपथभित्र पाँचवटा रुटमा सञ्चालन हुने भनिएको थियो । टेकुबाट सुरु भएर कलंकी, बल्खु, कालिमाटी, टेकु, सुन्धारा, टुँडिखेल आसपास, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तीनकुने, एयरपोर्ट, गौशाला, चाबहिल, पुतलीसडक, सिंहदरबार, हात्तीसार, दरबारमार्ग, ज्ञानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, सिनामंगल, वसन्तपुर, मध्यबानेश्वर, भद्रकालीलगायत क्षेत्रका सडकमा प्रयोग गरिने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताएका थिए ।


बेलुकी आठदेखि बिहान चार बजेसम्म प्रतिदिन ८ घण्टाका दरले ब्रुमर सञ्चालनमा छन् । पाँचवटा ब्रुमरले प्रतिदिन ४० घण्टा सफाइ गर्छन् ।


चाबहिललाई प्राथमिकतामा नपारेको जिज्ञासामा प्रवक्ता डंगोलले भने, ‘टेकुबाट सुरु भएर तोकिएको सबै रुटमा ब्रुमर चलिरहेको छ, नपुगेको ठाउँमा केही दिनमै पुग्छ ।’ यसअघि सञ्चालन भएका ठाउँबाट ५६ टन धूलो उठाइसकेको पनि उनले बताए ।


प्रकाशित : चैत्र २०, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?