१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शल्यक्रियाका बिरामी अलपत्र

फातिमा बानु

काठमाडौँ — सरकारी चिकित्सकले सातादेखि गर्दै आएको आन्दोलनका कारण गम्भीर बिरामीका शल्यक्रियासमेत रोकिएको छ । चिकित्सकले आकस्मिकबाहेक सबै सेवा बहिस्कार गरेपछि दुर्गमबाट आएका बिरामी अस्पतालमै अलपत्र छन् ।

शल्यक्रियाका बिरामी अलपत्र

आकस्मिक शल्यत्रियामा कुनै रोकावट नआए पनि लामो समयदेखि पालो कुरेका सेवाबाट वञ्चित बनेको पीडितले बताए ।


सर्वसाधारणको बढी चाप हुने वीर अस्पताल र ट्रमा सेन्टरजस्ता ठूला अस्पतालका बिरामी मारमा परिरहेका छन् । दैनिक ३० देखि ३५ को शल्यक्रिया हुने वीर अस्पतालमा आन्दोलनको आठौं दिनसम्म पालो कुर्नेहरू कुरेको कुर्‍यै भए । चिकित्सक कुरिरहेका बिरामीपक्ष पटकपटक अस्पताल प्रशासन पुग्छन्, आक्रोसित हुन्छन् । ‘हामीलाई थाहा छैन डाक्टर कहिले आउँछन्’ प्रशासनको जवाफले बिरामी चिन्तित छन् । शल्यक्रियाबारे अन्यौल भएपछि केही बिरामी निजीमा महँगो शुल्क तिरेर उपचार गर्न बाध्य छन् ।


ट्रमा सेन्टरमा कार्यरत करिब ५० चिकित्सक सरकारी सेवाकै छन् । उनीहरू सबै आन्दोलनमा हिँडेपछि सेवा दिन प्रतिदिन प्रभावित भइरहेको अस्पतालका निर्देशक डा. प्रमोद यादवले बताए । उनले भने, ‘शल्यक्रिया आकस्मिक नभए पनि धेरै दिन कुर्न मिल्दैन, जति ढिला भयो उति बिरामीको स्वास्थ्यमा जटिलता आउँछ ।’ अस्पतालमा दैनिक २५ का दरले शल्यक्रिया रोकिँदा कामको चाप थामिनक्नु हुने उनले बताए । हिप रिप्लेस्मेन्ट, जोर्नी रिप्लेस्मेन्ट र मेरुदण्डसम्बन्धी ठूला शल्यक्रिया हुन नसक्दा टाढाका बिरामी बढी प्रभावित छन् । अस्पताल बसाई लम्बिएको र खर्च बढेकामा उनीहरू झनै चिन्तित छन् ।


टेन्ट टाँगेर ओपीडी

आदोलनरत चिकित्सकले वीर अस्पतालबाहिर खुला ठाउँमा बिहीबार र शुक्रबार टेन्ट टाँगेर ओपीडी सेवा चलाए । चिकित्सककै दबाबमा ओपीडीको टिकट भने काटिएन । उनीहरूले टिकटबिनै जाँचेर बिरामीलाई सादा पानामा औषधि लेखेर पठाए । टेन्टभित्र चलिरहेको सेवाबारे नबुझदा बिरामी टिकट खुल्ने आशामा दिनैभर काउन्टर वरिपरि घुमिरहेका थिए ।


उनीहरूलाई सघाउने कोही थिएन । वीरमा आदोलनरत चिकित्सकले सेवा बहिष्कार गरे पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत चिकित्सक काम गर्न तयार थिए । न्याम्सका एक चिकित्सकले भने, ‘टिकटमात्रै काट्न दिएको भए हामी बिरामी जाँच्थ्यौं, आन्दोलित डाक्टरले दिएनन् ।’ बिरामी अलपत्र पर्न थालेपछि कर्मचारीले अस्पताल छापबिनैको टिकट बाँडेर न्याम्सका चिकित्सकलाई बिरामी हेर्न आग्रह गरेका थिए ।


अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले भने, ‘टिकट काउन्टर खुल्न नपाउँदा बिरामीले दुःख त पाए, अस्पताललाई पनि दैनिक १० लाख घाटा लागेको छ ।’ सरकारले चिकित्सकलाई मर्का नपर्ने गरि कर्मचारी ऐन संशोधन गर्नुपर्ने उनले बताए । ट्रमा सेन्टरमा पनि चिकित्सकले सादा पानामा औषधि लेखेर बिरामी हेरे । आाएजतिले प्राथमिक तहको उपचार पाए । केही बिरामीलाई इमर्जेन्सी कक्षबाट उपचार गराइयो । ३५ बेडको इमर्जेन्सीमा १ सय ५० बिरामी छन् । बेड पुग्नेलाई बेडमा र नपुग्नेलाई कुर्सीमा राखेर उपचार गरेको चिकित्सकले बताए ।


कर्मचारी ऐन विभेदकारी भएको भन्दै सरकारी चिकित्सकले एक सातादेखि आन्दोलन गरिरहेका कारण शुक्रबार पनि राजधानीका वीर, ट्रमा, कान्ती बाल रअस्पताल र प्रसूति गृहको सेवा प्रभावित बनेको छ । माग पूरा नभएसम्म आन्दोलन नछाड्ने चिकित्सकको अडान छ । सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने, ‘माग पूरा नभए हामी सामूहिक राजिनामा दिन्छौं, संघ नराखे हाम्रो अध्ययनलगायत वृत्ति विकास रोकिन्छ र यसरी हामी डाक्टरभन्दा बढी बधुवा हुन्छौं ।’

प्रकाशित : चैत्र ३०, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?