१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

झारा टार्ने गोष्ठी

प्रशान्त माली

ललितपुर — ललितपुर महानगरपालिकासँग प्रत्यक्ष सम्बन्ध राख्ने सरोकारवाला निकायलाई सूचना नदिई सुटुक्क पूर्वयोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ  । बुधबार फुल्चोकस्थित एक होटलमा आयोजना गरिएको वार्षिक विकास कार्यक्रममा सीमित व्यत्ति मात्र उपस्थित थिए  ।

कार्यक्रममा वडा, सर्वदलीय प्रतिनिधि, सक्रिया महिला, स्थानीय क्लब, टोल सुधार समिति, संघसंस्था, आदिवासी जनजाति, सम्पदाप्रेमीलगायत महानगरसँग प्रत्यक्ष सरोकार राख्ने सर्वसाधारण नागरिकभन्दा सरकारी कर्मचारीको उपस्थित बाक्लो थियो ।


स्थानीय तह र नागरिक बीचमा दोहोरो संवाद स्थापित गर्न र त्यस्तो संवादबाट जनतालाई विकास निर्माणको प्रक्रियामा रचनात्मक प्रतिनिधित्व गराउनुपर्नेमा झारा टार्न खोजिएको उपस्थित व्यक्तिहरूको गुनासो छ । सांसद माधव पौडेलले महानगरका महत्त्वाकांक्षी योजनामा छलफल गर्न सर्वपक्षीय तयारीका साथ आउने वातावरण बनाउनुपर्नेमा ढिला खबर गरेको भनी गुनासो गरे ।

‘मैले पनि हिजो मात्र जानकारी पाएँ,’ उनले प्रश्न गरे, ‘अब प्रदेश सरकारले पञ्चवर्षीय योजना अगाडि बढाइरहेको सन्दर्भमा महानगरको कुन योजना समावेश गर्ने ?’ उनले बजेटसहित छलफल गर्न पाएको भए अझ राम्रो हुने बताए । ‘अहिले महानगरको अनुमानित बजेट कति बजेट छ भन्ने नै जानकारी भएन,’ उनले भने, ‘यो त प्रक्रिया पुर्‍याउने मात्र काम भयो ।’

पारदर्शिताको माध्यमद्वारा सेवा प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाउन स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा पूर्वयोजना तर्जुमा गोष्ठी गर्नै पर्ने व्यवस्था गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, ०७४ मा महानगरले असार १० भित्र बजेट पारित गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

चैत १५ भित्र महानगरका प्रमुख प्रशासकीय अधिकृतले वडा समिति, विषयगत शाखा तथा महाशाखामा पेस गर्नुपर्छ । तर, महानगरले सेवाग्राहीको हितका लागि भन्दा पनि मन्त्रालयको न्यूनतम कार्य सम्पदान मापदण्ड (एमसीपीएम) मा अंक प्राप्त गर्न माक्र गोष्ठी गरिएको देखियो ।


कार्यत्रममा महानगरले आर्थिक वर्ष २०७६/७७ का लागि अनुमानित बजेट सिलिङ समयै वडामा पठाउन सकेन । यसले जनताको घरदैलोमा पुगेर प्रभावकारी ढंगबाट योजना संकलन गर्न नसकिने गुनासो छ । सांसद पम्फा भुसालले कार्यक्रममा चालू आर्थिक वर्षको कार्य प्रगतिबारेमा जानकारी नगराएको बताइन् ।

‘४ अर्ब बजेट पारित गरेको कामको प्रगति हेर्न चाहन्छौं,’ उनले भनिन्, ‘यो कठिनाइ पत्ता लगाई समाधानका उपाय अपनाएर अगाडि बढ्नुपर्ने बेला हो ।’ गत वर्ष बजेट बनाउन ढिला भएको भन्दै उनले यस वर्ष यस्तो नहुनेमा विश्वास व्यक्त गरिन् ।

‘महानगरमा गाभिएका हरिसिद्धि, सुनाकोठी, बुङमती र खोकनाको पनि अरू वडामा जस्तै ढल, सडक, खानेपानी समस्या समाधान गर्न बजेटको व्यवस्था गर्न जरुरी छ,’ उनले भनिन्, ‘विद्यालयमा पर्याप्त शिक्षक छैनन् । यससम्बन्धी पनि महानगरले ध्यान दिनु जरुरी छ ।’ गत वर्ष महानगरका जनप्रतिनिधि र कर्मचारी बजेट बनाउन छोडेर विदेश भ्रमणमा निस्केका थिए ।

प्रकाशित : चैत्र २१, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?